रोक्का, फुकुवा र लिखत निवेदनका मिसिलहरु कम्प्युटरबाट मात्रै गर्न मालपोतलाई दोस्रो परिपत्र


काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले रोक्का, फुकुवा र लिखत निवेदनका मिसिलहरु कम्प्युटरबाट मात्रै गर्न दोस्रो पटक परिपत्र गरेको छ।

विभागले गत मंसिर ९ गते जारी गरेको परिपत्रमा पहिलेनै रोक्का भइसकेका फाइल र एलआरआएएमस प्रणाली लागु हुनुभन्दा अघिका श्रेष्ता कसरि व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्ट नभएकाले पुष १० गते दोस्रो पटक परिपत्र गर्नुपरेको विभागले जनाएको छ।


मंसिरको परिपत्रमा दोहोरो श्रेष्ता राख्नु नपर्ने उल्लेख गरिएपनि यस अघिनै ढड्डामा रोक्का राखिएका र श्रेष्ता कायम भएका फाइलहरुलाई कसरि व्यवस्थापन गर्ने भन्ने कुरा उल्लेख थिएन।

१०८ वटा मालपोत कार्यालयमा लागु भएको अनलाइन प्रणाली केहि कार्यालयमा ४ वर्ष पुगेपनि केहि कार्यालयमा भने १ वर्ष पनि पुगेको छैन।

सबै कार्यालयमा पुराना मोठ श्रेष्ताहरु स्क्यान गर्न पनि नसकिएकोले विभागले अनलाइन प्रणाली लागु भएपछिका श्रेष्तालाई मात्रै अनिवार्य रुपमा कम्प्युटरबाट गर्नु पर्ने र पुराना श्रेष्तालाई साविककै व्यवस्था अनुसार काम गर्न निर्देशन दिएको हो।

कानूनी जटिलता आउने देखिएपछि यस अघि ढड्डामा उल्लेख गरिएका निवेदनहरु ढड्डाबाटै सल्टाउने र पररिपत्र जारी भइसकेपछि अनलाइन प्रणाली लागु भएका मालपोत कार्यालयलयले कम्प्युटरमा मात्रै श्रेष्ता कायम गर्नु पर्ने गरि परिपत्र गरिएको छ।

प्रकाशित मितिः     ११ पुष २०७७, शनिबार १५:२१  |