दाताको शिलालेख बन्दै, उद्योगी राजेन्द्र उपाध्यायले सबैभन्दा धेरै सहयोग गरे


नेपालगन्ज :  खजुरा गाउँपालिका–७ खजुरा बजारमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताको शिलालेख तयार हुँदै छ ।

चार सय ५० जनाको नाम लेखिसकिएको छ भने केही दिनमै सम्पुर्ण काम सम्पन्न हुने छ । शिलालेखको पहिलो नम्बरमा खजुरास्थित इट्टा उद्योगी राजेन्द्र प्रशाद उपाध्याय छन् ।

उनले १५ लाख ७३ हजार ३ सय ५० रुपैया सहयोग गरेका थिए । दोस्रो नम्बरमा कर्णाली डिस्ट्रिलरीका मालिक केदारलाल श्रेष्ठ रहेका छन् । उनले रु १५ लाख दिएका छन् । अस्पताल निर्माणको काममा पहिलेदेखि नै खटिदै आएका देव कार्कीका अनुसार, रकम दिएका दाताहरुको शिलालेखमा नाम छ ।


२०६२ सालमा प्रखर परोपकार मिसनबाट अस्पताल सञ्चालनका लागि अभियान सुरु भएको थियो । ०६५ माघ ११ मा धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित पाँच करोड २६ लाख र प्रखर परोपकार मिसन नेपाल नामक संस्थाको तीन करोड २६ लाख ६१ हजार रुपैयाँमा ‘नेपाल क्यान्सर अस्पताल’ को नाममा पूर्वाधार निर्माणका कामहरू थालिएको थियो । दाताहरुले कवोल गरे अनुसारको रकम नदिएका कारण २ करोड उठ्न सकेन् । कवोेल गरेको भन्दा ५० प्रतिशत रकम दिएका छन् छन् ।

०७३ फागुन १५ को मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाको पहलमा त्यही अस्पताललाई पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्व.सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ का रूपमा सरकारीकरण गरियो । यद्यपी नामका विषयमा यसअघि विवाद उत्पन्न भएको थियो ।

जनसहभागितामा सुरु गरी सरकारलाई हस्तान्तरण गरेको यो नै नेपालको पहिलो क्यान्सर अस्पताल हो । यो चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालपछि सरकारी स्वामित्वमा सञ्चालित दोस्रो अस्पताल भएको छ । नेपालमा क्यान्सरकै मात्र उपचार गर्ने सरकारी र निजी गरी (योसमेत) आधा दर्जन मात्र अस्पताल छन् । यद्यपी व्यवस्थापन प्रभावकारी नहुँदा सोेचे जस्तो उपलब्धी हुन सकेको छैन ।

प्रकाशित मितिः     8:48:20 AM  |