बाँकेमा स्वास्थ्यको कालोबजारी खोतल्दै बजार अनुगमन समिति


नेपालगन्ज २८ बैशाख : स्वास्थ्यक्षेत्रमा हुने कालोबजारीको चर्चा हुने भएपनि त्यसलाई कानूनी दायरामा ल्याउन नसकिएको गुनासोहरु बढ्दै गएका छन् ।

कोरोनाको महामारीमा समेत ठगी हुने क्रम बढेपछि बजार अनुगमन समितिले स्वास्थ्यमा हुने कालोबजारी खोतल्न थालेको छ । त्यसको उदाहरण हो- सोमवार नेपालगन्जमा एउटा औषधी पसललाई २ लाख जरिवाना ।

नेपालगन्ज मेडिकल कलेज भित्र सन्चालित गौतम बुद्ध नेपालगन्ज फार्मेसीलाई रु २ लाख जरिवाना गरिएको छ ।

२१ भाएल रेम्डिसिभिर बिना बिल बिक्री वितरण गरेको पाइएपछि सोमवार गएको वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले जरिवाना गरेको हो ।

वाणिज्य कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईका अनुसार, चैत्र र बैशाख महिनामा गरि जम्मा ७०७ भाएल रेम्डिसिभिर आएको थियो ।


त्यसमध्ये ३६६ कोहलपुर पठाइएको, २५८ भाइल बिक्री गरिएको, ५१ भाएल हस्पिटल र फार्मेसी स्टाफहरुलाई दिइएको, ११ भाएल स्टक रहेको देखिएको छ ।

तर २१ भाएल रेम्डिसिभिर बिना बिल बिक्रीवितरण गरेको पाइएकोले तत्काल रु २ लाख जरिवाना गरिएको छ ।

नेपाल औषधी व्यवसायी संघ बाँकेका अध्यक्ष बसन्त शर्माले कालोबजारी जस्ता कार्यमा संलग्न हुने व्यवसायीलाई कानूनी कारवाहीका लागि सघाउने बताएका छन् ।

प्रकाशित मितिः     २८ बैशाख २०७८, मंगलवार ०६:३४  |
error: Content is protected !!