भ्याट विवरण बुझाउने समय भदौ ३१ गतेसम्म थप


नेपालगन्ज । मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताले साउन महिनाको कर विवरण २५ भदौभित्र आन्तरिक राजस्व विभागमा बुझाउनुपर्छ । तर, यस पटक विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका वा विभागले तोकेका करदाताले प्राविधिक कठिनाइका कारण २०७८ साउन महिनाको विवरण पेश गर्न नसकेको गुनासो गरेका छन् ।

प्राविधिक कारणले बिक्री खाता र खरिद खाता विद्युतीय माध्यमबाट अपलोड गर्न नसकेका र भ्याट विवरण बुझाउन नसकेका करदाताले यो अवधिभित्रै विवरण पेश गर्न सक्ने भएका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार २५ भदौभित्र पनि विवरण बुझाउन नसक्ने करदाताले भने साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्नुपर्ने भएको छ । सो अवधिसम्म पनि नबुझाएमा भने तोकिएअनुसार जरिवाना हुने विभागले जनाएको छ ।

विभागले बिक्री तथा खरिद खाता अपलोड गर्न समस्या भएका करदाताका लागि खाताको नमुना नै परिवर्तन गरी नयाँ ढाँचा आन्तरिक राजस्व विभागको वेबसाइटमा राखेको छ । अब करदाताले नयाँ ढाँचाका खाता डाउनलोड गरी ३१ भदौभित्र विद्युतीय माध्यमबाटै अपलोड गर्नुपर्ने गरी निर्माण भएको विभागले जानकारी गराएको छ ।

यसअघि एक्सेल सीट तयार गर्दा वस्तुको परिमाण र मापन गर्ने इकाई एकै महलमा उल्लेख गर्ने गरेको, मिति उल्लेख गर्दा ‘वर्ष।महिना।दिन’ ढाँचामा हुनुपर्नेमा अन्यथा भएको, कुल जोड जम्मामा पनि प्राविधिक कठिनाइ भएको र करदाताको इन्टरनेट ब्याण्डविथ कम भएका कारण समेत बिक्री तथा खरिद खाता अपलोडमा समस्या देखिएको विभागले जनाएको छ ।

प्रकाशित मितिः     २४ भाद्र २०७८, बिहीबार १९:४७  |