बिक्री छैन तर निषेधाज्ञामै सस्तियो डन्डीको भाउ


 

काठमाडौं। निषेधाज्ञाको समयमै किलोको ११३ रुपैयाँसम्म पुगेको डन्डीको भाउ किलोमै १० रुपैयाँ सस्तिएको छ। अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ र स्थानीय बजारमा माग नभएपछि डन्डीको भाउ सस्तिएको हो।

अहिले अम्बे, जगदम्बा, लक्ष्मी, समृद्धि डन्डीको उपभोक्ता मूल्य ९६ रुपैयाँमा झरेको छ। पञ्चकन्या, हिमालको उपभोक्ता मूल्य १ सय १० रुपैयाँमा झरेको छ। डेढ महिना अघि निषेधाज्ञासँगै अक्सिजन सिलिन्डर नभएपछि उद्योग बन्द हुँदा अम्बे, जगदम्बा, लक्ष्मी र समृद्धिको उपभोक्ता मूल्य भाउ १ सय ६ रुपैयाँसम्म पुगेको थियो।

अम्बे स्टीलका निर्देशक शिवाज न्यौपानेले अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ घटेकाले डन्डीको मूल्य घटेको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ टनमा ८० डलरसम्म घटिसकेको छ। यो अझै घट्ने क्रममा छ,’ उनले बिजमाण्डूसँग भने, ‘टनको ६ सय डलर नाघेको बिलेटको भाउ अहिले ५ सय ३८ सम्म आइसकेको छ।’

उनका अनुसार वर्षातका कारण विकास निर्माणका काम नहुने भएकाले अन्तर्राष्ट्रिय बजारमा समेत बिलेटको भाउ घटेको हो। ‘अहिले चीनमा समेत बिलेटको डिमान्ड छैन। भारतमा पनि वर्षातका कारण विकास निर्माण रोकिएका छन्। त्यही भएर बिलेटको भाउ ‌ओरालो लागेको हो,’ न्यौपानेले भने। यो आधारमा डन्डीको भाउ अझै ओरालो लाग्ने देखिएको छ।

मूल्य ओरालो लागेपनि स्वदेशी बजारमा पनि डन्डीको माग भने अत्यन्तै न्यून छ। शिवाजका अनुसार माग कम भएकाले उद्योग क्षमताभन्दा कम चलेका छन्। ‘वर्षातमा विकास निर्माण कम हुने भएकाले डन्डीको माग धेरै कम छ। त्यही भएर हाम्रो उद्योग पनि पूर्ण क्षमतामा चलेका छैनन्,’ उनले भने, ‘भैरहवामा रहेको अम्बे स्टील ६० प्रतिशतको हाराहारीमा चलेको छ।’ अहिले अधिकांश डन्डी उद्योग ५० प्रतिशतको हाराहारीमा मात्रै चलेका छन्। कतिपय उद्योग १५ दिन चलाउने र १५ दिन बन्द गरिरहेका छन्।

कोभिडको पहिलो लहरपछिको जस्तो भएन व्यापार

कोभिडको पहिलो लहर कम भएर लकडाउन खुलेपछि डन्डीको कारोबार मालामाल भएको थियो। त्यो बेलामा सबै डन्डी उद्योग पूर्णरूपमा चलेका थिए। कोभिडका कारण थला परेका डन्डी उद्योगलाई रिकभर गर्न सहज भएको थियो।

तर कोभिडको दोस्रो लहरमा भने डन्डी उद्योगलाई सहज भएन। निषेधाज्ञा खुलेर विकास निर्माण अघि बढ्ने बेलामा बर्खा सुरु भएकाले डन्डीको माग अत्यन्तै न्यून भयो।

‘कोभिडको पहिलो लहरमा धेरै डन्डी उद्योगले राम्रै कमाएका थिए। तर वर्षात सुरु भइसकेकाले निषेधाज्ञा खुलेपछि डन्डीको माग नै भएन। त्यही भएर अहिले डन्डी उद्योगले पहिलाको जस्तो नाफा गर्न पाएनन्,’ काठमाडौंका एक हार्डवेयर व्यवसायीले भने।

प्रकाशित मितिः     १८ असार २०७८, शुक्रबार १३:२३  |