बजेट पछि बढ्ने छ यि कुरा


नेपालगन्ज। सरकारले सामयिक कर असुल ऐन २०१२ ले दिएको अधिकारअन्तर्गत बजेटसँगै जारी गर्ने आर्थिक आदेशमार्फत भन्सार र अन्त : शुल्कका दरमा गरेको हेरफेरबाट कैयौं वस्तुको मूल्य बढ्ने भएको छ ।

भन्सार र अन्त : शुल्क दरमा गरिएको हेरफेरबाट मूल्य बढ्ने वस्तुमा उच्च वर्गले प्रयोग गर्ने विलासी सामानदेखि सामान्य मानिसले खाने बिस्कुटसम्म छन् ।

सरकारले उसलाई कर असुल गर्ने अधिकार दिने आर्थिक विधेयक संसद्बाट पारित नहुँदै उक्त विधेयकमा प्रस्तावित कर असुलीका लागि आर्थिक आदेश जारी गर्ने गर्छ । यसपालि पनि सरकारले बजेटकै दिन जारी गरेको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्ने विधेयक संसद्बाट पारित भइसकेको छैन ।

तर, अर्थमन्त्रीले बजेटमार्फत प्रस्ताव गरेको भन्सार, अन्त स् शुल्क, कृषि सुधार शुल्कजस्ता कर र शुल्कहरू जेठ १५ बाटै असुल्न थालिसकेको छ । यसो गर्ने बाटो मन्त्रिपरिषद्बाट पारित भएको आर्थिक आदेशले खोलेको हो । यो आदेशको अवधि ६ महीना हुन्छ । त्यस अवधिमा संसदबाट आर्थिक अध्यादेश पारित भइसक्छ ।

सरकारले केराउ र सुपारीको भन्सार महसुल बढाएको छ । चुरोट र सुर्तीजन्यमा भन्सार दोब्बर बनाएको छ भने अन्तस्शुल्क दर पनि बढाएको छ । धातु, स्ल्याग खरानीको भन्सार दर पनि बढाएको छ । यसले यी वस्तुको मूल्य बढ्नेछ । पेट्रोलियम कोक, बिटुमिन र खनिज तेलका अवशेषको भन्सार दर घटाइएको छ । यी वस्तुहरू सस्तिन सक्छन् ।

वेफर, बिस्कुटको अन्त स् शुल्क बढाइएको छ । नरिवल, ओखर, काजु, पेस्ताजस्ता ड्राई फ्रुट्सको मूल्य पनि बढ्नेछ । मरीच, खुर्सानी, पान कत्था, आयातित मासु, ससेज, चकलेट, चुइंगम, डिब्बाबन्द फलफूल, बदाम, कफी, चिया, पान मसला पनि बजेटपछि मूल्य बढ्नेमा परेका छन् ।

आयातित भिनेगरको भाउ पनि बढ्नेछ । त्यसैगरी, शृंगारका सामान, क्रिम, पाउडर, पफ्र्युम, लिपस्टिक, पालिस, साबुन, सेम्पु, कपालमा हाल्ने तेल, बडी लोसन, सेभिङ क्रिमको अन्तस्शुल्क र भन्सार महसुल दुवै बढाइएको छ ।

त्यसैगरी प्लास्टिक र प्लास्टिकको सामानको पनि करको दरमा गरिएको हेरफेरका कारण भाउ बढ्नेछ । काठ र छालाका सामान, भुइँमा ओछ्याउने टायल, कार्पेट, डोरम्याट, पाउपोश, सेरामिक्सका सामान, ग्लासवेयर पनि महँगिनेछ । टेलिभिजनको भाउ पनि बढ्नेछ । टेलिभिजनमा ४८ इन्चसम्मलाई २० प्रतिशत त्योभन्दा माथिलाई ३० प्रतिशत भन्सार लगाइएको छ ।

आयातित माछा र सीफुड, दूध, नौनी, फ्लोरिङ, ट्वाइलेट पेपर, टिस्यू, प्याकिङका झोला बोरा, क्यानभास जुत्ता, छाता, काठको धूलो, सिमेन्ट र विभिन्न बाइन्डिङ केमिकल प्रयोग गरेर तयार पारिएको बोर्ड, काठका फल्याक, कर्कट पाताको पनि भाउ बढ्नेछ । त्यसैगरी दारी काट्ने औजारको पनि भाउ बढ्नेछ ।

चुरोट र सिगार, बियर, ह्विस्की पनि महँगिने छ । आयातित वाइनमा लाग्ने अन्त स् शुल्क र भन्सार दर भने चलाइएको छैन । डन्डी उद्योगको कच्चा पदार्थदेखि २५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलसम्मको भाउ बढ्छ ।

सरकारले २५० देखि ५०० सीसीसम्म क्षमताका मोटरसाइकल आयातमा लाग्ने अन्त स् शुल्क ६० बाट ८० प्रतिशत पुर्‍याएको छ । यो क्षमताका मोटरसाइकलको भन्सार महसुल पनि बढाइएको छ । यसअघि ३० प्रतिशत रहेको भन्सार महसुल बढाएर ४० प्रतिशत कायम गरिएको छ ।

