लकडाउनले सबैभन्दा धेरै प्रभावित बाँकेको पर्यटन क्षेत्र कसरी ब्यूँतिएला ?


नेपालगन्ज ३ साउन : लामो लकडाउन व्यहोरेको बाँकेका पर्यटन एवं होटल क्षेत्र अब कसरी ब्यूतिएला ? व्यवसायीहरु अन्यौलमा छन् । तर लकडाउन हट्दै जाँदा होटल एवं रेष्टुरेन्टक्षेत्र बिस्तारै चलयामान बन्न खोजिरहेका छन् । पछिल्लो समय बाँकेमा सबैभन्दा धेरै लगानी होटल एवं रेष्टुरेन्ट क्षेत्रमा भइरहेको थियो ।

तर त्यसलाई कोरोना कहरले सबैभन्दा धेरै प्रभावित बनाएको छ । यसरी प्रभावित भएपछि स्थानीयस्तरमा सम्भव हुने करमा छुट दिन होटेल व्यवसायीहरुले नेपालगन्ज उपमहानगरपालिकासँग माग गरेका छन् । होटेल व्यवसायी संघ बाँकेले मेयर डा। धवलशमशेर राणालाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

कोरोना महामारीपछि सबैभन्दा बढी मारमा होटेल तथा पर्यटन व्यवसायीहरु परेको बताउँदै संघले व्यवसायीहरु पलायन हुने अवस्था आएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कतिपय व्यवसायीहरु विस्थापित भइसकेका छन् भने कतिपय होटल व्यवसायीहरु ऋणको भार बोकेर अल्झिरहेको अवस्था छ ।’

संघका अध्यक्ष भीमलाल कडेलले बुझाएको ज्ञापनपत्रमा कोरोनाको पहिलो लहरको असरबाट उठ्न नपाउँदै दोस्रो लहरका कारण व्यवसाय छेदच्छिेद भएको उल्लेख छ । सोही कुरालाई ध्यानमा राखेर संघीय सरकारको बजेटमा कोरोनाबाट प्रभावित व्यवसायको इजाजत पत्र तथा नविकरण दस्तुर नलिने व्यवस्था गरिएको संघले स्मरण गराएको छ ।

हालको अवस्थामा होटल व्यवसायीहरुले बैंकको किस्ता र घरभाडासमेत तिर्न नसकी थप व्यवसायीहरु पलायन हुनसक्ने अवस्थातिर ध्यानाकर्षण संघले गराएको छ । सबै पक्षलाई मध्यनजर गरेर नगरपालिकाले होटेल व्यवसायबाट लिने कर छुट गर्न माग गरिएको अध्यक्ष कडेलले जानकारी दिए ।

संघले होटेलमा काम गर्ने कर्मचारीहरुलाई खोपको समेत व्यवस्था मिलाउन अनुरोध गरेको छ भने व्यवसायीलाई सीपमूलक तालीम र कोभिड स्वास्थ्य सम्बन्धि तालीमको लागि पनि बजेटको व्यवस्था गर्न अपिल गरेको छ । ज्ञापनपत्र बुझ्दै मेयर राणाले व्यवसायीका समस्या सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएका छन् । होटल एवं पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्न खोजिरहेको छ ।

प्रकाशित मितिः     ३ श्रावण २०७८, आईतवार ११:२०  |