‘सीजी उन्नति कल्चरल भिलेज’ जहाँ थारु संस्कृति झल्काउने सबैथोक देख्न पाइन्छ


नेपालगन्ज। चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, संस्कृति, साहित्य, भेषभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्द्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो।

फाउण्डेसन चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय हो। सीजी भिलेजको चारैतिर हरियाली छ। यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन्। चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी छन्। थारू जातिका दैनिकी झल्किने वस्तु छन्। भिलेजमा थारु समुदायको सिंगो तस्बिर कुँदिएको फाउण्डेसनले जनाएको छ।

चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको भिलेजमा आर्टस् एण्ड क्राफ्ट, कल्चर, गेष्ट स्पेस र एक्पिरियन्स लगायतका कम्पोनेन्टहरू रहेका छन्।

आर्टस् एण्ड क्राफ्ट अन्तर्गत सम्पदा आर्ट ग्यालरी, रंगमञ्च एमपीथियटर बाटिका गार्डेन अफ आर्टस्, निशर्ग सयर नेचर वकवेज, क्राफ्ट म्युजियम, नेपाल क्राफ्ट, दि एटिलियर क्रियटिभ स्टुडियो रहेका छन्।

कल्चर अन्तर्गत थारू गाउँ, बाहरी लाइभ किचन, बडाघर डाइनिङ डबली, गदला मोद बार,  रहेका छन्। गेष्ट स्पेस अन्तर्गत कला घर आर्ट होटल बोधि कुञ्ज आर्ट रेसिडेन्सी देहारी थारू घर, आथित्य मल्टिपर्पोज ब्लक रहेका छन्।

एक्पिरियन्स अन्तर्गत आर्ट एण्ड क्राफ्ट, थारू कल्चर, यथ्निक कुजिन, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन्। सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ। यसअन्तर्गत थारू डबली, थारू बार छन्। थारू बारलाई ‘गदला मोद’ नाउँ दिइएको छ। थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो।

करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ। कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ। कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन्। अर्गानिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ। यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ। सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइनेछ।

भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ पनि हुनेछ, जहाँ कल्चरल ब्यांक्वेटिङ, सभा समारोह, बैठक, सांस्कृतिक प्रदर्शनी हुने फाउण्डेसनले जनाएको छ।भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको र १८ वटा स्थान छुट्याइएको फाउण्डेसनले जनाएको छ।

प्रकाशित मितिः     २५ फाल्गुन २०७७, मंगलवार १३:१३  |