५०० सीसीभन्दा माथि ८०० सीसीका मोटरसाइकलको भन्सार महसुल ४० प्रतिशत बिन्दुले बढाइएको छ । यसअघि ३० प्रतिशत भन्सार लाग्ने यो क्षमताका मोटसाइकलमा ७० प्रतिशत भन्सार लाग्न थालेको छ । यसको अन्तस्शुल्क भने ८० बाट बढाएर ९० प्रतिशत कायम गरिएको छ ।

८०० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलको अन्त स् शुल्कलाई यथावत् राखेर ३० प्रतिशत लाग्ने भन्सार महसुल ८० प्रतिशत पुर्‍याइएको छ । अन्त स् शुल्क र भन्सारका दरमा गरिएको हेरफेरबाट अधिकांशले चढ्ने २५० सीसीदेखि ५०० सिसीसम्मका मोटरसाइकलको मूल्य २० देखि २५ हजार रुपैयाँसम्म बढ्ने सम्बद्ध व्यवसायी बताउँछन् ।

त्यसैगरी १०० देखि २०० किलोवाटसम्म पिकपावरका विद्युतीय सवारीसाधनको भाउ बढ्ने भएको छ । यी साधनमा लाग्ने भन्सार महसुल दर १५ बाट शतप्रतिशत बढाएर ३० प्रतिशत गरिएको छ । अहिले अन्त स् शुल्क नलाग्ने यी वाहनमा ३० प्रतिशत अन्त स् शुल्क लगाइएको छ ।

त्यसैगरी, २०० देखि ३०० किलोवाटसम्म पिकपावरका विद्युतीय गाडीको भन्सार महसुल ३० बाट ४५ प्रतिशत कायम गरिएको छ । यी यो क्षमताका वाहनमा लाग्ने ४५ प्रतिशतका दरले अन्तस्शुल्क लगाउन थालिएको छ । ३०० किलोवाटभन्दा बढी पिकपावर भएका विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार दर ४० बाट बढाएर ६० प्रतिशत कायम गरिएको छ । यसअघि नलाग्ने अन्तस्शुल्क अब ६० प्रतिशतका दरले लाग्न थालेको छ ।

अन्तस्शुल्क र भन्सार दरबन्दीमा गरिएको हेरफेरबाट एमजीको मूल्य २० र हुन्डाई आयोनिक–५ को मूल्य २५ लाख रुपैयाँसम्मले महँगिने व्यवसायी बताउँछन् ।

त्यसैगरी, फलामे डन्डी उत्पादनमा प्रयोग हुने बिलेटमा लाग्ने अन्तस्शुल्क बढाइएकाले डन्डीको भाउ माथि उक्लिनेछ । बिलेटमा लाग्ने अन्तस्शुल्क प्रतिमेट्रिक टन १६५० बाट २५०० रुपैयाँ पुर्‍याइएको छ ।

अन्तस्शुल्क व्यापक बढाइएको अर्को वस्तु ७२१३ उपशीर्षकको फलाम हो । यसमा लाग्ने अन्तस्शुल्क प्रतिटन २५०० रुपैयाँबाट ४५०० रुपैयाँ कायम गरिएको छ । उपशीर्षक ७२१६ अन्तर्गतका फलामको अन्तस्शुल्क तेब्बर बनाइएको छ । जेठ १५ सम्म २५०० प्रतिमेट्रिक टन अन्तस्शुल्क लाग्ने यी वस्तुमा १६ गतेबाट ७५०० प्रतिटनका दरले अन्तस्शुल्क लाग्नेछ ।

एचएस कोड ७३१२ को विद्युतीय अवरोधक नभएको, फलाम वा इस्पातको बाटिएको तार, डोरी, केबुल, प्लेटेड फित्तको र त्यस्ता सामानको अन्तस्शुल्क २५ सय प्रतिटनबाट बढाएर १० हजार रुपैयाँ कायम गरिएको छ ।

७३१४ अन्तर्गतको फलाम वा इस्पातको जाली, ग्रीलको अन्तस्शुल्क पनि प्रतिटन २५ सयबाट १० हजार रुपैयाँ कायम गरिएको छ । इँटा आकार ९इगनट० को वा अन्य प्रारम्भिक रूपको फलाम र अमिश्रित इस्पातमा प्रतिटन ३५ सयका दरले अन्त स् शुल्कलगाइएको छ ।

उपशीर्षक ७२०६ अन्तर्गतका यी वस्तुमा यसअघि अन्तस्शुल्क थिएन । ७२०७ अन्तर्गतको फलाम वा अमिश्रित इस्पातका अर्ध तयारी उतपादनमा लाग्ने अन्त स् शुल्क प्रतिमेट्रिक टन २५ सयबाट ३५ सय रुपैयाँ कायम गरिएको छ । ७२०९ को ६०० मिलिमिटर वा सोभन्दा बढी चौडाइ भएको जलप नलगाइएको कोल्डरोल्ड फलामको अन्तस्शुल्क २२ सय प्रतिटनबाट ४५ सय रुपैयाँ बनाइएको छ ।

ढलान तारका रूपमा चिनिने तयारी बाइन्डिङ वायरको भन्सार १० बाट ३० प्रतिशत बनाइएको छ । यो पनि विदेशबाट आयात हुनेका लागि बढी तिर्नुपर्नेछ ।

प्रकाशित मितिः     १७ जेष्ठ २०७९, मंगलवार ११:५८  |