पर्यटनमा भविष्य खोज्दै खड्कबार


नेपालगन्ज ७ असोज :  कोहलपुर नगरपालिकामा पर्ने खड्कबार पर्यटनमा आफ्नो भविष्य पहिल्याउँदै छ ।

पहाडी जिल्लाबाट नेपालगञ्ज हाट आउन प्रयोग गरिने पुरानो खडकबार–घुइयाबारी सडक ब्यूताउने पहल पहिल्यैदेखि नै हुँदै आएको छ । सुर्खेत पूर्व, सल्यान, रुकुम, जाजरकोटका स्थानीय समेत कुनै बेला यही जङ्गलको बाटो प्रयोग गर्दै हाट आउथे ।

यातायातको सुविधासंगै उक्त बाटोको प्रयोग पहिले जस्तो हुन छाड्यो । छोटो दुरी भएकाले अहिले पनि सो क्षेत्रका मानिसहरु यही रुट प्रयोग गर्छन् । बीचमा भने बाघ संरक्षणका लागि बनेको बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।

 

हाटमा प्रयोग भएको उक्त बाटोलाई पर्यटन पदमार्ग बनाउने गरी ब्यूताउन खोजिएको बताउँछन्, खडकबार निवासी कोहलपुर नगरपालिका वडा नं। १३ का अध्यक्ष ओमप्रकाश वली । उनी उक्त मार्गका बारेमा परिचित छन् । ओली भन्छन्,–‘बाबु, बाजेका पालामा यो बाटो हाट आउन प्रयोग हुन्थ्यो । एकप्रकारले निकै चलेको बाटो । तर अहिले त्यस्तो छैन ।’

अध्यक्ष वली अब भने पहिले जस्तै बाटोलाई चमक दिने प्रयास भइरहेको बताउँछन् । गुर्भाकोट, सल्यानका स्थानीय तहले समेत उक्त सडकलाई जोड्न चासो दिइरहेका छन् ।

राजमार्ग भन्दा पनि पर्यटन पैदलमार्ग बनाउँदा बाँकेको पर्यटन प्रर्बधनमा यो बाटो कोशेढुङ्गा सावित हुने देखिन्छ । बाँके निकुञ्जमा पर्यटन मार्गको खोजि भइरहेको गाभर भ्याली होमस्टेका अगुवा कृष्ण चौधरी बताउँछन् । उनी भन्छन्,–‘पुराना मार्गलाई ब्यूताउन सके पर्यटन प्रर्बधनमा ठुलो सहयोग पुग्छ ।’

यो मार्गको शुरुववात खडकबारबाट भएर कर्णाली प्रदेशबाट जोडिन्छ । बाँकेको खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने अन्तर प्रदेश पर्यटन मार्ग निर्माणको लागी पहल गर्न तदर्थसमिति गठन भएको छ ।

बृहत भेलाले सुर्य ढकालको संयोजकत्वमा ३३ सदस्यी समिती गठन गरेको हो । समितिको सह सयोजक साबित्री पुन रहेकी छन भने सदस्यहरुमा कोहलपुर नगरपालिका वडान १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का, कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष ओम प्रकाश वली, कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नारायणी वली, टेक बहादुर शाही, बलराम भट्टराई लगायत रहेका छन ।

यति मात्र होइन खड्कबारमा प्रदेश कै उत्कृष्ट स्मार्ट कार्यक्रम सन्चालन भइरहेको छ । बाँकेको कोहलपुरमा नगरपालिका वडा नं १३ मा अवस्थित बाँके राष्ट्रिय निकुञ्ज नजिकै रहेको सुन्दर रमणीय गाउँ पर्यटनका क्षेत्रमा उत्कृष्ट रहेको जेवी डिसी बताउँछन् । पूर्वाधार निर्माणमा अझ ध्यान दिने हो भने खड्कबारलाई आन्तरिक पर्यटनको हब बनाउन कसैले रोकन नसक्ने उनी बताउँछन् । सुन्दर खड्कवार पार्क, खड्कवार हात्तीसार, बेतिनी रानीघाको ताल रहेका छन् ।

प्रकाशित मितिः     ७ आश्विन २०७७, बुधबार ०९:४५  |