नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आफूनिकट सांसदहरूको बालुवाटारमा भेला गरेका छन्। विघटित प्रतिनिधि सभामा रहेका र राष्ट्रिय सभा सदस्यसँग प्रधानमन्त्री ओलीले झन्डै डेढ घन्टा छलफल गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेलामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका छन्।
प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् ।
पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको उनले बताए ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरे ।
उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ भन्दै ओलीले भने, ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे ’
अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उनले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने आफूले पनि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने आजको भेलामा बताएका छन्।
उनले नेकपामा छिरेर प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने उल्लेख गरे।
‘यो त विश्व राजनीतिमै दुर्लभ घटना हुने भयो,’ ओलीले भने,‘यस्तो कुरा कसैले पत्याउनु पर्यो नि!’
हेर्नुस् तस्बिरहरू: