औद्योगिक क्षेत्रमा बैंकहरुले गरे १० खर्ब ६२ अर्ब कर्जा लगानी


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गर्ने कर्जा वृद्धि भएको छ । गत पुससम्म औद्योगिक कर्जा १७.३ प्रतिशत बढेर १० खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

२०७६ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको थियो ।

यो रकम बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानी मात्र हो । उद्योगीले गरेको २० देखि ३० प्रतिशत स्वपुँजी (इक्विटी) यसमा समावेश गरिएको छैन । उद्योगीले खर्बौ रुपैयाँ इक्विटी लगानी गरेका छन ।

बैंकहरुले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रको अंश ३३.९ प्रतिशत रहेको छ । बाँकी ६६.१ प्रतिशत कृषि, पर्यटन र पूर्वाधारमा लगानी रहेको छ ।


औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा ०.७ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा १५.९ प्रतिशत, गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ३५.३ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा ३१.४ प्रतिशत छ । यस्तै विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा १२.९ प्रतिशत प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

औद्योगिक कर्जामध्ये प्रदेश १ को हिस्सा ११.७ प्रतिशत, प्रदेश २ को हिस्सा ८.३ प्रतिशत, बागमती प्रदेशको हिस्सा ६३.५ प्रतिशत, गण्डकी प्रदेशको हिस्सा ४.७ प्रतिशत, प्रदेश ५ को हिस्सा ९.५ प्रतिशत, कर्णाली प्रदेशको हिस्सा ०.५ प्रतिशत र सुदूर–पश्चिम प्रदेशको हिस्सा १.८ प्रतिशत रहेको छ ।

यो तथ्याँक कोरोना भाइरस महामारी हुनु अघिको हो । महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी  र निषेधज्ञापछि बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार प्राय ठप्प जस्तै छ ।

कर्जा विस्तार नभएपछि प्रणालीमा अझै पनि २ खर्ब रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । यद्यपी, कर्जा लगानी हुन थालेको बैंकहरुले जानकारी गराएका छन ।

प्रकाशित मितिः     12:54:35 PM  |