भेरी अस्पतालको गौरबमय १३१ वर्ष : जहाँ हजारौं सर्बसाधारणदेखि प्रधानमन्त्रीसम्मले उपचार पाए


नेपालगन्ज :  भेरी अस्पताल १३१ वर्षमा प्रवेश गरेको छ । अस्पतालको स्थापना दिवशको अवसर पारेर मंगलवार भब्य कार्यक्रम गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए । स्थापना दिवश मनाउन सोमवारबाटै अस्पताललाई सजनाइएको छ । पश्चिमको सबैभन्दा पुरानो अस्पताल भएका कारण पहिलो पटक यसरी भब्यरुपमा स्थापना दिवश मनाउन लागिएको हो ।

साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको करिब ३० लाख गरि जम्मा ६९ लाख जनसंख्याको प्रमुख आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेपालगञ्ज स्थीत भेरी अस्पताल बि.सं.१९४७ (अर्थात आज भन्दा १३० बर्ष अगाडी) मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रशूती गृह नामाकरण भई बि.सं.२०२१ सम्म चलेको र त्यस पश्चात बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको यस अस्पतालका लागी शुरुमा ५० बेड स्वीकृत भएको थियो ।

२०४३ सालमा १०० बेड र हाल बिकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचाल्न भईरहेको अवस्थामा मिति २०६१ भाद्र २९ च.नं. २।१९०९ को पत्रानुसार १०० शैया बाट बृद्धि गरि २०० शैया क्षमतामा संचालन गर्न अनुमती प्राप्त भएको भएता पनि आर्थिक अभावका कारण संचाल्न गर्न नसकिएकोले हाल सम्म १५० शैया क्षमता मै अस्पताल संचालन भईरहेको अवस्था बिधमान छ ।

देश संघिय संरचनामा गए पछि केही समय भेरी प्रादेशीक अस्पताल नामाकरण भई प्रदेश नं.–५ अन्तर्गत राखिएको यस अस्पताललाई नेपाल सरकारको निर्णय अनुसार संघ अन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल राखिएको छ ।

बिभिन्न आरोह अवरोध झेलेको भेरी अस्पतालमा पश्चिममा हजारौं सर्बसाधारणले मात्र होइन तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी लगायत मन्त्रीपरिषदका अन्य सदस्यहरुले समेत उपचार सेवा लिएका छन् । २०५२ सालमा बाढी प्रकोपको निरीक्षण गर्न प्रधानमन्त्री अधिकारी बामदेव गौतम लगायत उच्च पदस्थ सरकारी अधिकारीको टोली पश्चिम आएको थियो ।


फर्किने क्रममा प्रधानमन्त्री चढेको हेलिकप्टर राप्तीसोनारी गाउँपालिकास्थित राप्तीनदीको बगरमा खसेको थियो । त्यसको चोटबाट थलिएका प्रधानमन्त्रीलाई तत्कालै उपचारका लागि भेरी अस्पताल ल्याइयो ।

काठमाण्डौं लैजान सम्भव नभएपछि एकरात प्रधानमन्त्री लगायत बिशिष्ट व्यक्तिहरुको उपचार भेरी अस्पतालमै गराइएको बताउँछन्, नेपालगन्जका बरिष्ठ पत्रकार सिराज खान । उनी भन्छन्–‘त्यतिबेला समेत प्रधानमन्त्री लगायत बिशिष्ट व्यक्तिहरुको उपचार गर्ने हैसियत राख्थ्यो भेरी अस्पतालले । डा. एम किदवाई प्रमुख हुनुहुन्थ्यो रातभर अस्पतालले राम्रै उपचार गरेको थियो ।’ एकरात उपचार गरेपछि प्रधानमन्त्री लगायत अरुलाई काठमाण्डौं रेफर गरिएको थियो ।

कर्मचारी र पूर्वाधार अभाव झेलिरहेको भेरी अस्पताल अब भने बिस्तारै सम्पन्न हुने तरखरमा छ । सरकारले पनि बिशेषज्ञ सेवा दिने अस्पतालका रुपमा यसलाई विकास गर्ने तयारी गरेको छ ।

 

 

प्रकाशित मितिः     ११ श्रावण २०७८, सोमबार २१:२६  |
error: Content is protected !!