धेरै वाचा पुरा गरेका छौं –अध्यक्ष कक्षपति


जिल्लाको उत्कृष्ट गाउँपालिकाको सूचीमा खजुरा गाउँपालिका उत्कृष्ट छ । किस्मत कुमार कक्षपतिले नेतृत्व गर्नुभएको गाउँपालिकाको भविष्य उन्नत छ । पाँच वर्षे कार्यकालमा उन्नत भविष्यको जग बसालेको कक्षपति बताउँनुभएको छ । जनताको आवश्यकता र गाउँपालिकाको बृहत्तर विकासका लागि उपयुक्त योजना अघि सारिएका छन् । कक्षपतिले देशमै पहिलोपल्ट गाउँपालिकाको गाउँसम्मेलन गरे । त्यही सम्मेलनबाट आएका सुझावको निचोडका आधारमा गाउँपालिकाको १५ वर्षीय योजनासमेत तयार भएको छ । निर्वाचनका बेला मतदातासमक्ष जाँदा पाँच वर्षभित्र पूरा गर्ने भनेर १०१ बुँदे प्रतिबद्धता गरेका कक्षपतिको कार्यकालमा भएका कामका विषयमा गरिएको कुराकानी :-

तपाईंंहरुले जनतामाझ गरेका कतिवटा वाचा पूरा भए ?

हामी जनताको बीचमा जाँदा खजुरेली जनताहरुसामु १०१ बुँदे प्रतिबद्धता पत्र लिएर गएका थियौँ । हाम्रो कार्यकालको पहिलो वर्षलाई हामीले आधार वर्षको रुपमा लियौँ । दोस्रो वर्षदेखि हामीले ती प्रतिबद्धतालाई पूरा गर्नका लागि विकास निर्माणका कार्यहरु, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकतासाथ बजेटहरु विनियोजन ग¥यौँ । यद्दपि कोरोना महामारीका कारण हाम्रो रफ्तारमा कमी आयो ।
हामीले थुप्र्रै गौरवका योजनाहरु खजुरेली जनतासामु राख्यौँ । जस्तै औद्योगिक ग्राम, खेलकुद ग्राम, गाउँपालिकाभित्र प्रत्येक वर्ष १६ किलोमिटर सडक पिच गर्ने, लुम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय, बहुउदेश्यीय सभागृह, १५ सय मेट्रिक टन क्षमताको शीतभण्डारलाई हामीले गौरवका योजनामा राखेका छौँ ।

वार्षिक १६ किलोमिटर सडक योजनाबाट बनेका सडकको एकमुष्ट उद्घाटन गर्दैछौँ । शीतभण्डार पनि अन्तिम चरणमा छ । खेलकुद ग्राम र औद्योगिक ग्राम बहुवर्षीय योजना हो । यसलाई निरन्तर प्रक्रियामा अगाडि बढाइरहेका छौँ । हामीले तीन वर्ष कार्यकाल पूरा भइसकेपछि तीन वर्षभित्रमा के कति काम गरियो त भनेर समीक्षा ६८ बुँदा हामीले पूरा गरिसकेका थियौँ । बाँकी प्रतिबद्धता पूरा गर्न हामी लागिरहेका छौँ । मलाई लाग्छ हामी हाम्रो कार्यकाल सकिँदासम्म ती सबै प्रतिबद्धता पूरा गरिसक्छौँ ।

खजुरा गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका हो, जसले १५ वर्षको आवधिक योजना बनाएको छ । उक्त योजनाले कति सहयोग गर्दाे रहेछ ?

हाम्रो मान्यता के हो भने, कुनै पनि काम गर्दा योजनाअनुसार हामी चल्न सकेनौँ भने उद्देश्य पूरा गर्न सक्दैनौँ । हामीले समृद्ध खजुरा बनाउनका निमित्त त्यसका आधारहरु के–के हुन सक्छन् भनेर छलफल गर्दा हमीले २०७५ साल मंसिरको महिनामा हामीले बृहत् खजुरा सम्मेलन भव्यताका साथ सम्पन्न गरेका थियौँ । त्यो बृहत् खजुरा सम्मेलनमा स्वदेश तथा विदेशबाट २९० जनाजतिको सहभागिता थियो । हामीले विभिन्न ११ वटा विषयवस्तुहरुमा कार्यपत्र पेस गरेका थियौँ । कार्यपत्रप्रतिको टिप्पणी भएको थियो ।

