भेरीमा प्रस्तावित कोभिड विशेष अस्पतालको ‘कमाण्ड’ श्यामसुन्दर यादवलाई


बाँके ९ भदौ :  भेरी अस्पतालका पूर्व मेसु एवं बरिष्ठ चिकित्सक श्यामसुन्दर यादवलाई भेरी अस्पतालमा प्रस्ताव गरिएको कोभिड बिशेष अस्पताल प्रमुखको जिम्मेवारी तोकिएको छ । उक्त जिम्मेवारी प्राप्त भएपछि डा. यादव यतिबेला अस्पताललाई पूर्वाधार सम्पन्न बनाउन लागिपरेका छन् ।

सरकारी बजेट प्रक्रियागतरुपमा ढिलो आउने भएकाले स्थानीयस्तरबाटै सहयोग जुटाएर अस्पताल निर्माण हुँदै छ । यसका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग सक्रिय छन् भने डा. यादव नेतृत्वमा स्वास्थ्यकर्मी लागिपरेका छन् । सबैको सक्रियतामा सहयोग समेत आइरहेको डा यादवले बताए । उनले भने–‘कोभिड अस्पताल निर्माणका लागि प्राप्त सहयोग देखेर खुसी लागेको छ । यसले विषम परिस्थितीमा बाँके एकजुट हुन्छ भन्ने सन्देश प्रवाह भएको छ।’

डा. यादवले आफुलाई प्रमुखको जिम्मेवारी दिए पनि सबैको उत्तिकै सक्रियतापूर्वक लागेको बताउँछन् । कोरोना संक्रमित भएका डा. सांकेत रिसाल र डा. राजन पाण्डेलाई उनले बिशेष सम्झिए । उनले भने,–‘डा. रिसाल र डा. पाण्डे निकै सक्रिय हुनुहुन्थ्यो तर संक्रमित हनुभयो पछि निकै दुःख लागेको छ ।’ प्राप्त सहयोग पूर्णरुपमा सदुपयोग हुने यादव बताउँछन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पतालमा कोभिड बिशेष अस्पताल निर्माणका लागि रु ५ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

भेरी अस्पताल नेपालगन्जमा कोभिड बिशेष अस्पताल निर्माणका लागि सहयोग जुटाउन शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले खजुरास्थित क्यान्सर अस्पताललाई बनाएको कोरोना बिशेष अस्पताल बन्द गरी भेरीलाई बनाउने निर्णय गरेसंगै त्यसको व्यवस्थापन भइरहेको हो ।
संघीय सरकारबाट आउने बजेटमा ढिलाई हुनेभएपछि स्थानीयस्तरबाटै सामान र पैसाको जोहो गरी कोभिड बिशेष अस्पताल बनाउने क्रममा नेपालगन्जका चारवटा स्वास्थ्य प्राविधिक कलेजहरुले रु २५ लाख मूल्य बराबरको २० वटा एसी जडान गर्दै छन् । जिल्लामा कार्यरत सरकारी र नेपाल राष्ट्र बैंकका कर्मचारीले आर्थिक सहयोग गरिसकेका छन् ।

सामाजिक उत्तरदायित्व महसुस गर्दै कैलपाल हस्पिटल एण्ड कलेज, मध्यपश्चिम प्राविधिक शिक्षालय, नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज हेल्थ कलेजले संयुक्तरुपमा मिलेर एसी खरिदको प्रक्रिया शुरु गरेका हुन । कैलपाल हस्टिल एण्ड कलेजकी निर्देशक रेवती सिंहका अनुसार, खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रक्रिया सकिनासाथ केहीदिनमै भेरी अस्पताललाई एसी हस्तान्तरण गरिने छ । ‘कोभिडको महामारीका बेला सरकारलाई आवश्यकता महसुस भएपछि हामीले सामाजिक उत्तरदायित्व बहन गरेका हौं ।’– सिंहले भनिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार सुशील कोईराला प्रखर क्यान्सर अस्पताल लाई कोभिड-१९ लेबल २ खारेज गरि भेरी अस्पताललाई लेबल २ अस्पताल घोषणा गरेको थियो । भेरीमा सूविधा सम्पन्न कोभिड अस्पताल बनाउनकै लागि स्थानीय तहले रु १० लाख उपलब्ध गराएका छन् भने जिल्लास्थित सरकारी कर्मचारीले एकदिनको तलव दिने घोषणा गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले सहयोगका लागि अपील गर्दै सहयोग गर्न चाहानेले भेरी अस्पताल विकास समितिको खाता नं. ४१३०२०७०००७०१ (राष्ट्रिय वाणिज्य बैंक) मा रकम जम्मा गर्न सक्ने छन् ।

‘सरकारबाट प्राप्त हुने सहयोगसंगै स्थानीयस्तरमा के कसरी छिटो काम गर्न सकिन्छ भन्नेमै यतिबेला हामी लागिपरेका छौं ।’ भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल भन्छन–‘बजेट आउँदा र प्रकृयामा जानेबेलासम्म ढिला हुन्छ की भनेर सरोकारवाला निकायसंग सहयोगको अपील गरेका छौं ।’

 

प्रकाशित मितिः     ९ भाद्र २०७७, मंगलवार २१:१८  |