नेपालगञ्ज, पुस १५ गते । भेरी अस्पतालको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले दिनु भएको जानकारी अनुसार उनिहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
उहाँले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उहाँको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको पाईएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीसंगै घटनास्थलमा रहनु भएका प्रजिअ खत्रीले घट्नाका बारेमा अनुसन्धान भैरहेको जनाउँदै मृत्युको कारण पोष्टमार्टमको रिपोर्टपछि मात्रै आउने बताउनुभयो ।
एउटै कोठामा बसेका उनीहरुले राती आगो बालेर कोठाका सबै झ्याल ढोका बन्द गरेर सुतेको देखिएकोले निसासिएर मृत्यु भएको बढी आशंका गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार स्टोरको कर्मचारीले आवश्यक काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले बताउनुभयो । संगै कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा थिए ।
उनीहरुको भेरी अस्पतालमै उपचार भइरहेको छ ।
भट्टराईकी श्रीमती, ३ बर्षीय छोरा र बहिनीको उपचार भइरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताउनुभयो ।
घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांँकेको प्राबिधिक तथा प्रशासनिक टिमले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहित परिचालन गरेर अनुसन्धान अगाडी बढाएको छ ।