अग्नी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग


नेपालगन्ज ४ मंसिर : नेपालगन्ज उद्योग वाणिज्य संघले अग्नी नियन्त्रण सम्बन्धी कदम प्रभावकारीरुपमा चाल्न सरोकारवाला निकायसंग माग गरेको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गरी उक्त माग गरेका हुन । संघले नेपालगन्ज वि.पि. चोक स्थित न्यू स्टार सिरक सप्लायर्स (प्रो. मो. हुसेन राई) र न्यूरोड क्षेत्र स्थित सद्भाव प्रिन्टिङ्ग प्रेस (प्रो. दमोदर भण्डारी) को फर्ममा गत कार्तिक ३० गते भएको आगलागीबाट अत्यन्त दुःखी भएको उल्लेख गरेको छ ।

विद्युत सर्किटका कारण आगलागी हुनगई भएको अपुरणीय क्षतीप्रति दुःख व्यक्त गर्दै सम्बन्धित व्यवसायीमा पर्न गएको अकल्पनीय घटना प्रति सहानुभुती प्रकट गरेको छ ।


आगलागीका कारण हरेक वर्ष व्यवसायीक प्रतिष्ठानले अपुरणीय क्षती व्यहोर्दै आएका थुप्रै उदहारण रहेको बताउँदै संघले यस्ता घटना बढ्दै गए पनि अग्नी नियन्त्रणका साधनहरु प्रभावकारी बन्न नसकेको उद्योगी, व्यवसायी एवं आमनागरिकहरुका तर्फबाट गुनासा आइरहनु दुःखद पक्ष भएको जनाएको छ ।

सकभर आगलागी हुनै नदिन सजकता अपनाउन र दुर्घटनाबश त्यस्ता घटना भइहाले पनि तत्काल नियन्त्रण गर्ने प्रभावकारी साधन (दमकल) तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरुसँग अपिल गरिएको छ ।

उद्योगी, व्यवसायीहरुले आफ्नोे उद्योग प्रतिष्ठानमा अग्नी नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न र दुर्घटना पछि हुने क्षति न्यूनिकरणका लागी विमा प्रक्रियामा जान हार्दिक आह्वान गर्दै संघले क्षतिपछि सम्बन्धित निकायबाट हुने कागजी प्रक्रिया सहजताका लागी प्रशासनिक निकाय लगायत विमा कम्पनीबाट उपलब्ध गराउने क्षतिपूर्ति रकम सहजताका साथ प्रदान गर्न सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मितिः     7:26:40 PM  |