नेपालगन्ज १ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रवेश गर्नका लागि पिसिआर रिर्पोट अनिवार्य हुनुपर्ने नियम सबैलाई लागू हुने बताएका छन् ।
कोरोना जनस्तरमा फैलने संकेत देखा पर्न थालेपछि कणाली प्रदेश सरकारले आज भदौ १ गतेदेखि पिसीआर टेस्ट (कोरोना नेगेटिभ)बिना कर्णाली प्रदेशमा प्रवेश गर्न नपाइने नियम लागू गरेको छ ।
साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र ( पिसिएमसी)ले भदौ १ गते आज देखि लागु हुनेगरी कर्णाली प्रवेश गर्न (कोरोना नेगेटिभ) पिसिआर रिपोर्ट अनिवार्य चाहिने निर्णय गरेको थियो ।
कर्णालीका सुर्खेत र दैलेखमा कोरोना संक्रमण जनस्तरमा फैलिन थालेपछि कर्णालीका सबै नाकाहरुमा कडाइ गर्नु परेको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताए ।
कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै कर्णाली प्रदेशमा कोरोना फैलन नदिन भिआइपी, ठूला बडा, सन्चारकर्मी, ढुवानी गाडीका चालक-सहचालक, एम्बुलेन्स देखि सर्वसाधारण जोसुकैलाई पनि पिसिआर (कोरोना नेगेटिभ) रिपोर्ट बिना प्रदेश प्रवेश गर्न दिइने छैन भन्दै मुख्यमन्त्री शाहीले अनुहार हेरेर एकजनालाई पनि प्रवेश गर्न नदिने बताए ।
नेपालगन्जका संचारकर्मीसंग टेलिफोनमा कुराकानी गर्दै मुख्यमन्त्री शाहीले भने,” कोरोनाको बिषयलाइ लिएर राजनीति गर्नु हुँदैन । यो विशुद्ध प्राविधिक र टेक्निकल कुरा हो । यसमा सम्झौता गरिनु हुदैन । त्यसैले म भन्छु कसैलाई पनि पिसिआर रिपोर्ट बिना प्रवेश गर्न दिइनु हुदैन र नदिन सुरक्षाकर्मीहरुलाइ निर्देश दिइएको छ ।”
खाद्यान्न बोकेका मालबाहक गाडीका चालक- सह चालक र एम्बुलेन्सका चालक लगाएत सबैलाई पिसिआर रिपोर्ट हेरे पछि प्रवेश गर्न दिने भने संगै मुख्यमन्त्री शाहीले भने,” मालबाहक गाडीका मालिकहरुले पहिला आफ्ना कर्मचारीहरुको स्वाव परिक्षण गराउने त्यसपछि मात्र गाडी ढुवानी गर्न लगाउनु पर्छ । अन्यथा घरमै बस्ने । पिसीआर नल्याएर कर्णाली प्रवेश गर्न चाहानेहरुलार्इ फर्काइ दिन्छौ ।”
भदौ १ गते आज देखि रातिको समया पनि कर्णाली प्रवेशमा पुर्णतः रोक लागाइने छ । कर्णाली प्रदेश भित्रिने मुख्य नाकाहरु सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे, कपुरकोट रहेका छन् । यी नाकाहरुमा पिसीआर हेरेर मात्र आउन दिने व्यवस्था गरिएको छ । भने भारत बाट प्रवेश गर्नेहरूलाई अनिवार्य रुपमा ७ दिन सम्म क्वारेन्टाइन राखेर पिसिआर प्रविधि बाट स्वाव परिक्षण गरिसकेपछि मात्र घर जान दिने व्यवस्था गरिएको छ ।