नेपालगन्ज । यती एयरलाइन्स मंगलबारबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । २१ सेप्टेम्बर, १९९८ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।
नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ अनोज रिमालले जानकारी दिए ।
‘यती एयरलाइन्स र तारा एयरका साहसी पाइलट एवमं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार संघ–संस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले यती एयरलाइन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो, यसका लागी हामी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दर्छौं,’ सीईओ रिमालले भने ।
२४ वर्षे यात्रासँगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेको ५ वटा विमान बिक्री गरेको हो ।
यती एयरलाइन्सले २३ औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडानसम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौंलाले उपयुक्त भाडादर, झन्झट रहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाइमा पर्न सफल भएको बताए ।
‘बिरामी, अपांगता वा फरक क्षमता भएका यात्रु महानुभाव, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखी सुरक्षित रुपमा गन्तव्यमा पुर्याइ सन्तुष्ट सेवा प्रदान गर्दै आएका छौं,’ उनले भने ।
यती एयरलाइन्स नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल एयरलाइन्स हो । वातावरण संरक्षणमा यती एयरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौलाको भनाइ छ ।
यतीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न निकायहरुको सहकार्यमा सगरमाथा सफाइ अभियानमार्फत सगरमाथालगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहोर एयरलिफ्ट गरिसकेको छ । यस्तै, विभिन्न जिल्लमा २ लाख ७२ हजार ६ सयवटा बिरुवा वृक्षरोपण गरिसकेको छ ।
वायुयानभित्र प्लास्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ । हवाई र पर्यटनमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि यतीको विशेष योगदान रहेको छ, विशेषगरी क्रिकेट, फुटबल र गल्फमा पनि यती एयरलाइन्सको प्रत्यक्ष योगदान रहेको छ ।
आगामी वर्षमा वायुयानको संख्या थप गर्ने, नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, थप रोजगारी सिर्जना गर्ने, चार्टर उडानमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याई हवाई सेवालाई परिस्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरु ल्याउने तथा सामाजिक उत्तरदायित्वहरुलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाको भनाइ छ ।
यतीले हाल पाँचवटा एटीआर विमानमार्फत नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एयरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।