पूर्वाधार विकासमा खजुराले मारेको फड्को


स्थानीय तहपछि अव्यवस्थित विकास हुन थालेको चर्चा भइरहँदा खजुरा गाउँपालिकाले भने लामो सोचका साथ काम गरेको छ । नीति तथा कार्यक्रम दीर्घकालिन सोच राखेर तय गरिएका छन् । ती नीति तथा कार्यक्रमहरु कार्यान्वयनमा पनि गरिएका छन् । जनतालाई प्रत्यक्ष महसुस हुनेगरी योजनाहरुले जनतामा स्थानीय सरको महसुस गराएको छ । कोरोना महामारीमा खजुरा गाउँपालिकाले देखाएको सक्रियता एक उदाहरण थियो । खजुराले भौतिक मात्रै नभई सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेको पाइन्छ ।

खजुरा गाउँपालिका बाँकेको एकमात्र स्थानीय तह हो जसले आगामी १५ वर्षमा गाउँपालिकाको विकासका लागि गर्नुपर्ने कामको खाका तयार गरेको छ । गाउँपालिकाले बृहत् खजुरा सम्मेलन गरेर गाउँपालिकाको १५ बर्से गुरुयोजना तयार गरेको छ । स्थानीय तहरुले दीर्घकालिन योजना बिना नै मात्र भौतिक विकासलाई प्राथमिकता दिइरहेका बेला खजुरा गाउँपालिकाले भने सबैभन्दा पहिले समृद्धिको आधार तयार गर्नुपर्ने महसुस गरी उक्त काम गरेको अध्यक्ष किस्मतकुमार कक्षपति बताउछन् ।
गाउँपालिकाले सम्मेलनमा खजुरामा जन्मिएर आधारभूत शिक्षा हासिल गरी देश विदेशका विभिन्न भूभागमा रही आ–आफ्नो क्षेत्रमा योगदान दिइरहेका व्यक्तिहरु र खजुरामा रहेका प्रबुद्ध व्यक्तिसहित करिब ३५० जनाबीच बृहत् छलफल गराएर प्राप्त निष्कर्षको आधारमा १५ बर्से गुरुयोजना बनाएको हो । यसले अब आउने जनप्रतिनिधिहरुलाई कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने भन्नेबारेमा स्पष्ट मार्गचित्र दिनेछ ।

स्थानीय सरकारसँग जनताको पहिलो अपेक्षा हिलाम्मे र धुलाम्मे हुने बाटाहरुको स्तरोन्नति थियो । त्यसलाई बुझेर खजुरा गाउँपालिकाले हरेक वर्ष १६ किलोमिटर सडक निर्माण र स्तरोन्नति गर्ने लक्ष्य निर्धारण ग¥यो । सडक निर्माणलाई गाउँपालिकाको गौरवकै योजनाकारुपमा अघि बढाएको खजुराले लिएको लक्ष्य भेटउन कोरोना महामारीले अवरोध सिर्जना गरेपनि गाउँपालिकाले पाँच वर्षमा ३० किलोमिटर सडक पिच गरिसकेको छ भने अझै ८ किलोमिटर सडक निर्माण गर्ने योजना चलिरहेका छन् ।
ग्रामीण बस्तीभित्रका सडक पनि कालोपत्रे, पीसीसी र ग्राभेल गरिएका छन् । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गरिएको छ । सबै वडामा सडक र नाली निर्माण भएका छन् ।
निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धताअनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने कार्य सम्पन्न भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् । गाउँपालिकाभित्रका मुख्य र सहायक सडक नाला पुनर्निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको उनले बताए । खजुरा बजार क्षेत्रमा सडक डिभिजनले चार लेन सडक निर्माण पनि धमाधम गरिरहेको छ । त्यसमा गाउँपालिकाले समन्वय गर्दै आइरहेको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ६ मा गाउँपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक व्यवस्थापन गरिसकेको छ । औद्योगिक क्षेत्रका लागि आवश्यक २१ बिघा जग्गामध्ये १७ बिघा जग्गा व्यवस्थान गरेर गाउँपालिकाले तारबार गरिसकेको छ । उक्त क्षेत्रमा चौकीदार पनि खटाइसकेको छ । सो जग्गमा बसेका नागरिकहरुलाई सम्झाइबुझाई गरेर गाउँपालिकाले जग्गा खाली गर्न सफल भएको हो । ग्रामसम्म पुग्ने बाटो पनि निर्माण भइसकेको छ । अब साइट क्लियर भइसकेको अवस्थामा त्यहाँ उद्योगहरु सञ्चालनका लागि सहज वातावरण सिर्जना भएको छ ।