खजुराबाट गएका स्वदेश तथा विदेशमा रहेका नागरिकहरुको सहभागिता थियो । हामीले १५–२० वर्षमा खजुरालाई समृद्ध खजुरा बनाउनका लागि उहाँहरु सँग सुझाव लियौँ । त्यसैको आधारमा हामीले १५ वर्षीय आवधिक योजना तय गरेका छौँ । हामीले संघीय सरकारेको २५ वर्षीय र प्रदेश सरकारको २० वर्षीय आवधिक योजनामा टेकेर १५ वर्षीय आवधिक योजना तयार गरेका छौँ । यसैको आधारमा नीति तथा कार्यक्रमहरु बनाउनेदेखि लिएर बजेटहरु त्यसैमा टेकेर विनियोजित गर्ने कार्यक्रम अगाडि सारेका छौँ । त्यसैको परिमाणस्वरुप हामीले भौतिक संरचना, बाटाघाटा र भवन बनाउने काममा मात्रै ध्यान केन्द्रित गरेनौँ । त्यसका साथसाथै स्वास्थ्य, शिक्षा र कृषिमा पनि ध्यान दियौँ । यस कारण यो योजनाले समृद्ध खजुरा गाउँपालिकाको जग तयार गरिदिएको छ ।

खजुरा गाउँपालिका जिल्लामा आन्तरिक स्रोत कम भएको गाउँपालिका हो । अब आर्थिक विकासका लागि कस्ता आधार तयार भएका छन् ?
हो, खजुरा गाउँपालिका जिल्लामै कम आन्तरिक स्रोत भएको स्थानीय तह हो । यसै कुरालाई ध्यानमा राखेर हामीले महŒवपूर्ण योजनाहरु अघि सारेका छौँ । नेपाल सरकारको नीति तथा कार्यक्रमअन्तर्गत सबै स्थानीय तहमा एकएक ओटा औद्योगिक ग्राम बनाउने नीतिअनुसार पहिलो चरणमा देशभरिका ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरियो । तीमध्ये देशभरका ६ वटा बाँकेमा एकमात्र खजुरा गाउँपालिकामा औद्योगिक ग्रामको योजना परेको छ । औद्योगिक क्षेत्रका लागि गाउँपालिकाले जग्गाको व्यवस्थापन गर्नुपर्ने थियो । त्यो काम हामीले गरिसकेका छौँ ।

उढरापुरमा रहेको २१ बिघा सरकारी जमिनमध्ये १७ बिघा जमिन हामीले खाली गरेर त्यहाँ अब उद्योग सञ्चालन गर्न सकिने अवस्था बनाइसकेका छौँ । २०७६ सालमा टोकन मनिको रुपमा ९२ लाख रुपैयाँ विनियोजित भएको थियो । यसको डीपीआर बनाउने काम लुम्बिनी प्रदेश सरकारले १५ लाख रुपैयाँमा गरेको छ । हामीले त्यहाँसम्म सडक जोड्ने काम गरेका छौँ । यसरी तीनवटा सरकारको लागत सहभागितामा काम अघि बढेको छ । पहिलो वर्षमा हामीले ११ बिघा क्षेत्रमा तारबार लगाउने काम ग¥यौँ । चौकीदार घर बनाउने काम सम्पन्न ग¥यौँ । १६ बिघाको नापजाँच भइसकेको छ । यो ३२ करोड लागतमा बन्ने बहुवर्षीय योजना हो । निरन्तर काम भइरहेको छ । यो औद्योगिक क्षेत्र सञ्चालनमा आएमा स्वतः गाउँपालिकाको आन्तरिक स्रोत बढ्छ । त्यसको आधार तयार भइसकेको छ ।

अर्काे उद्यमशीलता विकास पनि हाम्रो प्राथमिकतामा छ । थुप्रै युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सहुलियत कर्जाको निमित्त महिलाहरुका लागि १.६ प्रतिशत ब्याजमा र पुरुषका लागि २.६ प्रतिशत ब्याजमा महिलाका लागि १५ लाख अधिकतम र पुरुषका लागि अधिकतम १० लाख कर्जा उपलब्ध गराउने सम्झौता गरी योजना अघि सारेका छौँ ।

