निर्वाचन सकिएलगत्तै सरकारद्वारा धमाधम पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि


काठमाडौं। नेपाल आयल निगमले पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा भारी मूल्य बढाएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा लिटरमै १० रुपैयाँ बढाएको छ। यो मूल्यवृद्धि पछि अब पेट्रोल लिटरको १८० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पुगेको छ भने हवाई इन्धन लिटरको १ सय ६३ रुपैयाँ पुगेको छ।

निगमले एलपीजी ग्यासको मूल्य एक सिलिण्डरमै दुई सय रुपैयाँ बढाएको छ। अब उपभोक्ताले ग्यास सिलिण्डरको १८ सय रुपैयाँ तिर्नुपर्नेछ। यो मूल्यवृद्धि पछि पनि निगमको नोक्सानी १५ दिनमा ३ अर्ब ३५ करोड रुपैयाँ रहेको दाबी छ।

सरकारले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्ने नीति अनुसार यो मूल्यवृद्धि गरेको हो। स्रोतका अनुसार केही दिनभित्रै सबै पेट्रोलियम पदार्थको परल मूल्य तोकिनेछ। यो आधारमा ग्यासको मूल्य २६ सय ७९ रुपैयाँ पुग्नेछ। यो मूल्यवृद्धि पछि पनि पेट्रोल र डिजलम लिटरमै १४ रुपैयाँ ६४ पैसा र २६ रुपैयाँ ८२ पैसा नोक्सानी रहेको निगमले जनाएको छ। निगमका अनुसार ग्यास एक सिलिण्डरमा अझै ८ सय ८९ रुपैयाँ ७५ पैसा नोक्सानी छ।

नेपालले भारतको इन्डियन आयल कर्पोरेसनबाट इन्धन आपूर्ति गर्छ। मे महिनामा ४३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा २० अर्ब ६० करोड रुपैयाँमात्र भुक्तानी गर्न सकिएको निगमले जनाएको छ।

प्रकाशित मितिः     ९ जेष्ठ २०७९, सोमबार ०६:२९  |