एकमाया विक
उपाध्यक्ष, खजुरा गाउँपालिका
यो संघीयताको पहिलो अभ्यास थियो । हामीलाई कसैले पनि स्थानीय सरकार यसरी चलाउनुपर्छ भनेर सिकाएको थिएन । यसको कुनै व्यवहारिक उदाहरण हामीले देख्न पाएका थिएनौँ । गाउँपालिकाका भवनहरु नै थिएनन् । कर्मचारीको व्यवस्था थिएन । यी सबै अवस्थाका बाफजुद हामीले जति काम गरेका छौँ, यो सफलता नै हो भन्ने मैले ठान्छुँ ।
हामीसँग स्थानीय सरकारको जग बसाल्ने जिम्मेवारी थियो । यो जिम्मेवारीलाई हामीले सिक्दै, गर्दै पूरा गरेका छौँ । सबै चिज नयाँ थियो । यो अभ्यासमा न जनता, न हामी, न कर्मचारी कोही पनि अभ्यस्त थिएन । कसरी काम गर्ने कानुन नै थिएन । हामीले त सुरुवातदेखि नै कागजी काम गर्नुपर्ने भयो । अहिले हामीले आवश्यक सबै कानुन बनाइसकेका छौँ । बीचमा कोरोना महामारी पनि हामीले सफलतापूर्वक झेल्यौँ । सबै चुनौतीका अतिरिक्त जनतासामू गरेका अधिकांश वाचा पनि पूरा गरेका छौँ । यस कारण हाम्रो कार्याकाल संघीयताको जग बसाउने जिम्मेवारीमा सफल भएको हो । खजुरावासीले स्थानीय सरकारको भरपुर महसुस गरेका छन् भन्ने मलाई लाग्छ ।
हामीले त सुरुवातदेखि नै गौरवका आयोजना भनेर जुन सुरु गरेका छौँ तीनको सफलताका लागि खटियौँ । सडक कालोपत्रे, शीतभण्डार, सभागृह, भलिवल स्टेडियम, खेलकुद ग्राम, १५ बेडको अस्पताल, औद्योगिक ग्राम, मुस्लिम छोरीहरुका लागि अलग्गै कलेज भवन निर्माण, विद्यालयका भवन, ग्रीन सिटी यी परियोजना लामो समयका लागि भएकोले हाम्रो यो पहिलो कार्यकाललाई खजुरेली जनताले बिर्सनुहुन्न होला भन्ने लाग्छ ।
निश्चित पनि न्यायपालिकाको जिम्मेवारी अरु जिम्मेवारीभन्दा अझ नौलो र संवेदशील जिम्मेवारी थियो । सबैभन्दा पहिला त यसको प्रयोग कसरी गर्ने भन्नेमै अन्योल भयो । इजलासका लागि नगरपालिकाहरुलाई अलि बढी बजेट प्राप्त भए पनि हामीलाई भएन । अहिलेसम्म इजलाश बनाउन सकेका छैनौँ । आफ्नै कार्यकक्षमा बसेर हामीले सेवा दिनुपरिरहेको छ । सम्बन्धित विज्ञ कर्मचारी छैनन् ।
तै पनि हामीले पाँच वर्षमा पाँच सय बढी उजुरीहरु प्राप्त गरेका छौँ । यो भनेको स्थानीय न्यायिक समितिप्रति जनताको भरोसा बढेको भन्ने हो । हामीले करिब ५० प्रतिशत मुद्दामा त मिलापत्र नै गरेका छौँ । प्रत्येक वडामा मेलमिलापकर्ताहरु राखेका छौँ । सामान्य विवादमा पनि अदालत नै पुग्नुपर्ने बाध्यता अब छैन । यसले समाजमा दिगो शान्ति कायम गर्नका लागि पनि महŒवपूर्ण भूमिका खेलेको भन्ने मलाई महसुस हुन्छ । यद्दपि न्यायिक समितिको काम अझ प्रभावकारी बनाउन थुप्रै सुधारको खाँचो चाहिँ छ ।
यो सापेक्षताका आधारमा हेर्नुपर्ने हुन्छ । हामीसँग कति बजेट छ त्यसले पनि आयोजनाको गुणस्तरलाई निर्धारण गर्दो रहेछ । बजेट थोरै हुने तर जनताका अपेक्षाहरु एकदमै धेरै हुने । थोरै बजेटले सबैलाई पु¥याउन खोज्दा कतिपय योजनाहरुमा उच्च गुणस्तरको अपेक्षा गर्न नि नसकिने रहेछ । तर, जति बजेट छ त्यसको आधारमा हामीले निर्माण गरेका योजनाहरुको गुणस्तर ठीक छ । भन्नुको मतलब हामीले बजेटको दुरुपयोग हुनेगरि गुणस्तर कमजोर हुन दिएका छैनौँ ।
उपभोक्ता समितिमार्फत निर्माण भएका योजनाहरुमा जनसहभागितालाई पनि बढाएको छ । सबै पक्षको सहभागितामा उपभोक्ता समितिहरु निर्माण भएका छन् । स्थानीयहरुले पनि यदाकदाबाहेक गुणस्तर कमजोर भएको गुनासो गर्नुभएको छैन । गुणस्तरको सवालमा म यति भन्न सक्छुँ कि हामीले बजेटले भ्याएसम्म गुणस्तरीय काम गर्ने प्रयास गरेका छौँ । इमान्दार भएर जनताको हितमा नै बजेटको प्रयाग गरेका छौँ ।
खजुरा गाउँपालिका आन्तरिक स्रोतका हिसाबले कमजोर छ । यस कारण अब हामीले उद्यमशीलतामा ध्यान दिनुपर्ने छ । निर्वाहमुखी कृषिभन्दा व्यावसायिक कृषिमा जोड दिनुपर्नेछ । यसलाई ध्यानमा राखेर गाउँपालिकाले विभिन्न कार्यक्रमहरु पनि तय गरेको छ । ग्रीन सिटी परियोजना सञ्चालन हुँदैछ । औद्योगिक ग्राम बन्दै छ । अब खजुरावासीहरु उद्यमतिर लाग्नुपर्ने बेला भएको छ । हामीले कतै पनि जग्गा बाँझो नराखौँ । कोही पनि खाली नबसौँ । बरु त्यसमा के गर्न सहयोग गर्नुपर्छ उक्त सहयोगका लागि गाउँपालिकाका जनप्रतिनिधिलाई झकझक्याऔँ । अबको हाम्रो लक्ष्य आत्मनिर्भर र समृद्ध खजुरा हो । यस लक्ष्यतर्फ हामी धेरै अघि बढिसकेका छौँ । यो लक्ष्यको प्राप्तिका लागि सबै एकजुट होऔँ ।
यसैगरि अब जनताभन्दा नागरिक बढी सचेत हुनुपर्छ । नागरिकले जनप्रतिनिधिलाई गल गर्नबाट रोक्न खबरदारी गरिराख्नुपर्छ । हरपल नागरिकको खबरदारीले नै लोकतन्त्र जीवित हुन्छ । साथमा योजना छनोट गर्दा पनि जनताले आफ्नो क्षेत्रको मुख्य आवश्यकता पहिचान गरेर सोहीअनुसार माग गर्नुपर्छ । हामी सबैको लक्ष्य समृद्ध खजुरा निर्माण गर्ने हुनुपर्छ । म यही अनुरोध गर्न चाहन्छुँ ।