नेपालगन्जमा बैंक नखोल्दा पश्चिमकै भुक्तानी प्रणाली प्रभावित, खोल्दा भिडभाड बढ्यो


नेपालगन्ज २९ साउन :  दश दिन भन्दा धेरै समय पछि बाँकेमा बिहिवार बैंक तथा वित्तीय संस्था सन्चालनमा आए । तर बिडम्बना कोरोना कहर बल्झिएका बेला बैंकभित्र र बाहिरको भिडभाडले सबैलाई तर्सायो । सेवा अस्तव्यस्त देखियो ।

जिल्लाभर दैनिक जसो कोरोना संक्रमितको संख्या बढिरहे पनि सेवा दिने बैंक र सेवा लिने सेवाग्राहीले त्यसको कुनै प्रवाह गरेनन् । हरेक बैंकका अगाडी चुनावको झझल्को दिने गरी सर्वसाधारणको लामो लाइन देखिन्थ्यो । जसमा नत कुनै सामाजिक दुरी कायम गरिएको थियो भने नत कुनै सावधानी नै अपनाइएको थियो ।

बैंक खुल्ला भिडभाड तर नखोल्दा पनि उस्तै समस्या छ । नेपालगन्ज पश्चिमको आर्थिक केन्द्र हो । औषध उपचारदेखि हरेक सामाग्रीको खरिद विक्रीका लागि यहाँ आउने गरिन्छ ।

सरकारले समेत नेपालगन्ज भन्सार, खाद्य संस्थान, इन्धन ढुवानी जस्ता सामाग्रीको ढुवानी नेपालगन्जलाई नै केन्द्र बनाएर गर्छ । बैंक नखुल्दा यसको दैनिक भुक्तानी चुनौतीपूर्ण बनेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले खुलाए ।


उनले बिहिवार एउटा कार्यक्रममा यसै विषयमा भने,–‘बाँकेमा धेरै समय बैंक बन्दा गर्दा पश्चिम क्षेत्र नै प्रभावित हुने रहेछ । उपचारका लागि आएकादेखि इन्धन, खाद्यन जस्ता अत्यावश्यक बस्तुको भुक्तानी मै समस्या हुने भएपछि बैंक नखोली नहुने भयो । तर भिडभाडको समस्या यस्तो देखियो ।’

सेवाग्राहीको अत्याधिक भिड थेग्न बैंकका कर्मचारीलाई हम्मेहम्मे परेको सहजै अनुमान गरिन्थ्यो । अधिकांस सेवाग्राही घण्टौ लाइन लाग्नुपर्यो । बैंकप्रति उनीहरुको गुनासो थियो,–‘अन्य बेला भन्दा बिषम परिस्थिती हो भन्ने जान्दाजान्दै सामान्य अवस्थामा जस्तै अझ कम काउन्टर राखेर सेवा दिइएको छ । कति बैंकको त एउटा मात्र काउन्टरबाट काम चलाएका छन् ।’

कतिपय बैंकको भित्र एउटा मात्र क्यास काउन्टर तर बाहिर धामिनसक्नु भिड प्रष्टै देखिथ्यो ।

प्रकाशित मितिः     7:10:50 PM  |