नेपालगन्ज। सरकारले देशभरका सामुदायिक विद्यालयका निम्न माध्यमिक तहका विद्यार्थीलाई खाजा खुवाउन थालेको छ।
प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्मका सबै विद्यार्थीलाई दिउँसोको खाजा स्कूलमै दिने कार्यक्रम सुरु भएको हो। त्यसका लागि सरकारले प्रति विद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउँछ।
विद्यालयका विद्यार्थीको लागि दिवा खाजा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र समानताको पक्षबाट महत्वपूर्ण रहेको भन्दै दिउसो विद्यालयमै खाजा खुवाउने योजना अघि सरेको थियो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको सहजिकरण पुस्तिकामा उल्लेख भए अनुसार, नेपालमै गरिएको एक अध्ययनले पोषणयुक्त दिवा खाजामा गरेको एक रुपैयाँ लगानीबाट विद्यार्थीको जीवनमा ५।२ गुना आर्थिक लाभ हुने निचोड निकालेको थियो।
विद्यालयमा खुवाइने दिवा खाजा सबै बालबालिकाका लागि एउटै गुणस्तरको हुने भएकाले पनि समावेशी पक्षबाट यस योजनालाई महत्वपूर्ण ठहराइएको छ।
त्यसैले कर्णालीका विद्यार्थीलाई दैनिक २० रुपैयाँ र अन्य सबै ठाउँका विद्यार्थीलाई १५ रुपैयाँका दरले खाजाका लागि रकम उपलब्ध हुन थालेको पनि छ।
पन्ध्र रुपैयाँमा विद्यार्थीले केके खान पाउँछन् त ?
खाजाको मेनु भूगोल अनुसार फरक छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पौष्टिक विवरणसहित तयार गरेको मेनु अनुसार
पूर्वी पहाडी जिल्लाहरूका लागि जाउलो, मकैको खीर र तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी, र आलु पनीर मेनुमा छ।
त्यस्तै, काठमाडौं उपत्यकासहित मध्य पहाडी जिल्लाहरूमा जाउलो, कोदोको हलुवा, तरकारी, चिउरा मासु, क्वाँटी, मकैको खीर, र तरकारी र पानी रोटी खाजाका रुपमा तोकिएको छ।
पश्चिम पहाडी जिल्लाहरूमा जाउलो, फापरको रोटी, मकैको खीर, क्वाँटी, ढिँडो र कोदोका पुवा सिफारिस गरिएको छ।
पूर्वी तराईका विद्यार्थीहरूका लागि खिचडी, छोला चिउरा, गेडागुडी मिक्स, गहुँको हलुवा र तरकारी, चिउरा मासु र मकैको लावा फूल खाजा सिफारिस गरिएको छ ।
पश्चिम तराईको बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका बालबालिकाको मेनुमा भुटेको अण्डा र भात, चना, चिउरा, रोटी अचार, गेडागुडी साँधेको र दही चिउरा र तरकारी रहेको छ।
पूर्वी हिमाली क्षेत्रमा मासको जाउलो, मकैको खीर, आलुदम, फापरको ढिँडो, कोदोको पुवा र क्वाँटी दिन सुझाइएको छ।
त्यस्तै, मध्य हिमाली जिल्लाका बालबालिकाको लागि जाउलो, अण्डा भुजा, क्वाँटी, कोदोको हलुवा, हरियो मकैको तरकारी र आलुदम खाजा सिफारिस छ।
मेनु अनुसार पश्चिम हिमाली क्षेत्रका विद्यार्थीले जाउलो, कोदोको हलुवा तरकारी, कला र सिमीको कोल, फापरको लगर, मकै भटमास र चिनोको खिर पाउनेछन्।
समग्रमा मेनु पौष्टिकता र स्थानीय तहमा उब्जनी हुने अन्नबाली केन्द्रित छ। यस्तो अवस्थामा अन्य जिल्लामा मेनु अनुरुप खाजा उपलब्ध गराउन सम्भव भए पनि काठमाडौंमा कठिन हुने बताउँछिन् दरबार हाइ स्कूलकी सह प्रधानाध्यापक शारदा पौडेल। महङ्गीका कारण सरकारले दिने १५ रुपैयाँमा मेनु अनुरुप खाजा खुवाउन गाह्रो हुने उनको तर्क छ।
विद्यालयका कुल साढे तीन सय विद्यार्थीमध्ये आधा दिवा खाजाबाट लाभान्वित हुन्छन्। तर, त्यसका लागि विद्यार्थी स्वयंले कही रकम थप गर्नुपर्ने देखेकी छिन् उनले। ुस्कूलसँग बजेट छैन। त्यसैले अभिभावकहरूलाई डाकेर खाजाका लागि मासिक केही रकम थप गर्न आग्रह गर्ने योजनामा छौं,‘ उनले भनिन्।