लकडाउनमा औद्योगिक वस्तुकै आयात २ खर्बले घट्यो


नेपालगन्ज १० असोज :  कोभिड–१९ का कारण चैतदेखि भएको लकडाउन, निषेधाज्ञाले औद्योगिक वस्तु, यातायात क्षेत्रका सामग्री, इन्धनको आयातबापत हुने खर्च २ खर्ब रुपैयाँले घटेको छ । चैत ०७५ देखि साउन ०७६ सम्मको ५ महिनामा यी वस्तुको आयात ४ खर्ब ४७ अर्ब रुपैयाँबराबरको भएको थियो ।

तर, चैत ०७६ देखि साउन ०७७ सम्म अवधिमा २ खर्ब ३६ अर्ब रुपैयाँको वस्तु मात्रै आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यो अवधिमा करिब ४७ प्रतिशत ९२ खर्ब ११ अर्ब रुपैयाँ०ले यस्तो आयात घटेको हो । ‘भदौबाट यसमा सुधार देखिएको छ, निषेधाज्ञा खुकुलो भएकाले आर्थिक गतिविधि बढ्न थालेको छ र यसले माग पनि बढाउँदै छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘आर्थिक गतिविधिले गति लिने देखिन्छ, तर कोभिडको अनिश्चितता उच्च छ । यसबाट बचेरै आर्थिक गतिविधि जारी राख्नुपर्ने देखिन्छ ।’

खाद्यान्न तथा पेय पद्धार्थको आयात पनि १० प्रतिशत ९८ अर्ब रुपैयाँले घटेर ८७ अर्ब रुपैयाँमा सीमित भएको छ । समग्र आयात २० प्रतिशतले घटे पनि व्यापार घाटा ७६ अर्ब देखिएको छ । साउनमा ९ अर्ब ६२ करोडको निर्यात हुँदा ८५ अर्ब ८० करोडको घाटा भएको हो । राष्ट्र बैंकको तथ्यांकले साउनमा समग्र आयातमा औद्योगिक सामग्रीकै आयात उच्च ९३२ प्रतिशत हिस्सा० रहेको देखाएको छ ।

आर्थिक गतिविधिमा आएको सुस्तपनले बैंकहरूको निजी क्षेत्रतर्फ कर्जा प्रवाहसमेत घटेको छ । असारको तुलनामा साउनमा १७ अर्ब रुपैयाँले निजी क्षेत्रतर्फको कर्जा घटेको तथ्यांक छ । बैंकहरूले कर्जा विस्तार गर्न नसक्दा अन्य बैंकबाट सापटी (अन्तरबैंक कारोबार) लिनै छाडेका छन् । साउनमा वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँ मात्र अन्तरबैंक कारोबार गरेका छन् । जबकि, गत वर्षको यही अवधिमा १ खर्ब ४६ अर्ब अन्तरबैंक कारोबार गरेका थिए । शोधनान्तर बचत (भुक्तानी सन्तुलन) भने ५१ अर्ब ४६ करोड रुपैयाँले सकारात्मक छ । गत वर्षको यही महिनामा ६ अर्ब रुपैयाँले बचतमा थियो ।

आयात घट्दा विदेशी मुद्राको सञ्चितिमा पनि वृद्धि हुन थालेको छ । राष्ट्र बैंकसँग १४ खर्ब ३६ अर्ब रुपैयाँबराबर विदेशी मुद्रा सञ्चितिमा छ । यसले १५ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा आएको छ । आर्थिक गतिविधि ठप्पजस्तै हुँदा सरकारले खर्च गर्न सकिरहेको छैन । सोही कारण साउनमा सरकारी ढुकुटी ९प्रदेश र स्थानीय तहको समेत०मा १ खर्ब ९६ अर्ब रुपैयाँ सञ्चिति रहेको छ ।

प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार ०८:१५  |