आयात /निर्यातमा नेपालगन्जले भोग्नुपरेका समस्या र समाधानका उपाय


नेपालगन्ज पश्चिमको आर्थिक राजधानीका रुपमा स्थापित छ । यसमा बैदेशिक व्यापारको हिस्सा सबैभन्दा अह्म रहेको छ ।

आयात अत्याधिक मात्रामा हुने गरेको भए पनि निर्यातको अवस्थामा भने सन्तोषजनक छैन । राज्यले निर्माण गर्ने गलत नीतिको परिणाम बैदेशिक घाटा व्यहोर्न हामी बाध्य छौ । यो घाटा कम गर्न निजीक्षेत्र एक्लैले केही गर्न सक्दैन ।

राज्यले निजीक्षेत्र मैत्री नीति बनाउनै पर्छ । ती नीतिका बारेमा थप छलफल गर्दै गरौला तर अहिले आयात निर्यातमा यहाँका उद्योगी, व्यवसायीले झेल्नुपरेका समस्याका बारेमा विवेचना गरौं ।

नेपालगन्ज उद्योग वाणिज्य संघले यस क्षेत्रका निकासी एवं पैठारीका समस्याका बारेमा सरोकारवाला उद्योगी, व्यवसायीहरुसंग छलफल गरेको छ । छलफलको निष्कर्षका बारेमा हामीले सरोकारवाला निकायलाई ध्यानार्कषण गराएका छौं । आशा छ समस्याको समाधान हुने
छ । बुँदागतरुपमा उद्योगी, व्यवसायीको छलफलबाट प्रकट भएका आयात निर्यातमा देखिएका समस्या यस्ता छन् –

१) प्रशोधन भई सकेको वस्तुमा पुनः छुट पुर्जी माग गर्ने व्यवस्था अव्यवहारिक रहेकोले तत्काल यो व्यवस्था खारिज गर्नुपर्ने ।

२) भारतीय प्लान्ट क्वारेन्टाईनको सूचीमा जटामासी मार्क सूचिकृत नभएको हुनाले सोको निकास गर्न सकिदैन अतः उक्त जटामासी मार्कलाई भारतीय प्लान्ट क्वारेन्टाईनमा सूचिकृत गर्नुपर्ने ।

३) वन विभागबाट जारी हुने छुट पुर्जीको झन्झिटिलो प्रक्रियाले गर्दा सानो परिमाणका जडीबुटीहरु उद्योगहरु सम्म पठाउन गाह«ो हुने भएकोले उपलब्ध जडीबुटीहरुलाई स्वदेशी उद्योगहरुलाई विक्री गर्न नसक्ने भएको हुँदा स्वदेशी आयुर्वेदिक औषाधीको उत्पादन मंहगो हुन जान्छ । अतः छुट पुर्जीको झन्झिटिलो प्रक्रियालाई सहजीकरण गर्नुपर्ने ।

४) प्लान्ट क्वारेन्टाईन कार्यालयमा तेस्रो मुलुकमा निर्यात हुने कुनै पनि वस्तुलाई Fumigation गर्ने सुविधा दक्ष जनशक्तिबाट अविलम्ब उपलब्ध गराउनु पर्ने ।

५) नेपालमा उत्पादित खाद्य वस्तु जस्तै सूठो, बेसार, तेजपता, दालचिनी, अदुवा, इत्यादि भारत निकासी गर्दा नेपालको खाद्य प्रविधि प्रयोगशाला (खाद्य अनुसन्धान विभाग) बाट गुणस्तर प्रमाणितको प्रमाण–पत्रलाई भारत सरकारद्धारा मान्यता दिइएको भएता पनि नेपालको खाद्य प्रविधि प्रयोगशालाले नेपालका खाद्य वस्तुलाई प्रमाणित नगरिदिदाँ निकासी गर्न समस्या रहेको छ ।

६) उद्योगीद्धारा उत्पादित वस्तुलाई उद्योग विभागले प्रमाणित गरिदिदाँ उद्योगीले Export Incentive  पाउने तर कुनै वाणिज्य विभागमा दर्ता रहेका निकासीकर्ताले गर्ने निर्यातलाई उद्योग विभागबाट प्रमाणि नगरिदिदाँ निकासी कर्ताले Export Incentive नपाउने । तसर्थ वाणिज्य विभागमा दर्ता रहेका निकासीकर्ताले पनि यो सुविधा पाउने पर्ने ।

आयात निर्यातका क्रममा नेपालगन्जका उद्योगी, व्यवसायीले वर्षौदेखि झेल्नुपरेका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्छ । त्यस विषयमा हामीले निरन्तर ध्यानार्कषण गराइरहनुपर्नेछ ।

प्रकाशित मितिः     १३ चैत्र २०७७, शुक्रबार १३:२४  |