नेपालगञ्ज । नेकपा एमाले बाँकेको जिल्ला कमिटी अन्ततः अध्यक्ष मण्डलले प्रस्ताव गरे अनुसार नै चयन भएको छ । लामो कसरतपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
अध्यक्ष मण्डलले हिजो नै अध्यक्षमा किष्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्ली विसी, सचिवमा रत्न खत्री र उपसचिवमा भूमीसरा धिताल र दिपक बर्माको नाम प्रस्ताब गरेको थियो ।
तर, प्रस्तावित बाहेकका आकांक्षीले पनि उम्मेदवारी दर्ता गराएपछि सहमति जुट्न सकेको थिएन । आज दिनभरको प्रयासबाट अध्यक्ष मण्डलकै प्रस्ताबले मूर्तरुप पाएको हो । अध्यक्षमा उम्मेदवारी दर्ता गराएका निरक गुरुङ र अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिएपछि कक्षपति अध्यक्ष चुनिएका हुन् ।
उपाध्यक्षमा विसी हिजै निर्विरोध भइसकेका थिए । सचिवमा उम्मेदवारी दिएका बलराम भट्टराई र भिम वलीले उम्मेदवारी फिर्ता लिएपछि खत्री सर्वसम्मत सचिव चयन भएका छन् । यस्तै उपसचिवमा उम्मेदवारी दिएका अछरी पोखरेल, तुलसीराम थारु र मनोज कुमार बर्माले उम्मेदवारी फिर्ता लिएपछि धिताल र बर्मा उपसचिव चयन भएका हुन् ।
१२० सदस्यीय जिल्ला कमिटी अध्यक्ष मण्डलले हिजै प्रस्ताब गरेको थियो । सदस्यमा पनि प्रस्तावित बाहेकका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिइरहेका छन् । बाँके जिल्ला इन्चार्ज केन्द्रिय सदस्य सूर्य ढकाल अध्यक्ष रहेको अध्यक्ष मण्डलमा बाँकेबाट प्रतिनिधित्व गर्ने पाँच केन्द्रिय सदस्य छन् । ढकालसहित मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दिपा शर्मा छन् । निर्वाचन समितिले जिल्ला कमिटी निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।