नेपालगन्ज २७ फागुन : संघीय संरचना बनेपछि नेपालगन्जको भविष्यलाई लिएर छटपटी शुरु भएको थियो ।
सरकारी तथा गैरसरकारी कार्यालय एकपछि अर्को गर्दै प्रदेश राजधानीतिर तानिएपछि त झन् चिन्ताको पारो नै तात्तियो जुन स्वभाविक पनि थियो ।
नेपालगन्जका पूर्व मेयर एवं बरिष्ठ अधिवक्ता बिजय गुप्ता भन्छन्–‘नेपालगन्जको भविष्य कता जान्छन् भनेर त्यसबेला निकै चिन्ता व्यक्त गरिएको थियो । तर आफ्नै शक्तिमा उभिएको शहर भएकाले अब आफ्नै गतिमा फेरी अघि बढ्दै छ ।’
पूर्व मेयर गुप्ताको भनाईमा राज्यले नेपालगन्जलाई प्रशासनिक केन्द्र कहिल्यै बन्न दिएन ।
राजतन्त्र होस् चाहे गणतन्त्रका बेला सुगमता लागि प्रशासनिक प्रमुखहरु टुरमुकामका रुपमा नेपालगन्ज आउने गरेको भएपनि नेपालगन्जलाई प्रशासनिक केन्द्र बन्न दिइएको थिएन । गुप्ता भन्छन्–‘रातारात क्षेत्रीय कार्यालयहरु अन्यत्र सारेर अन्याय गरेको उदाहरण पनि छ ।
यहाँ त आफ्नो सुगमताका लागि हाकिमहरु टुरमुकाम बनाएर बस्ने गरेका थिए ।’
बरु नेपालगन्ज पश्चिमको आर्थिक केन्द्र भनेर सदावहार रहेको गुप्ता बताउँछन् । त्यसैले नेपालगन्ज आफ्नो क्षमता र सार्मथ्यले बनेको शहरका रुपमा स्थापित भएको गुप्ताले बताए । त्यसलाई थप अथ्र्याउँदै उनी भन्छन्–‘धेरै शहरहरु निर्माणमा राज्यको ध्यान गएको हुन्छ । उनीहरुले नै त्यस्ता शहर स्थापित गर्न लागेका हुन्छन् तर नेपालगन्ज निर्माणका विषयमा हुनुपर्ने चासो नभएको यहाँ महसुस हुन्छ ।’
तर अब भने नेपालगन्जको चार्म बढ्दै गएको यहाँका प्रतिष्ठित राजनीतिज्ञ पशुपति दयाल मिश्र बताउँछन् । ‘राज्यको दृष्टिकोणमा नपरेको सत्य हो तर त्यसो भन्दैमा निरास भएर बस्नु पनि भएन । त्यही महसुस गरेर नेपालगन्ज आफ्नै लयमा अगाडी बढ्दै छ ।’ मिश्र भन्छन्–‘निजीक्षेत्रले नेपालगन्जलाई चार्म बढाउने गतिविधि गरेका छन् ।’
औद्योगिकरणका क्षेत्रमा नेपालगन्जले फड्को मारेको छ । ठूला करकारखानाको संख्या दिनानुदिन बढेकाले नेपालगन्जको चार्म घट्ने सम्भावना नै नरहेको बताउँछन्, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ।
उनी भन्छन्–‘जुर्मुराएको छ नेपालगन्ज । यसका थुप्रै सम्भावनाका ढोकाहरु खुलेका छन् । यहाँको विकासका लागि फेरी पनि हामीले राज्यको ध्यानार्कषण गराउनुपर्छ ।’ नेपालगन्जको चार्म फर्काउन निजीक्षेत्रको ठुलो भूमिका रहेकोे मन्सुरीले बताए ।
नेपालगन्ज उपमहानगरपालिका महानगरको दौडमा छ । पश्चिममै पहिलो महानगर बन्ने दौडमा रहेको महानगरको डिपीआर समेत बन्दै छ ।