लकडाउन र बर्षात झेल्दै यसरी भइरहेको छ नेपालगन्ज आइसीपीको काम ( हेर्नुहोस् तस्विर)


  • माधव खत्री

नेपालगन्ज : वर्षात र लकडाउनका कारण नेपालगन्जस्थित नेपाल –भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य प्रभावित बनेको छ । फुलफेजमा काम हुन नसकेको भए पनि ठप्प भने भएको छैन । हालसम्म लिंकरोड, आईसीपीका लागि आवश्यक पर्खाल, जग खन्ने जस्ता कामहरु सम्पन्न भइसकेका छन् । अन्य कामहरु पूर्णक्षमतामा हुनसकिरहेको थिएन ।

आइसीपीको प्रत्यक्ष निगरानी गर्ने निकाय नेपाल इन्टरमोडल यातायात विकास समितिको तर्फबाट इन्जिनियर जीवन ढकालले साईटभिजिट गर्नुभएको छ । लकडाउन र वर्षातका कारण दुर्तगतिमा काम हुन नसकेको उहाँले जानकारी दिनुभयो । यद्यपी आइसीपी र सुर्खेतरोड जोड्ने सडक जस्ता महत्वपूर्ण आधारभुत संरचना तयार भएको ढकालले बताउनुभयो । पूर्वाधार निर्माणका अन्य कामहरु अहिले भइरहेका छन् ।

आइसीपीका लागि नेपाल सरकारले भारतको रुपैडिया नाकासँग जोडिएको साढे ९० बिघा जग्गा अधिग्रहण गरी गरेको छ ।

आइसीपी निर्माणका लागि नेपाल सरकारले गर्नुपर्ने सम्पूर्ण काम पूरा गरेको पाँच वर्षपछि भारत सरकारले निर्माणको प्रकृया अघि बढाएको हो । भारत सरकारको सहयोगमा २ अर्ब ३५ करोड रुपैयाँ लागतमा आइसीपी निर्माण हुनेछ । निर्माण २ वर्षमा पुरा गर्ने लक्ष्य राखिएको छ ।

एकीकृत भन्सार जाँच चौकी परिसरमा भन्सार कार्यालयका साथै पशु क्वारेन्टाइन, अध्यागमन, बैंक, खाद्य प्रविधि, प्लान्ट क्वारेन्टाइन लगायत कार्यालयका साथै एक हजारभन्दा बढी मालबाहक ट्रक पार्किङ गर्ने याडसमेत निर्माण हुनेछन् ।

एकीकृत भन्सार जाँच चौकी निर्माण भएपछि मालवाहक सवारीसाधन जाँचपासमा सहज हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधि लगायतका काम छिटो र व्यवस्थित हुनेछन् । आइसीपी निर्माणमा ढिलाइ हुँदा अहिले सडकको दुबै किनारामा मालबाहक गाडी राखेर भन्सार जाँच पास हुँदै आएको छ ।

जाँच चौकीका लागि सरकारले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा जग्गा अधिग्रहण गरी मुआब्जावापत नौ करोड चार लाख रुपैयाँ वितरण गरिसकेको छ । आइसीपी निर्माणपछि दुई देशको ब्यापार सहज र व्यवस्थित हुने नेपाली अधिकारीको विश्वास छ ।

भारतले नेपालगन्जसंग सीमा जोडिएको रुपैडियामा २०७५ पुस ३० गतेदेखि नै भन्सार जाँच चौकी निर्माण गरिरहेको छ । करिब २ अर्ब लागतमा सिमावर्ती भारतीय क्षेत्रमा अत्याधुनिक सुविधायुक्त जाँच चौकी निर्माण भइरहेको छ । प्रशिक्षार्थी

प्रकाशित मितिः     ७ श्रावण २०७८, बिहीबार १५:०७  |