करोडौको लगानीमा बाँकेमा एकसाथ तीनवटा फनपार्क खुले । तारे होटलमा लगानीको लहर चलेका बेला पश्चिम नेपालमै पहिलो पटक त्यो पनि तीन–तीनवटा फनपार्क खुल्दा मनोरन्जन उद्योगको क्षेत्रमा बाँकेले कायापलट गरेको धेरैको ठम्याई छ । भाटभटेनी जस्ता सुपरमार्केट, क्यूएफएक्स जस्ता फिल्म हल सन्चालनमा छन् भने यस क्षेत्रकै चर्चित चिकित्सक डा. प्रकाश थापाका सुपुत्र डा. राहुल थापाले अर्को
अत्याधुनिक सुविधा सम्पन्न फिल्म हलमा लगानी गरेका छन् । निकट भविष्यमै सन्चाल हुने उक्त फिल्म हललाई अझ उत्कृष्ट बनाउन लागिपरेका डा. थापा भन्छन्–‘मनोरन्जन उद्योगले नेपालगन्जमा मान्छेको फ्लो बढाउने निश्चित छ । स्वदेशबाट मात्र होइन भारतबाट समेत दर्शकहरु आउने वातावारण बनाउँछौ ।’
आर्थिक क्षेत्रमा उत्साहित नेपालगन्जको मुख्य चिनारी ‘टे«ड बिजनेश’ नै हो । बिदेशबाट सामान आयात गर्ने र जडिबुटी लगायतका सामाग्री भारत निर्यात गर्नमै निर्भर रहेको बाँकेको आर्थिक क्षेत्र अब भने उत्पादनमुखी बन्दै गएको छ । जसमा पछिल्लो समय मनोरन्जन एवं सेवामुलक क्षेत्रले फड्को मार्दै छ । उत्पादनमुखी उद्योगको आर्कषक बढेको छ नै । नेपालगञ्जलाई ‘पश्चिम नेपालकै आर्थिक राजधानी’ बनाउनुपर्छ भन्दै उठेका आवाजलाई उद्योग सञ्चालनको यस्तो आर्कषणले थप सशक्त बनाउने देखिन्छ ।
यद्यपी कुनै नीतिगत निर्णय बिना उद्योगको संख्या बढेकै आधारमा ‘आर्थिक राजधानी’ बनिहाल्छ भन्ने होइन । त्यसका लागि सुरुवात भने पक्कै भएको छ । प्रशासनिक र राजनीतिक शक्ति गुमाउँदा पीडाबोध गरिरहेको नेपालगञ्जका लागि उद्योग, कलकारखाना खोल्न क्रम बढ्दै जानुले उत्साह भने थपेको छ । राजनीतिबाट थेचिएको भएपनि नीजीक्षेत्रबाट भने उकासिएको छ नेपालगन्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ठूला उद्योग स्थापना हुनु बाँकेका लागि उत्साहजनक कुरा भएको बताउँछन् । उनी भन्छन्,–‘बाँके लगानीका लागि उर्बर ठाउँ हो भन्ने कुरा प्रमाणित भएको छ ।’
उद्योग बिभागका अनुसार २०४७ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग थपिए । बाँकेमा केएल दुगड, जय अम्बे स्टील जस्ता ठूला उद्योगहरु सन्चालनमा छन् द्वन्द्वकालमा बाँकेले गुमाएका पुराना उद्योग पुनस्र्थापना भएको र नयाँ स्थापना हुनेक्रम तीव्र गतीमा बढेको अध्यक्ष मन्सुरीको बुझाईछ । स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् ।
‘राजनीतिक स्थिरता र उर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ उनी भन्छन् । बाँके जिल्ला लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र
सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा बाँके भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए । ‘अहिले अवस्था सुध्रिएको छ । एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली भन्छन्, ‘यो वातावरणलाई संधै यस्तै बनाईराख्न जरुरी छ ।’
बाँके जिल्लामा स्टील उद्योगको आर्कषण नै देखिएको छ । देशकै सबैभन्दा ठूलो औद्यागिक समूह जय अम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु. चार अर्व १५ करोड चुक्तापुँजी सहित उद्योग संचालनको तयारी गरिरहेको छ । त्यस्तै सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु. २४ करोड चुक्ता पुँजी सहित उद्योग स्थापना गरेको छ । उद्योग बिभागका अनुसार, दर्ता भएका सात मध्ये नेपाल वेलहोप एग्रीटेक प्रालिको चितवन पछिको दोस्रो शाखा हो ।
चितवनमा रहेको उद्योगले कोहलपुरमा रु. २४ करोड लगानी गरे उद्योग संचालनमा ल्याइसकेको छ । उक्त उद्योगले दानाहरु उत्पादन गर्दै आएको छ । बाँकेमा रु. २४ करोड लगानीमा भिएमआई ग्रुप अन्तर्गत बर्षा रिसाईक्लिङ्गले प्रेसर कुकुर उत्पादन गर्दै आएको
छ । त्यस्तै विकास फ्लोर मिलले रु. २ करोड ४५ लाख लगानी गरेको छ । संघीयता पछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ति दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने बस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नै पर्ने बाध्यता भएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिक जसो हरेक उत्पादनको बजारक्षेत्र बढ्दै गएको छ । विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ । पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिदैछ । त्यस्तो अवस्थामा पूर्वमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी धेरै रकम खर्चिनु भन्दा यही उद्योग खोलेर उत्पादन गर्नु उद्योगीका
लागि दीर्घकालिनरुपमा फाईदाजनक हुने देखेर उद्योगीहरु बाँकेका विभिन्न स्थानमा उद्योग स्थापना गर्न तम्सिएको शिखर प्लाईउड प्रालिका प्रोप्राइटर चम्पालाल बोथराले बताए ।
ठूलो स्केलमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग संचालनका लागि रोजेको उनले बताए । ‘बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहजरुपमा जग्गा प्राप्त गर्न सकिने हो,’ उनले भने, ‘अन्य ठाउँभन्दा सहजरुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।’
भारतसंग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकोले बाँकेलाई उद्योगीले रोज्न थालेको छन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल संचालनमा आए त्यसले आयात निर्यातमा समेत फाइदा पुग्ने दूरदृष्टि राखेर यहाँ उद्योग संचालन गर्न उद्योगीहरु बाँकेलाई उपयुक्त स्थानको रुपमा देखिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई मध्यनजर गरि सरकारले बाँकेको नौवस्तामा लुम्बिनी सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ ।