नेपालगन्ज धार्मिक सद्भावको शहरले परिचीत छ । पछिल्लो समयमा नेपालगन्जमा एक धर्मका चाडपर्वहरु अर्को धर्म मान्ने समुदायका व्यक्तिहरुले मान्ने र मनाउने प्रचलन बढेको छ । जसले गर्दा समाजमा धार्मिक एवम् सामाजिक सद्भाव अझै दरिलो र मजबुत हुँदै गएको छ ।
नेपालगन्जमा मुस्लिम समुदायका चाडपर्वहरु हिन्दु समुदायका व्यक्तिहरुले मनाउने र हिन्दु धर्मका चाडपर्वहरु पनि मुस्लिम समुदायका व्यक्तिहरुले मनाउने गर्दै आएका छन । मुस्लिम समुदायको चाड मोहर्रम पर्वमा हिन्दु समुदायले व्रत बसेर ताहजिया राखेर मनाउँदै आएका छन भने हिन्दु समुदायले मनाउँदै आएका दशै तिहार जस्ता पर्वमा मुस्लिम समुदाका व्यक्तिहरुले पनि मनाउँदै आएका छन ।
हिन्दु समुदायले मनाउने चाड तिहारमा मुस्लिम समुदायका केही पुरुषहरुले टीका लगाउँदै आएपनि पहिलोपटक नेपालगन्जमा मुस्लिम समुदायका एक महिलाले हिन्दु समुदायका पुरुषलाई भाई मानेर टीका लगाइदिएकी छन । साथै आफुले पनि भाईबाट टीका लगाएकी छन ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलकी मुस्लिम महिला कश्मीरा खातुनले पहिलोपटक यसपालिको तिहारमा टीका लगाइदिएकी हुन । उनले डोटी जिल्ला घर भई हाल कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक यादव महरालाई भाई मानेर भाइटिका लगाइदिएकी हुन साथै भाई महराको हातबाट आफुले पनि टीका लगाएकी हुन ।
‘सबैले सबैको धर्मलाई सम्मान गर्ने, धार्मिक चाडपर्वलाई सबै समुदायले मिलेर मनाउने गर्दा समाजमा धार्मिक र सामाजिक सद्भाव बढ्ने हुँदा मैले श्रीमान र छोरासङ्ग सल्लाह गरेर पहिलो पटक हिन्दु धर्म मान्ने व्यक्तिलाई भाई मानेर भाइटिका लगाइदिएँ र मैले पनि टीका लगाएँ ।’ – उनले भनिन, ‘मैले आफ्नो श्रीमान र छोरासङ्ग सल्लाह मागे, उहाँहरुले सकारात्मक रुपले लिनु भयो र हिन्दु धर्मावलम्बीको चाड तिहार मान्न मलाई प्रोत्साहन गर्नुभयो, म खुशी भएँ र पहिलोपटक तिहार मनाएँ ।
पछिल्लो समयमा नेपालगन्जमा हिन्दु र मुस्लिम लगायतका समुदायका चाडपर्वहरु सबैले मिलेर मनाउँदै आएको पाइएको छ । नेपालगन्ज धार्मिक सद्भावको शहरको रुपमा पहिचान बनाउँदै गएको छ । यी पर्वहरु सद्भावको पर्वको रुपमा स्थापित हुँदै गएका छन ।
कश्मीरा सफल महिला उद्यमी तथा नेतृ पनि हुन । उनले नेपालगन्ज २, घरबारीटोलमा लुम्बिनी गार्मेन्ट उद्योग संचालन गरेकी छन । उनि मुस्लिम संगठन नेपालको केन्द्रिय सदस्य तथा नेपाल उद्योग संघको बाँकेको संयोजक रहेकी छन ।