तीन महिनादेखि तलव नपाएका अस्पतालका कर्मचारी भन्छन् -हाम्रो परिवार कस्ले पाल्ने ?


नेपालगन्ज २ साउन :  नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब नखुवाएको भन्दै आज देखि आन्दोलित भएका छन् ।

कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरिरहेको अवस्थामा अहिलेसम्म बैशाख देखि तलव नखुवाएकोले बाध्य भएर आन्दोलन गर्नु परेको उक्त संस्थामा कार्यरत कर्मचारी कृष्ण बहादुर बुढाले बताए ।

उक्त संस्थामा रहेका ट्रेड युनियनहरु र संस्थाले प्रत्येक महिना बितेको ५ दिन भित्रमा तलव खुवाउने भन्ने लिखित सहमति गरिएकोमा संस्थाले त्यसलाई लागू नगरेको नर्सिङ अधिकृत सुमन गिरीले बताइन् ।

मेडिकल कलेजमा रहेका तिनवटा ट्रेड युनियनहरुले व्यवस्थापन पक्षसँग तलव वृद्धि लगायतका मागहरू राखि ७ बुदे मागपत्र असारको ९ गते बुझाएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खानले बताए ।

आज भोकभोकै कामगर्न नसकिने भन्दै स्वस्फूर्त रुपमा कर्माचारीहरु आन्दोलित भइ लेखाशाखा, प्रशासन शाखा र प्रवन्धक सञ्चालकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

प्रकाशित मितिः     २ श्रावण २०७८, शनिबार १६:००  |