नेपालगन्ज ५ भदौ : स्वास्थ्य मन्त्रालयल भेरी अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरेसंगै त्यसको व्यवस्थापन तिव्ररुपमा भइरहेको छ ।
आउने बजेटको मुख नताकी स्थानीयस्तरबाटै सामान र पैसाको जोहो गरी कोभिड बिशेष अस्पताल बनाउने क्रममा नेपालगन्जका चारवटा स्वास्थ्य प्राविधिक कलेजहरुले रु २५ लाख मूल्य बराबरको २० वटा एसी जडान गर्दै छन् ।
सामाजिक उत्तरदायित्व महसुस गर्दै कैलपाल हस्पिटल एण्ड कलेज, मध्यपश्चिम प्राविधिक शिक्षालय, नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज हेल्थ कलेजले संयुक्तरुपमा मिलेर एसी खरिदको प्रक्रिया शुरु गरेका हुन ।
कैलपाल हस्टिल एण्ड कलेजकी निर्देशक रेवती सिंहका अनुसार, खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रक्रिया सकिनासाथ केहीदिनमै भेरी अस्पताललाई एसी हस्तान्तरण गरिने छ । ‘कोभिडको महामारीका बेला सरकारलाई आवश्यकता महसुस भएपछि हामीले सामाजिक उत्तरदायित्व बहन गरेका हौं ।’– सिंहले भनिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार सुशील कोईराला प्रखर क्यान्सर अस्पताल लाई कोभिड-१९ लेबल २ खारेज गरि भेरी अस्पताललाई लेबल २ अस्पताल घोषणा गरेको थियो ।
भेरीमा सूविधा सम्पन्न कोभिड अस्पताल बनाउनकै लागि स्थानीय तहले रु १० लाख उपलब्ध गराएका छन् भने जिल्लास्थित सरकारी कर्मचारीले एकदिनको तलव दिने घोषणा गरेका छन् ।
‘सरकारबाट प्राप्त हुने सहयोगसंगै स्थानीयस्तरमा के कसरी छिटो काम गर्न सकिन्छ भन्नेमै यतिबेला हामी लागिपरेका छौं ।’ भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल भन्छन–‘बजेट आउँदा र प्रकृयामा जानेबेलासम्म ढिला हुन्छ की भनेर सरोकारवाला निकायसंग सहयोगको अपील गरेका छौं ।’
भेन्टिलेटर लगायतको सूविधाका लागि फास्टट्रयाकमा काम गर्ने आफुहरुको योजना रहेको धितालले बताए ।
उनले भने,–‘ यो अस्पताललाई अत्याधुनिक कोभिड अस्पताल बनाउनका लागि बाँके बर्दियाका मनकारी संस्थाहरूलाई हार्दिक अनुरोध गर्दछु । हाल सम्म ५० लाखको सहयोगको पुर्ण बचनबद्दता आएको जानकारी गराउदँछु । नगद हैन सामान सहयोगको अपेक्षा राखेका छौं ।’