खजुरा कृषिको हब हो । हामीले किसानहरुलाई आधुनिक उपकरणहरु लागत सहभागितामा वितरण गरेका छौँ । भैँसी पकेट, गाई पकेटका कार्यक्रमहरु सुरु भइराखेको छ । कृषि तथा पशु उद्यमशील विकास परियोजना भनेर सुरु गरेका छौँ । यो पाँच करोड हाराहारीको नितान्त खजुरा गाउँपालिकाको प्रोजेक्ट हो । यसको सहजीकरण हेफर नेपालले गरेको छ । कृषिमा आधारित काम गर्न ४० हजार रुपैयाँ प्रदान गर्ने र उसको व्यवसाय स्थापित भइसकेपछि हेफरले कम्तिमा पाँच लाख र बढीमा १५ लाखसम्मको सहुलियत कर्जाको व्यवस्था पनि गरेको छ ।
यसैगरि खजुरा ग्रीन सिटी परियोजना यहाँको गमे चेन्जर परियोजना हो । खजुरा गाउँपालिका र संयुक्त राष्ट्र संघ साउथ–साउथ कर्पोरेसनबीच सम्झौता भएर अघि बढेको योजनाले यहाँको कृषिमा क्रान्ति नै ल्याउने छ । सम्झौताअघि संयुक्त राष्ट्र संघ साउथ–साउथ कर्पोरेसनका उच्चस्तरीय प्रतिनिधिले गरेको स्थलगत सर्वे, समुदायसँगको छलफलपछि नेपालको एकमात्र खजुरा गाउँपालिकालाई कार्यक्रमभित्र समेटिएको हो ।

ग्रीन सिटीको विकासमा चीनको युसी सहरले अपनाएको मोडल –नमुना) तय गरेको छ । झन्डै दुई अर्बको यस परियोजनाले खजुराको कृषिमा आधुनिकीकरण, कृषिको बजारीकरण, उन्नत जातको बीउबीजनको उपलब्धता, विद्युतीकरण, सञ्चारको उच्च प्रविधि, घरेलु तथा लघु उद्योग र वृक्षारोपणलाई प्राथमिकतामा राखेको छ । यस हिसाबले अब खजुरा आर्थिक समृद्धिको बाटोमा पनि तीव्र गतिमा अघि बढ्दैछ ।

गाउँपालिकामा सामाजिक विकासतर्फ दीर्घकालीन कामहरु के–के भए ?

सामाजिक विकासमा हाम्रो प्राथमिकता शिक्षा, स्वास्थ्य र पछाडि परेका समुदायको विकास हो । शिक्षा हाम्रो सामाजिक विकासको पहिलो प्राथमिकता हो । खजुरा गाउँपालिका पहिलेदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय भएको स्थानीय तह हो । यहाँ दुईवटा नमुना मावि छन् । प्राविधिक शिक्षा यहीबाट प्रदान भइरहेको छ । बिएससी एजीको पढाइ यही भइरहेको छ । मधेसी तथा मुस्लिम छोरीहरुको उच्च शिक्षाका लागि अलग्गै कलेज भवन निर्माण भएको छ ।

हामीले शिक्षामा परिवर्तनका लागि अब शिक्षकहरु चक, डस्टर र मार्कर बोकेर होइन रिमोट र स्मार्ट बोर्ड बोकेर क्लासमा जानुपर्छ भन्ने मान्यताले आइसिटी शिक्षण विधिको प्रयोगलाई उच्च प्राथमिकता दिएका छौँ । हामी निर्वाचित भएर आइसकेपछि पहिलो कार्यपालिकाको बैठकले तीनवटा क्षेत्रमा तीनवटा महŒवपूर्ण निर्णय गरेका थियौँ । शिक्षामा हामीले आइसिटी विधि प्रयोग गरेर पठनपाठन गरेर सामुदायिक विद्यालयको शैक्षिक स्तरमाथि उकास्ने । त्यस निर्णयअनुरसार खजुराका आधारभूत र माध्यामिक विद्यालयहरुमा एकएकवटा ल्यापटप, प्रोजेक्टर र स्मार्ट बोर्ड हामीले व्यवस्थापन गयौँ । अहिले इच्छुक शिक्षकहरुले ५० प्रतिशत अनुदानमा ल्यापटप किन्न सक्ने व्यवस्था हामीले गरेका छौँ । सबैजस्तो विद्यालयमा भौतिक पूर्वाधार विकासमा बजेट खर्च गरिएको छ ।

