अहिलेकै बजारले बाँकेका तारे होटलको लगानी जोगिएला ?


नेपालगन्ज ४ कात्र्तिक : बाँकेमा एकपछि अर्को गरी तारे होटलमा लगानी थपिदै छ । कतिपयले लहडका भरमा यो क्षेत्रमा लगानी थपिएको आरोप लगाउँछन् ।

बजारको सम्भाव्यत अध्ययन नगरी गरिएको लगानी जोखिमपूर्ण बन्ने खतरा समेत देखिएको औल्याउनेहरुको कमी छैन । सन्चालनमा रहेका होटलको अवस्था देख्दा पनि त्यसको पुष्टि हुन्छ । त्यही जोखिम कम गर्न बाँकेमा पर्यटकीय गतिविधि बढाउनुपर्नेमा सरोकारवाला अगुवाहरु जोड दिन्छन् ।

अन्यथा होटलको लगानी बालुवामा पानी हुन सक्ने खतरा देखिएको छ । पछिल्लो समय बाँकेमा एकपछि अर्को गरी तारे होटलमा लगानी थपिने क्रम बढेको भएपनि प्रतिफल अपेक्षाकृत नहुँदा लगानीकर्ता निरास बन्दै गएका छन् ।

शुरुमा उत्साहका साथ लगानी गरेका लगानीकर्ता बाँकेमा होटलमा लगानी अब इनअफ अर्थात पुग्यो भन्ने अवस्थामा आएको बताउँछन् ।

नयाँ थपिदै छन् भने पुराना धरासायी बन्दै गएको अवस्था छ । जिल्लामा पछिल्लो एक दशकयता मात्र दूईवटा पाँच तारे सहित झण्डै एक दर्जन तारे होटल स्थापना भए । यि होटलमा अर्वौको लगानी थुप्रिएको छ । सम्भाव्यत अध्ययन नगरी होटलमा केका आधारमा यतिका लगानी भइरहेको छ ? कसैले जवाफ दिन जरुरी ठानेका छैनन् ।

एक समय होटलमा लगानी घोषणा गर्ने उत्साह नै थियो । होटल ग्ल्यामर बिजनेस धेरैले लगानी गर्ने त भनिहाले तर पर्यटकको वास्तविक अंक र सञ्चालनमा रहेका होटलको अवस्था बुझ्दै जाँदा सबै झस्किए । लगानी घोषणा गर्दा जुन उत्साह देखियो थियो, पछिल्ला वर्ष पर्यटक आगमन र पर्यटकीय पूर्वाधार निर्माणमा भएको सुस्तताले लगानीकर्ताको उत्साह निराशामा परिणत भइदियो ।

नेपालमा जुन क्षेत्रमा ‘ह्विमु आउँछ, त्यतै लगानी गर्ने होडबाजी चल्छ । होटल बिजनेसमा पनि वास्तविकता नबुझी लगानी घोषणा गरिँदा धेरै परियोजना अन्योलमा परेको व्यवसायी बताउँछन् ।

व्यवसायीका अनुसार पर्यटक बढाएर नभई आइरहेका पर्यटक तानतुन गरी होटल चलाउँछु भन्ने मानसिकताले धेरै होटलमा लगानी गरियो ।

सरकारी तथा गैरसरकारी कार्यालय अत्याधिक भएका बेला त्यही देखेर धेरैले नेपालगन्जमा होटल खोले । तर दुर्भाग्य प्रदेश संरचना कार्यान्वयन भएपछि जम्मै कार्यालय अन्यत्र सरे ।

होटलमा लगानी थुप्रिएकै बेला निर्माण भएको त्यो परिस्थितीले यहाँ होटल व्यवसायीलाई ठुलै मारमा पारेको थियो । यसको बिकल्पमा मानसरोवर तिर्थ पर्यटनले यहाँको होटल व्यवसायलाई उकास्ने अपेक्षा गरिएको थियो ।

तर त्यो पनि भरपर्दो छैन भने एजेन्सी मार्फत नै तिर्थयात्री आउने भएकाले यहाँका होटल व्यवसायीले उधारो रकम नै फिर्ता नपाउने अवस्था आयो । त्यो पैसा हजारमा होइन लाखौमा रहेका कारण होटल व्यवसायीलाई मार परेको छ ।

भ्रमण वर्षले केही उत्साह थपेको थियो । पश्चिमका आउने पर्यटकलाई नेपालगन्जमा बसाउन सकिने आशा सहित यहाँका होटल व्यवसायीले तयारी शुरु गरेका थिए । तर भ्रमण वर्ष शुरु हुनु र कोभिडको महामारी शुरु हुनु संगसंगै भयो ।

परिणाम होटल व्यवसाय उठ्नै नसक्ने धरासायी बनेको छ । शुरुदेखि नै कुनै सम्भाव्यता अध्ययन नगरी हचुवाका भरमा होटल खोलिएकोमा अहिले झन् उत्पन्न भएको अनेकन परिस्थितीले यहाँका होटल व्यवसायीलाई लगानी निल्नु न ओकल्नुको अवस्था सिर्जना भएको छ ।

व्यवस्थापनमा चुस्तदुरुस्त रहेका एकाध होटल बाहेक अधिकांस बैचौ की राखौ भन्ने अवस्थामा छन् ।

तर यस्तो अवस्थामा ग्राहक कहाँ पाउनु ? बेच्न चाहे पनि विक्री अवस्था छैन । कतिपय होटल त लिजमा समेत दिने काम भइरहेको छ । त्यसो त पहिलेदेखि नै
भारतीय चेन होटलको व्यवस्थापनमा यहाँका होटल सन्चालनमा छन् ।

तर सबै ठिकठाक अवस्थामा चलेका छैनन् । तर निरास भइहाल्ने अवस्था पनि छैन । बजारको खोजि गर्नेहरुले भविष्य अन्धकार होइन राम्रै देखिएका छन् । लगानीकर्ताहरु सबै ठाउँको परिस्थिती नै अनुकुल नभएकाले बाँकेको होटल व्यवस्थामा समेत त्यसको मार परेको बताउँछन् । बजारको खोजि गर्दै जाने हो भने भविष्य खराव नै नभएको उनीहरुको तर्क छ ।

यसरी उत्साहित हुने लगानीकर्ताहरु बाँकेमा आगामी दिनमा सन्चालन हुने पूर्वाधार विकासले आफुहरुको होटल चल्ने वा नचल्ने कुराको निर्धारण हुने बताउँछन् ।

नेपालगन्ज दिल्ली उडान र पोखरा उडान जस्ता पर्यटकीय गतिविधि बढ्ने कार्य अगाडी बढाउन सके होटल व्यवसायको भविष्य राम्रै हुने तर्क गर्नेको पनि कमी छैन । नेपालगन्जका मेयर धवल शम्सेर राणाले बाँकेमा आर्थिक विकासको प्रमुख खम्बामा हस्पिटालिटी क्षेत्रलाई समेत मानेका छन् ।

क्रस बोर्डर टुरिजमदेखि क्यासिनो सिटीको विकास लगायतका काममा हस्पिटालिटी क्षेत्रलाई निरास नबनाइहाल्ने उनको तर्क रहँदै आएको छ । होटलको लगानी जोगाउन अब के गर्ने ? बेलैमा सोच्ने बेला आएको छ ।

प्रकाशित मितिः     ४ कार्तिक २०७७, मंगलवार ०९:४८  |