काँग्रेसको काँधमा जिम्मेवारी थपियो : केन्द्रीय सदस्य शाही


नेपालगन्ज १२ फाल्गुण :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले देशमा उत्पन्न संकट समाधानका लागि आफ्नो पार्टीको काँधमा जिम्मेवारी आएको बताएका छन् ।

प्रेस युनियन बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता शाहीले भने,–‘देशको हरेक संकटको घडीमा नेपाली काँग्रेसले निर्णायक भूमिका निर्वाह गरेको छ ।

यसपटक पनि हामीले त्यो भूमिका कुशलतापूर्वक निभाउने छौं ।’

नेता शाहीले संसद बिघटन बदर गरेर सर्बोच्च अदालतले संबैधानिक सर्बोच्चतालाई जोगाएको उल्लेख गरे ।

उनले प्रधानमन्त्री केपि शर्मा ओलीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताउँदै भने,–‘तर उहाँले राजिनामा नदिएर संसदमै फेस गर्नुहोला जस्तो देखिएको छ ।’ उनले आफुहरुले सत्ताका लागि नभई देशको संकट समाधानका लागि अगाडी बढ््ने बताए ।

युनियन अध्यक्ष अर्जुन ओलीको अध्यक्षमा भएको कार्यक्रमको सन्चालन सचिव बिजय मल्लले गरेका थिए ।

 

प्रकाशित मितिः     १२ फाल्गुन २०७७, बुधबार ११:१८  |