विद्युतका लागि अगैयामा चक्काजाम


नेपालगन्ज २२ असोज :  ठेकेदारले अलपत्र पारेको बिद्युतीकरणको काम तत्काल अगाडी बढाउनुपर्ने माग गर्दै राप्तीसोनारीको अगैयामा आज राजमार्ग अवरुद्ध पारिएको छ । ठेकेदार कम्पनी ‘उष्मारगौरी पार्वती जेभी’ले २०६९ सालमा सम्झौता गरेपनि लामो समयदेखी काम अलपत्र परेको थियो ।

सम्झौताको म्याद गुज्रिएको लामो समयपछि नेपाल बिद्युत प्राधिकरणले यही असोज ६ गते ठेक्का तोडेर काम आफै गर्न खोजेपठि ठेकेदार कम्पनीले केहीदिन अघि तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास समक्ष मुद्दा हालेको थियो ।

बिद्युत विस्तार संघर्ष समिति राप्तीसोनारी नरैनापुरको अगुवाईमा ठुलो संख्यामा उपस्थित भएका स्थानीय बासिन्दाले अगैयास्थित पुर्वपश्चिम राजमार्गलाई दिउँसो १२ बजेबाट अवरुद्ध पारेका हुन् । संघर्ष समितिका संयोजक तथा पुर्वसभासद पट्टु थारुले बिद्युतीकरणका लागि दवाव दिने उद्देश्यले दुई घण्टाका लागि राजमार्ग अवरुद्ध पारिएको बताउनु भएको छ ।

दुई दिनअघि स्थानीय बासिन्दाको भेलाले संघर्ष समिति गठन गरेको थियो । उक्त समितिले ज्ञापन पत्र बुझाउने, राजमार्ग बन्द गर्ने लगायतका संघर्षका कार्यक्रम तय गरेको थियो । पुर्व निर्धारित कार्यक्रम अनुसार दुई घण्टाका लागि राजमार्ग अवरुद्ध पारिएको संघर्ष समितिका सह–संयोजक डिल्ली ओलीले जानकारी दिनुभयो ।

समितिले यसअघि बिद्युतीकरणका लागि दवाव स्वरुप जिल्ला प्रशासन कार्यालय बाँके, बिद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्ज, राप्तीसोनारी गाउँपालिका कार्यालय लगायत निकायमा ज्ञापन पत्र बुझाइसकेको छ ।

संर्घषका कार्यक्रम अन्तर्गत भोली पनि राजमार्ग अवरुद्ध गर्नुका साथै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका अगाडी धर्ना दिने कार्यक्रम रहेको समितिका सदस्य हुमा शंकर ओलीले जानकारी दिनुभयो । बिद्युतीकरणको काम सुचारु गर्ने विषयमा बिद्युत प्राधिकरण, ठेकेदार र उपभोक्ता समितिबीच विवाद चल्दै आएको छ ।

प्रकाशित मितिः     २२ आश्विन २०७७, बिहीबार १३:४२  |