भालुवाङलाई राजधानी तोक्ने निर्णयप्रति असहमति छैन : काँग्रेस सांसद सुरेन्द्र हमाल


नेपालगन्ज १७ असोज ;  नेपाली काँग्रेस प्रदेश नं. ५ का मुख्य सचेतक एवं बाँकेका प्रदेश सांसद सुरेन्द्र हमालले भालुवाङलाई राजधानी तोक्ने निर्णयप्रति असहमति नरहेको प्रतिक्रिया दिएका छन् ।

बाँकेमा राजधानी बन्न नसक्ने अवस्थामा भालुवाङप्रति पनि असहमति प्रकट गर्न नसकिने उनले बताए । हमाल लगायत सबै जसो पश्चिमक्षेत्रका सांसदले सकभर बाँके नत्र पायक पर्ने ठाउँमा राजधानी बन्ने पर्ने आवाज उठाउँदै आएका थिए । भालुवाङ राजधानी तोक्ने निर्णयप्रति त्यसरी आवाज उठाउने सबैको सांसदको समर्थन छ ।

‘दाङ र रुपन्देही भन्दा राजधानीका लागि बाँके कुनै कुरामा कमी छैन बरु उत्कृष्ट छ । हामीले बाँके राजधानी हुनुपर्छ भनेर आफ्नो सार्माथ्यले भ्याएसम्म आवाज उठाएकै हौ. ।’ अर्थपेजसंगको कुराकानीमा हमालले भने–‘तर हामीले निरन्तर उठाइरहेको आवाज सुन्ने काम भएन । अनि हामीले बिकल्पमा पायक पर्ने ठाउँमा राजधानी तोक्नुपर्छ भनिरहेका छौं । त्यसैले भालुवाङमा राजधानी तोक्ने निर्णयप्रति मेरो असहमति छैन ।’
भालुवाङलाई राजधानी तोक्ने निर्णयप्रति असहमति नरहेको बताएका सांसद हमालले प्रतिपक्ष दलसंग छलफल नगरी अचनाक गरेको निर्णयप्रति भने असन्तुष्टि पोखेका छन् । ‘प्रतिपक्षलाई समेत साथ लिएर गएको भए राम्रो हुन्थ्यो ।

सायद दुई तिहाई पुग्ने भएर उहाँहरुले छलफलको आवश्यकता नै महसुस नगरेको पो हो की ?’ हमालले भने –‘राजधानी तोक्ने निर्णयप्रति असहमति नरहे पनि नाम प्रति भने मेरो व्यक्तिगतरुपमा फरक मत छ ।’ सांसद हमालले लुम्बिनी सर्वस्वीकार्य रहे पनि त्यसमा लुम्बिनी अवध थपेर पश्चिमको अवध संस्कृतिलाई जोड्न सकिने अवस्थाको अन्त्य गरिएको बताए ।

राजधानीको निर्णयको बिरुद्धमा बुटवलमा भइरहेको आन्दोलनका बारेमा सांसद हमालले स्वभाविक भएको बताएका छन् । उनले भने,–‘सबैले आफ्ना आवाज उठाउन पाउँछन् त्यसलाई अनावश्यक नभनौ ।’ हमालले सबैले आफ्ना आवाज उठाउन पाउने भए पनि न्यायोचित विषयमा समर्थन जनाउनुपर्ने बताए ।

प्रकाशित मितिः     १७ आश्विन २०७७, शनिबार १०:३२  |