आइएमई ग्रुपको अगुवाइमा साढे २ अर्ब लगानीमा लुम्बिनीमा बन्ने केवलकार यस्तो हुने छ


नेपालगन्ज । व्यवसायिक घरना आइएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म ३ किलोमिटर लामो लुम्बिनी केवलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिले निर्माण गर्न लागेको आयोेजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

काम सुरु भएको २ वर्षमा सो केवलकारकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ । लुम्बिनी केलवकारको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान बुटवलमा शिलान्यास गर्दैछन । केवलकारले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्नेछ ।

केबलकारको बुटवल उपमहानगरपालिका ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । पाल्पाको तिनाउ गाउँपालिका वडा न। ३, बसन्तपुर डाँडामा टप स्टेशन तथा होटल कम्प्लेक्स रहने भएका छन ।

 

वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र १५० कोठासहितको सुविधासम्पन्न होटल तथा रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी गरिएको छ ।बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी एउटा नयाँ धार्मिक गन्तब्य बनाउनुका साथै पार्क, पिकनिक स्पट तथा बाल उद्यानहरु निर्माण गरिने योजना लुम्बिनीको छ । १० मिनेटको यात्रामै तराई, पहाड तथा हिमालको अनुभव तथा दृश्यावलोकन गर्न सकिने कम्पनीको भनाई छ ।

सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देही र पाल्पा जिल्लाअन्तर्गतको सो क्षेत्रमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोगको २५ वर्षका लागि भोगाधिकार गर्न स्वीकृति दिएपछि केबुलकार निर्माणको बाटो खुलेको हो ।

बटम स्टेशनदेखि टप स्टेशन अर्थात वसन्त डाँडामा पुग्न १० मिनेट लाग्नेछ । मनोकेवल डिट्याचेवल गोन्डाला सिस्टम रहेको केवलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्नेछ ।


गोण्डालाको संख्या २४ रहेको छ । यस्तै केवलकार टावर ९ वटा हुने कम्पनीले जनाएको छ । केवलकारको अन्तर्राष्ट्रिय केवलकार उत्पादक तथा परामर्शदाता कम्पनी डोपलमेयर रहेको छ । अन्तर्राष्ट्रियस्तरको केवलकार बनाउन कम्पनीसंग सम्झौता भइसकेको लुम्बिनीले जनाएको छ ।

सरकारले बुटवल उपमहानगरपालिका–३ को चुरे सामुदायिक वन समेतको ३।१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका–३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३. ११ हेक्टर वन क्षेत्र प्रयोग गर्न पाउने गरी केबलकारलाई भोगाधिकार दिने निर्णय गरेको छ । सरकारले बाटोमा पर्ने वन क्षेत्रमा रहेका १ हजार ३३८ वटा रुखहरु हटाउन समेत स्वीकृति दिएको छ ।

प्रदेश नं ५ कै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पाल्पासम्म ल्याउने योजना केवलकारको छ ।

ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ७ वटै प्रदेशमा केवलकार सञ्चालनमा ल्याउने घोषणा गरेका छन । सोही घोषणाअनुसार उनले लुम्बिनीमा केवलकार सञ्चालनका लागि पूर्वाधार बनाउन लागेका हुन ।

यस्तै आईएमई ग्रुपको अगुवाइमा काठमाडौंको चन्द्रागिरीमा पनि रिसोर्टसहितको केवलकार सञ्चालनमा आइसकेको छ । यस्तै मौलाकालीमा पनि केवलकार सञ्चालन गर्ने उनको तयारी छ ।

प्रकाशित मितिः     ३ फाल्गुन २०७७, सोमबार १६:५१  |
error: Content is protected !!