नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि २ लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गर्ने निणर्य गरेसंगै व्यवसायीमा उत्साह थपिएको छ ।
त्यसको कार्यान्वयनपनि शुरु भइसकेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
मन्सुरीका अनुसार वीमाको योजना पछि नयाँ दर्ता गर्ने र नवीकरण गर्न आउनेको संख्या बढेको छ । संघमा आवद्ध सदस्यहरुका लागि आगामी आव २०७८र०७९ साउन १ गतेदेखि नयाँ सदस्यता लिने तथा नविकरण गर्ने सदस्यताहरुका हकमा सामूहिक दुर्घटना बिमा वापत दुई लाखको बिमा गर्ने निणर्य गरेसंगै सोको कार्यान्वयन भइसकेको संघका महासचिव चिरन्जीवी ओलीले जानकारी दिए ।
दुर्घटनापश्चात् औषाधी उपचार खर्च वापत एक पटकमा अधिकतम् बिस हजार रुपैयाँ बराबरको औषाधी उपचार खर्च दाबी गर्न पाउने गरी बिमाको व्यवस्था गर्ने संघले निणर्य गरेको उनले बताए । महासचिव ओलीका अनुसार मोफसलका संस्थाहरुमा सम्भवतः पहिलो पटक सामूहिक बिमाको व्यवस्था हुन लागेको हो ।
महासचिव ओलीका अनुसार संघमा आवद्ध सदस्यहरुको हकमा कोभिड-१९ अतिप्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग लगायतका पर्यटन व्यवसाय, चलचित्र उद्योग, हस्तकला उद्योग, विज्ञापन सेवा, टेलरिङ, ब्यूटीपार्लर, हेल्थ क्लब जस्ता व्यवसायले श्रावण १ गते देखि संघको प्रवेश र नविकरण शुल्कमा ७५ प्रतिशत छुट दिने निणर्य गरिएको छ ।
संघले अन्य उद्योगी, व्यवसायीहरुका हकमा श्रावण १ गतेदेखि असोज मसान्तसम्म ३५ प्रतिशतसम्म प्रवेश र नविकरण शुल्कमा छुट दिने भएको छ ।
अध्यक्ष मन्सुरीले नविकरण छुट र वीमाबाट उद्योगी, व्यवसायीले राहात महसुस गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भइपरी आउने जोखिमको अन्त्य गर्नका लागि बिमा प्रभावकारी हुने उल्लेख बताए ।