अनि स्वास्थ्यको कुरा गर्नु पर्दा नेपालको इतिहासमा जनताको प्रत्यक्ष सहभागिताबाट बनेको अस्पताल खजुरा क्यान्सर अस्पताल अहिले उत्कृष्ट अस्पतालको रुपमा विकास हुँदैछ । अर्काे कोही पनि स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ सबै वडामा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरु खोलिसकेका छौँ । आफ्नै भवनमा ती सेवाहरु सञ्चालनमा छन् । एउटा एम्बुलेन्स सञ्चालनमा छ । वडा नम्बर १ मा पिएससीमा संघ सरकारको १६ करोडको लागतमा १५ बेडको अस्पताल निर्माणाधीन छ । हामीले नीति तथा कार्यक्रममा पनि खजुरा गाउँपालिकालाई स्वास्थ्य हब बनाउने उद्देश्यले अघि बढेका छौँ । यस उद्देश्यमा प्रगतिको पाइलातिर पनि लम्किँदै छौँ ।

यसका साथै महिलाहरुलाई तालिम, सीप प्रदान, बालबालिकाको अधिकार सुनिश्चित गर्ने काममा पनि हामीले ध्यान दिएका छौँ । विपन्नहरुका लागि पनि सीपमूलक तालिमको व्यवस्था गरेका छौँ । गाउँपालिकालाई बालविवाह मुक्त र साक्षर घोषणा गरिसकेका छौँ । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य जाँच शिविर र उनीहरु भेला भएर सुखदुःखका कुरा गर्न सक्ने खुसीको घर भने ज्येष्ठ नागरिक मिलन केन्द्रहरु निर्माण गरेका छौँ । यस कारण सामाजिक विकासमा पनि थुप्रै कामहरु भएका छन् ।

नगरउन्मुख खजुरा गाउँपालिकाको भविष्यका लागि अब कस्ता योजनाहरु तय गरिनुपर्छ र खजुरावासीहरुलाई यहाँको सन्देश के छ ?
खजुरा गाउँपालिका २०७४ सालमै नगरपालिका घोषणा गर्ने भनेर राजपत्रमा प्रकाशित गर्ने भइसकेको हो । यसपटकको चुनावमा पनि यदी समयमै प्रक्रिया अघि बढेको भए अहिले गाउँपालिकाको नभइ नगरपालिकाको चुनाव हुने थियो । यहाँ नगरपालिका हुनका लागि सबै पूर्वाधारहरु तयार छन् । खानेपानी, विद्युत्, यातायात, विद्यालय, स्वास्थ्य सबै पूर्वाधारहरु तयार भइसकेका छन् । अब हामीले आवधिक योजनालाई आधार मानेर थप योजनाहरु बनाउँदै जाने हो । जस्तो तत्कालका लागि अब सिटी बसपार्क बनाउनुपर्ने आवश्यक छ । अहिले चलिरहेका दीर्घकालीन योजनाहरु पूरा भएमा यसको रुप नै फरक हुनेछ । यो एक जीवन्त गाउँपालिकामा विकसित हुनेछ ।

म खजुरेली आम दाजुभाई दिदीबहिनीहरुलाई के आग्रह गर्न चाहन्छँ= भने हामीले तपाईंहरुसामू गरेका सबै वाचाहरु पूरा गर्ने इमान्दार पर्यत्न गरेका छौँ । हामीले समृद्ध खजुराका जग बसालेका छौँ । सुरु भएका दीर्घकालीन योजनाहरु अब चाडै पूरा हुन्छन् र त्यसको लाभ आगामी पूस्तासम्मले भोग्न पाउँछ । त्यस कारण यी योजनाको सफलतामा सबैको साथ आवश्यक छ । साथै खबरदारी पनि आवश्यक छ । पूरा भएका योजनाको संरक्षणमा पनि हामी सबैले ध्यान दिनुपर्छ भन्ने आग्रह गर्दछुँ ।

प्रकाशित मितिः     ३ बैशाख २०७९, शनिबार ०६:४९  |