सरकारको एक स्थानीय तह एक औद्योगिक ग्राम बनाउने नीति अनुसार केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा औद्योगिक ग्राम निर्माणाधीन छ । ३१ करोड ३० लाख २१ हजार ४७३ को लागत अनुमानमा निर्माण सुरु भएको उक्त औद्योगिक ग्रामअन्तर्गत पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागतमा तारबार तथा चौकीदार भवन निर्माण भइसकेको छ । अब त्यहाँ कस्ता उद्योगहरु राख्ने भन्ने नीति बनाएर आवश्यक बिजुली, पानी, ढलनिकास र सुरक्षाको व्यवस्था गरेमा उद्योगहरु सञ्चालनमा आउने छन् । त्यहाँ साना, कुटिर उद्योगदेखि कृषिमा आधारित उद्योगहरु सञ्चालन गरिने गाउँपालिकाको योजना छ ।

बाँकेको खजुरा–२ मा खेलकुद ग्राम निर्माण भइरहेको छ । खजुराको गौरीनगरमा खेलकुद ग्राम र डी गाउँमा फुटबल ग्राउण्ड निर्माण भइरहेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०७६÷७७ को एक गाउँपालिका एक खेलकुद ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रमअन्तर्गत गौरीनगरमा ५७ करोड ८७ लाख कूल लागतमा खेलकुद ग्राम निर्माण गरिने योजना छ । स्थानीय सुरु माविमा निर्माणाधीन खेल ग्राममा माटो पटान र बाउन्ड्री घेर्नेकाम भइसकेको छ भने फुटबल मैदान, भलिबल कोर्ट, पौडी पोखरी, बहुउद्देश्यीय कभर्डहल, जिम हल, पार्किङ, खेलाडी आवासीय भवन निर्माण गरिने गुरु योजना छ ।

खजुरा गाउँपालिकाले घरवासविहीन र भूमिहीन विपन्न परिवारका लागि सामूहिक आवास निर्माण गरेको छ । डेढ बिघा क्षेत्रफल रहेको सरकारी जग्गामा व्यवस्थित आवास निर्माण गरी नागरिकहरुलाई हस्तान्तरण पनि गरिसकिएको छ ।
खजुरा–३, बी बोरिङमा तराई–मधेस समृद्धि कार्यक्रमको ७० लाख रुपैयाँ लागतमा बनाइएका २१ वटा घरमध्ये १६ वटामा घरमा विपन्न नागरिकहरु बसिरहेका छन् । २१ परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउने लक्ष्यसहित गाउँपालिकाले सुरु गरेको सामूहिक आवास गृहको पहिलो चरणमा १६ परिवारलाई हस्तान्तरण गरिएको हो । उक्त स्थानमा अझै ५ वटा घर निर्माणा भइसकेका छन् भने थप २ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । ती सबै घरमा मापदण्डअनुसार विपन्न व्यक्तिहरु पहिचान गरेर इच्छुकहरुलाई बसाइने गाउँपालिकाको योजना छ ।
सरकारले बनाइदिएको घरमा विपन्न नागरिकहरुले उनीहरुले अर्काे व्यवस्था गर्न नसकुन्जेलसम्मका लागि बस्न पाउनेछन् । आवासको सुविधा पाएका नागरिकहरुले सुरक्षित आवास पाए पनि हर्षित भएक छन् ।

