दृष्टिविहिन युवाहरुले खोले मसला प्रशोधन उद्योग


बाँके, बर्दियाका दृष्टिविहिन युवाहरुले सामूहिक रुपमा गाँउमा उत्पादित मसला प्रशोधन र प्याकेजिङ गरी बेच्ने गरेका छन् ।

दृष्टिविहिनहरु आफैले कमाउन सक्छन् भन्ने देखाउनका लागी व्यवसाय सुरु गरेको उनिहरु बताउछन् । गत असारदेखी नेपालगन्ज उपमहानगरपालीका वडा नं १० मा सुरु गरेको यो व्यवसायमा १८ जना युवायुवति छन् ।

व्याचलर पढ्दै गर्नुभएका बर्दियाका २४ वर्षिय सुरेश योगि थारु र बाँके राप्तीसोनारीका २३ वर्षिय आशाराम थारुलाई भविष्यमा शिक्षण पेशा बाहेक के काम गर्न सकिएला र भन्ने लागेको थियो । तर अहिले व्यवसायमा लागेपछि यो चिन्ता हटेको छ ।

सुरेश र आशारामजस्तै, बाँके, बर्दिया र दांगका दृष्टिविहिन र कम दृष्टि भएका युवायुवतिले गाउँमा उत्पादित मसलाको प्रशोधन एवं प्याकिङ गर्ने र त्यसलाई घरघरमै लगेर बेच्ने काम गरीरहेका छन् । शशक्तिकरण युवा समूहमार्फत संगठित भएर उनिहरुले आत्मनिर्भरको काम थालेका हुन् ।

समुहका संयोजक ३३ वर्षिय समिप चौधरीले गत असारदेखी नेपालगन्ज उपमहानगरपालिका वडा नं। १० आदर्शनगरमा रहेको आफ्नै घरमा आफुजस्तै १८ जना युवा युवतीहरुलाई यो व्यवसायमा जोड्नुभएको हो । उनीहरु आफ्ना उत्पादनहरु लिएर गाउँ–गाउँमा पुग्छन् । त्यसबाट उपभोक्ताको रुचि र धारणा बुझ्न पाईरहेको उनीहरु बताउँछन् ।

उनिहरुले गाँउ गाउँबाट धनिया, अदुवा, वेसार लगायतका अर्गानिक मसलाहरु ल्याएर प्याकेजिङ गरी बेच्ने गरेका छन् । मसला पिस्नका लागि साना तथा घरेलु उद्योग कार्यालय बाँकेबाट अनुदानमा तिनओटा मेसिन पाएका छन् । मसला उद्योग नै सन्चालन गर्ने योजना राखेका उनिहरुले ति मेसिन चलाउन समेत सिकिसकेका बर्दियाका ४७ वर्षिय गुरहि थारु बताउँछन् ।

काममा खटिनेहरुलाई मसला बेचेर आएको मुनाफाबाट पारिश्रमिक पनि दिने गरिएको छ । आत्मनिर्भर नहुँदा परिवारका सदस्यहरुले पनि बोझको रुपमा हेर्ने गरेकोमा काम गर्न थालेपछि सोचाई फेरीएको छ भने समाजको साथ पनि पाउन थालेको उनिहरुको भनाई छ ।

– निशु जोशी, नेपालगन्ज ।

प्रकाशित मितिः     २ आश्विन २०७७, शुक्रबार ०७:२४  |