नेपालगन्ज–बाँके नदी तथा खोला खुलेका छैनन् । नदीजन्य पदार्थको उत्खनन् तीव्ररुपमा बढिरहेको छ । तीन÷चार दिनयता नेपालगन्ज तथा कोहलपुरका मुख्य सडकमा टिपरको राज चलेको छ । सानो सडक र गति तीव्रमा नदीजन्य पदार्थ ‘ओभरलोड’ मनपरी दौडिएका छन् । साना सवारीलाई ‘पेलेरै’ ओभरटेक गर्छन् ।
साना सवारीलाई त अहिले नै खाउँला, निलौलाजस्तो गरेर हुइँकिन्छन् । गलत साइडबाट ओभरटेक गर्दै साना सवारी साधनलाई पिसौला झैं गरेर कुदिरहेका हुन्छन् । नेपालगन्ज तथा कोहलपुर क्षेत्रमा टिपर आतंक निकै त्रासपूर्ण छ । एकविहानै अन्धाधुन्ध गतिमा बजार क्षेत्रमा प्रवेश गर्ने टिपरका कारण सर्वसाधारणहरु निकै त्रसित छन् ।
निर्माण सामग्री ओसार्ने टिपरहरू खेपपिच्छे पैसा बटुल्ने उछिनपाछिनमा लागेपछि बढी दुर्घटना गराउने र ज्यान लिने ‘खतरनाक’ सवारी बनेका छन् । पछिल्लो समय शहरी क्षेत्रमा हाउजिङ, अपार्टमेन्ट र व्यक्तिगत घर बन्ने क्रम तीव्र छ । सडक विस्तार लगायत अन्य पूर्वाधार निर्माण बढेका छन् ।
ढुंगा, गिटी, बालुवा तथा इँटा ओसार्न र माटो ल्याउन–फाल्न टिपरलाई भ्याइनभ्याइ छ । टिपरहरू जति खेप ओसार्यो, त्यति बढी कमाउँछन् । आम्दानीको लोभमा एकैदिन बढी ट्रिप भ्याउन खोज्छन् । कामको चाप बढेपछि टिपर व्यवसायीले चालकलाई भत्ता दिन्छन् । टिपर चालकले प्रतिखेप एक हजारदेखि २५ सय रुपैयाँसम्म भत्ता पाउँछन् ।
दिनभरिमा जसले जति खेप ओसार्न सक्यो, कमाइ उति बढी हुन्छ । व्यवसायी र चालकको यस्तो होडबाजीले टिपरको गति बढेको छ । उनीहरू ‘ढिलो गुडे कम पैसा, छिटो कुदे बढी पैसा’ शैलीमा कुद्न थालेका छन् ।’ मोटरसाइकल, स्कुटर, साइकल चालक तथा पैदलयात्रु बढी शिकार हुने खतरा अत्याधिक बढिरहेको छ ।
यस्ता सवारी टिपरको आवाजले नै हड्बडाउँछन् । टिपरले साना सवारी पेल्ने प्रवृत्ति उत्तिकै छ । महिलाले स्कुटर चलाएको देख्यो भने अझ बढी पेल्न खोज्छन् । यसले दुर्घटनाको जोखिम उच्च छ ।
‘यो सडकमा टिपर एकदमै बढी गुड्छन् । सडक साँघुरो छ । टिपरहरू विस्तारी गुड्दै गुड्दैनन् । यमराज आएजस्तो बत्तिँदै आउँछन् । देख्नेबित्तिकै पर भाग्नुपर्छ । होइन भने कुनबेला ठोक्दिन्छ भर हुन्न,’ उनले भने, ‘टिपरको तीव्र गति नरोकिने हो भने दुर्घटना झन् धेरै बढ्ने, झन् धेरैको ज्यान जाने निश्चित छ ।’
टिपर कुदाउने अधिकांश चालक कम अनुभवी र आलाकाँचा छन् । ३० वर्षभन्दा कम उमेरका बढी छन् । कतिले भर्खरै लाइसेन्स लिएर गाडी चलाउन थालेको बताउँदै जिल्ला ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘केही वर्षयता टिपरको स्टेयरिङ भर्खरै लाइसेन्स पाएका अनुभवविहीन आलाकाँचाका हातमा गएको छ ।’
‘हातमा स्टेयरिङ पाएपछि संसारै जितेजस्तो ठान्ने’ त्यस्ता चालक सवारी नियम उल्लंघन गर्न धक मान्दैनन् । गाडीको क्षमताले जति सक्छ, त्यही गतिमा कुदाउन खोज्छन् । यहाँका सडकमा ९० देखि १०० किलोमिटर प्रतिघन्टा गतिमा टिपर दौडिरहेका छन् । यस्तो बेला छिसिक्क केही भयो कि, ठूलै दुर्घटना हुन्छ । यसले शहर नै असुरक्षित भएको देखाउँछ ।
‘टिपर झट्ट हेर्दा ‘हेभी’ गाडीजस्तो देखिए पनि वास्तवमा यो दायाँबायाँ मोड्न सजिलो हलुका सवारी हो । यसको पिकअप राम्रो छ । चालकको कम मिहिनेतमै जतासुकै सुलुसुलु बग्छ,’ एक जना टिपर चालकले भने, ‘चलाउन सजिलो गाडी लापरबाह चालकको हातमा परेपछि के हुन्छ भन्ने उदाहरण विभिन्न घटनाहरुले देखाइरहेका छन् ।’
टिपर आतंकलाई रोक्नुको साटो सम्शेरगन्ज, गनापुर, कम्दी, चिसापानी र सम्झना नाकाबाट नेतृत्व गरिरहेका ट्राफिक प्रहरीका अधिकृतहरुले टिपरलाई लाइन दिएर नदीजन्य पदार्थको अवैध दोहनलाई बैधानिकता दिइरहेका छन् । मासिकरुपमा असुली हुन थालेपछि अहिले ट्राफिक प्रहरीले दोडिरहेको टिपरलाई रोक्ने त के, हेर्नेसम्मको आँट पनि गर्दैन ।