खजुरा गाउँपालिका कृषिका लागि पनि उर्वर र व्यावसायिक कृषहरु भएको स्थानीय तह हो । खजुरा क्षेत्रलाई कृषि हब बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तर, कृषि उपजहरुको भण्डारणका लागि गाउँपालिकामा कुनै पूर्वाधार थिएन । अहिले भने खजुरा गाउँपालिका–५ उढरापुरमा अहिले शीतभण्डार निर्माण भइरहेको छ । १ बिघा ७ कठ्ठा जमिनमा निर्माणाधीन शीतभण्डारको करिब ८० प्रतिशत काम सकिसकेको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।
लुम्बिनी प्रदेशकै नमुना शीतभण्डारको रुपमा निर्माणाधीन १५ सय मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने क्षमताको शीतभण्डार करिब ९ करोड लगानीमा तयार हुने अनुमान गरिएको छ । पहिलो चरणमा शीतभण्डारको कम्पाउण्ड पर्खाल र स्ट्रक्चर निर्माण भइसकेको छ भने अब मेसिन जडान गर्ने, बिजुली बत्ती जडान, जेनेरेटर जडान, माटो फिलिङ र जनशक्तिको व्यवस्थापन भएमा शीतभण्डार सञ्चालनमा आउने योजना अधिकृत पौडेलले जानकारी दिए ।

खजुरा गाउँपालिकाले वडा नम्बर ३ मा सभाहल निर्माण गरिरहेको छ । १५ वर्षमा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने लक्ष्य तय गरेको गाउँपालिकामा व्यवस्थित हल थिएन । उक्त अवस्थालाई ध्यानमा राखेर वडा नम्बर ३ खजुरा बजारमा सभाहल निर्माणको योजना बनाइएकोमा हालसम्म भवनको संरचना निर्माण भइसकेका छ । अब भवनको छाना लगाउने, फर्निचर जडान गर्ने, बिजुली बत्तीको व्यवस्था गर्ने काम बाँकी रहेको योजना अधिकृत पौडेलले जानकारी दिए ।

खजुरा गाउँपालिकाले शिक्षाका पूर्वाधार निर्माण र गुणस्तर सुधारमा पनि उल्लेख्य प्रगति गरेको छ । गाउँपालिकामा दुईवटा नमुना विद्यालय छन् । ती विद्यालयमा प्रत्येक वर्ष भौतिक पूर्वाधारहरु थपिने गरेका छन् । गाउँपालिकाका सबैजसो विद्यालयमा भवन र पर्खालहरु निर्माण भएका छन् । फर्निचरहरु थपिएका छन् ।
गाउँपालिकाले शिक्षाको गुणस्तर सुधारमा पनि उल्लेख्य लगानी गरेको छ । शिक्षकहरुलाई तालिमको व्यवस्था गरेको छ । सूचना प्रविधिमा आधारित शिक्षण विधि (आइसिटी प्रविधि) बाट शिक्षा प्रदान गर्न थालिएको छ । सबैजसो विद्यालयमा ल्यापटप कम्यूटरलगायतका साधनहरु वितरण गरिएका छन् । ल्यापटप खरिद गर्न चाहने शिक्षकहरुलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । त्यसका लागि कार्यविधि निर्माण गरी कार्यान्वयन गरिँदैछ । गाउँपालिकालाई साक्षर र बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ ।

‘खजुरा ग्रीन सिटी’ खजुरा हरित सहर गुरुयोजना सन् २०२० देखि प्रक्रिया सुरु भएको हो । सो हरित खजुरा गुरुयोजना सञ्चालनका लागि खजुरा गाउँपालिका र संयुक्त राष्ट्र संघ साउथ–साउथ कर्पोरेसनबीच सम्झौता भएर यो परियोजना अघि बढेको छ ।
उक्त गुरुयोजना सञ्चालनका लागि संयुक्त राष्ट्र संघ साउथ–साउथ कर्पोरेसनले विकासमा चीनको युसी सहरले अपनाएको मोडल तय गरेको छ । झन्डै दुई अर्बको यस गुरुयोजनाले मुख्यतयाः खजुराको कृषि विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । परियोजनाले कृषिको बजारीकरण, उन्नत जातको बीउबीजनको उपलब्धता, विद्युतीकरण, सञ्चारको उच्च प्रविधि, घरेलु तथा लघु उद्योगलगायतको विकास गर्नेछ ।
परियोजना कार्यान्वयनका लागि पहिलो चरणमा ३० जना स्थानीय कृषकहरुलाई तालिम पनि दिलइसकिएको छ । अब यो योजना पाइलट प्रोजेक्टका रुपमा कार्यान्वयनमा जाँदैछ ।

प्रकाशित मितिः     २ बैशाख २०७९, शुक्रबार १०:५३  |