चैत मसान्तसम्ममा १३ अर्ब ८४ करोड ७८ लाखको निजी प्रयोगको चारपाङ्ग्रे गाडी आयात


काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना चैत मसान्त सम्ममा १३ अर्ब ८४ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको निजी प्रयोगमा आउने चारपाङ्ग्रे गाडी आयात भएको छ । यसको बापत केबल ११ करोड ५३ लाख ९८ हजार अमेरिकी डलर खर्च भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

सरकारले विलासी वस्तुको आयात रोक्ने भन्दै पेट्रोलियम पदार्थबाट चल्ने सबै किसिमका जीप÷कार÷भ्यानको आयात बन्द गरेसँगै राज्यले हल्ला गरे अनुसारको रकममा निजी सवारीसाधन आयात भएको देखिँदैन ।

यो ९ महिनाको अवधिमा कुल १२ हजार ६२९ यूनिट पेट्रोलियम पदार्थबाट चल्ने र निजी प्रयोजनमा आउने जीपरकाररभ्यान आएका छन् । यो संख्याको आयातमा सरकारले भन्सार बिन्दुमा उठाउने भन्सार, अन्तःशुल्क, भ्याट र सडक निर्माण दस्तुर बापत् ३१ अर्ब ७४ करोड २ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको देखिन्छ ।

आर्थिक वर्षको ९ महिनामा आयत भएको जीपरकाररभ्यानको आयात मूल्य मोबाइल फोन वा सुनको तुलनामा करिब तीन गुणा कम हो । तर, सुन र मोबाइल फोनको तुलनामा राजस्वभने निकै धेरै उठाउन सफल भएको देखिन्छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै १ हजारदेखि १५०० सीसीसम्म क्षमता भएका चारपाङ्गे साधन धेरै आयात भएका छन् । ९ महिनामा यस्ता साधन ७ हजार ६२२ यूनिट आयात हुँदा हजार सीसीभन्दा कम क्षमताका ३ हजार ९ यूनिट कार आयात भएका छन् ।

यी दुई सेग्मेन्ट बाहेक पेट्रोलबाट चल्ने अन्य गाडीको आयात अत्यन्त न्यून रहेको छ । सबैभन्दा महंगो सेग्मेन्टमा आउने ३००० सीसी माथिका पेट्रोल गाडी भने ३८८ यूनिट आयात भएका छन् । डिजेल इन्जिनमा भने १५०० सीसीदेखि २५०० सीसी सेग्मेन्टमा १ हजार ३६८ यूनिट गाडी आयात भएको देखिन्छ । २५०० सीसी माथिको डिजेल इन्जिन भएका गाडी केबल १६७ यूनिट आयात भएको छ । हाइब्रिड कारको आयात पनि १४ यूनिट मात्रै भएको छ । मेराे अटाेबाट

प्रकाशित मितिः     १७ बैशाख २०७९, शनिबार ११:४५  |