कोभिड विशेष अस्पताल निर्माणका लागि संघद्धारा रु ५ लाख ५१ हजार सहयोग


बाँके ९ भदौ :  नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पतालमा कोभिड बिशेष अस्पताल निर्माणका लागि रु ५ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ ।

मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आर्थिक सहयोग गरेको अध्यक्ष मन्सुरीले बताए ।

कोभिड संकट समाधानका लागि बाँकेका निजीक्षेत्र सक्रियतापूर्वक लागेको स्मरण गर्दै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि अभियान जारी रहने जानकारी दिएका छन् ।

अध्यक्ष मन्सुरीले आर्थिक सहयोगका लागि अगाडी सरेका उद्योगी, व्यवसायीलाई संघका तर्फबाट बिशेष धन्यवाद प्रकट गरेका छन् ।

अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा कोभिड बिशेष अस्पतालका प्रमुख डा. श्यामसुन्दर यावदले धन्यवाद दिएका छन् । उनले प्राप्त आर्थिक सहयोगको सही सदुपयोग हुनेमा ढुक्क रहन आग्रह गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा गरे । उनले स्वास्थ्य मापदण्ड पालना सन्तोषजनक भएको तर त्यसैमा हौसिने अवस्था नरहेकोले सचेत रहन आग्रह गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार कोभिड बिशेष अस्पताल सहित यसअघि पनि संघले बिभिन्न क्षेत्रमा आर्थिक एवं स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा बाँकेमा प्रहरी प्रमुख ओम राना, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, बरिष्ठ सदस्य बसन्त लामिछाने  एशोसिएसट सदस्य एवं कार्यसमिति सदस्यको सहभागिता रहेको थियो ।

 

प्रकाशित मितिः     ९ भाद्र २०७७, मंगलवार १६:५५  |