आर्कषक ‘टुर प्याकेज’ सहित बुद्ध एयरको नेपालगन्ज–पोखरा उडान शुरु


नेपालगन्ज १८ साउन :  ‘बुद्ध एयरको उडान नं. ४६२ बाट नेपालगन्ज हुँदै पोखरा जाने यात्रु तयार भएर बस्नुहोला ।’– राँझा बिमानस्थलमा आईतवार यस्तो एनाउन्स सुनिएसंगै बर्षौदेखि प्रतिक्षारत नेपालगन्ज–पोखरा उडान शुरु भएको छ ।

पर्यटन प्रर्बद्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई भब्य स्वागत गरिएको छ ।
अबिर र गम्छा सहित स्वागत गर्न पर्यटन प्रर्बद्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवाहरु एयरपोर्ट पुगेका थिए ।

उडानको शुरुवात भएको सन्तोष व्यक्त गर्दैै उनीहरुले यात्रु, बिमानका पाईलट सहितका कर्मचारीलाई स्वागत गरे । पर्यटन प्रर्बद्धन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जलाई पर्यटनक्षेत्रको हब बनाउन यो उडान कोशेढुङ्गे सावित हुने बताए ।

पर्यटन प्रर्बद्धनका सक्रिय नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले उडानलाई दिगो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । होटल व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, नेपालगन्जका अध्यक्ष भिम कँडेल, अग्रज व्यवसायी सन्जय थापाले सबै सहयोगबाट उडानलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।

बुद्ध एयरले उडानसंगै टुर प्याकेज समेत सार्वजनिक गरेको हो । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए ।

नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले जनाएको छ ।

भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ ।


यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँके शाखाले गण्डकी शाखाको सहकार्यमा सुरुवातमा चार्टड उडान सुरु भएकोमा अबदेखि नियमित उडान सुरु हुन लागेको हो ।
नेपालगञ्ज–पोखरा उडान नियमित भएपछि भारतीय पर्यटक नेपालगञ्ज हुँदै पोखरा सम्म जान सहज हुने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ, नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भने,– यसबाट नेपालगञ्जको आर्थिक विकासमा समेत सहयोग पुग्नेछ ।
बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ । योजना रु १० हजार ९ सय ९९ बाट शुरु हुन्छ । त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना रु १३ हजर ४ सय ९९ बाट शुरु भएको छ ।

 

प्रकाशित मितिः     १७ श्रावण २०७८, आईतवार १३:३७  |
error: Content is protected !!