समृद्ध बाँकेकाे आधार -पर्यटन


पर्यटन
-बाँकेमा थुप्रै पर्यटकीय क्षेत्र छन् । पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो तर यसको उचित प्रचारप्रसार हुन सकेको छैन । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा शक्तिपीठ माता बागेश्वरीको मन्दिर अर्को पर्यटकको गन्तव्य हो । विश्वमै नभएको जुंगे खडेश्वर महादेवको मन्दिर पनि पर्यटकलाई आकर्षित गर्न सक्छ । भुवंर भवानी देवीको मन्दिर, कम्मरशाह बाबा, इदगाहा मस्जिद, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि यस जिल्लाका थप आकर्षणका विन्दुहरु हुन् । यसैगरी महेन्द्रपार्क मिनि चिडियाघर, रानी तलाउ, वाटर पार्क, कान्ति ताल पनि प्रमुख पर्यटकीय क्षेत्र हुन् । राप्ती नदी किनार क्षेत्र, ढकेरी, अगैया, गाभर, नरैनापुर क्षेत्र, कम्मरशाह, सहायक केन्द्र बन्नसक्छन् ।

समृद्ध बाँकेका आधारहरु


व्यवसायिक रुपमा सञ्चालन भए पनि मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वण्डरल्याण्ड पनि स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक छन् । कुनै बेला साबिकको मध्य र सुदूरपश्चिमको ठूला कार्यक्रमहरु नेपालगन्जका होटलले धानेका थिए । पश्चिम नेपालको आर्थिक हब भए पनि संघीयताले यहाँको होटल व्यवसायसँगै बाँकेको समग्र व्यापार व्यवसाय मारमा प¥यो । होटल व्यवसाय त धरासायी हुने अवस्थामा नै पुग्यो । संघीयताले होटल व्यवसायमा लागेको घाउमा मल्हम लगाउने काम मानसरोवर यात्राले गरेको छ । भारतीय पर्यटकहरूलाई नेपालगन्ज हुँदै मानसरोबर जान सजिलो हुनेभएपछि तीर्थयात्रीलाई लक्षित गरी दर्जनौं सुविधा सम्पन्न होटल सञ्चालन भएका छन् । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाको रुपमा काम गर्नुपर्छ । तत्काल नेपालगन्ज–दिल्ली उडानको पहललाई सार्थक बनाउन सके यसले यहाँको पर्यटन विकासमा ठूलो योगदान दिनसक्छ ।

नेपालगन्ज विमानस्थलको गुरुयोजनालाई तत्काल कार्यन्वयन गर्न बजेट विनियोजन गर्नुपर्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको बाँकेमा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने हो भने बर्दिया राष्ट्रि«य निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको अन्य पर्यटकीय स्थलसँग बाँके पर्यटन द्वार बन्नसक्छ । त्यसका लागि जिल्लामा ४ दर्जन बढी टुर्स एण्ड ट्राभल्स एजेन्सी खुलेका छन् । स्टार र स्टार लेभलका होटल र ४ वटा सामुदायिक होमस्टेले पर्यटकलाई सेवा दिइरहेका छन् । बाँकेका अन्य सांस्कृतिक पहिचान बोकेका समुदायहरुमा पनि होमस्टे विस्तार गर्नुपर्छ । बाँकेका कुनै पनि स्टार वा स्टार लेभलका होटलहरुमा अनिवार्य रुपमा एउटा स्थानीय स्वादको परिकारहरुको रेष्टुरेन्ट हुनै पर्ने बाध्यात्मक व्यवस्था हुनुपर्छ । (जस्तै : नेपालगन्जको चाट, रावडी, बिरयानी, सेकुवा, चिया आदि) । बाँकेको मिलनविन्दु नेपालगन्ज सहरको ऐतिहासिक स्थान त्रिभुवन चोक आसपास समेट्ने गरी वकिङ स्ट्रिट (पैदल मार्ग) को रुपमा विकसित गरिनुपर्छ । सांस्कृतिक संग्राहलयको निर्माण गर्नुपर्छ । कला क्षेत्रको विकासका लागि थियटरको निर्माण गर्नुपर्ने । दोहोरो साँझ, डिस्को, क्यासिनो सिटी निर्माणका लागि उपयुक्त मापदण्डका आधारमा पर्यटन मैत्री वातावरणको व्यवस्था गर्नुपर्छ ।

प्रकाशित मितिः     ३० पुष २०७८, शुक्रबार ०९:२८  |
error: Content is protected !!