नेपालगन्ज उपमहानगरपालिकाका दुई पटकका मेयर डा. धवल शम्शेर राणा संसदिय यात्राका लागि यतिबेला निर्वाचनको दौडमा हुनुहुन्छ । राप्रपासंग गठबन्धन गर्नुभएका राणा क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाकाे उम्मेदवार हुनुहुन्छ ।
२०५४ सालमा पनि नेपालगञ्ज नगरपालिकाका प्रमुख हुनुभएका राणालाई दुई दशकपछि नगरबासीले फेरी उप–महानगरपालिकाको नेतृत्व सुम्पिएर दोस्रो कार्यकाल पनि पुरा भएको छ । अमेरिकाबाट राजनीतिशास्त्रमा विद्याबारिधी गर्नुभएका डा. राणासँग नेपालगञ्जको समग्र विकास निर्माण लगायतका विषयमा उहाँसँग गरिएको वार्ता –
दुई कार्यकाल यहाँलाई नेपालगन्जका जनताले मेयर बनाए । कार्यकाल कस्तो रह्यो ? कसरी मुल्याङ्न गर्नुहुन्छ ?
– यहाँका जनताले यसकाे मुल्यांकन गर्नु भएकै होला । मैले भन्नेभन्दा पनि उहाँहरुकाे राय लिनु भयाे भने ठिक हुन्थ्यो । तर पनि मेराे बुझाइमा कार्यकाल सन्तोषजनक रह्याे । मुख्य कुरा मैले आफ्नो क्षमता,सामर्थ्यले भ्याएसम्मको काम गरेर छाडे । वाचा गरे अनुसार काम भएकै छ । अहिले यहाँ भईरहेको विकास निर्माणबाट म आफु सन्तुष्ट छु ।
निर्वाचनमा घोषणापत्र सहित मतदातामाझ पुग्नुभएको थियो ? त्यसमा कति सफल हुनुभयाे ?
– हामीले एकपानाको घोषणापत्र बनाएका थियौ । अरुले १० पानाको पनि बनाएका थिए । हामीले सक्ने काम मात्रै घोषणापत्रमा समावेश गरेका थियौ । करिब करिब सबै सम्पन्न भईसक्यो । कति याेजना काेराेना,देशकाे परिस्थितिका कारण पनि सम्भव भएनन् ।
नेपालगञ्ज मुलुकको प्रमुख शहर हो । यहाँ तपाईको नेतृत्वमा मुख्य कामहरु के के भएका छन ?
– हामी आउँदा यहाँको सडक सबै ध्वस्त अवस्थामा थियो । सबै सडक बनेको छ । नालाहरु सबै बनेको छ । एउटा बन्नेक्रममा छ । पार्कहरु ध्वस्त थियो । अब निर्माण भए । प्रशासनमा पनि ठुलो सुधार आयो । सुशासनको दृष्टिकोणले भ्रष्टाचाररहित नगरपालिका बनाउन सक्नु ठुलो उपलब्धी हो । अत्याधुनिक वसपार्क र ल्याण्डफिलसाईटको काम हामीले छिटो पूर्णता दिएर सञ्चालनमा ल्याउन सफल भएका छौं । मान्छेहरु एडिविकाे प्रोजेक्ट हाे भन्छन् तर अन्त त्याे प्रोजेक्ट सफल नभएको बेला हामीले यहाँ सफल बनाएको त जनताले मुल्यांकन गरेकै छन् ।
सुशासन र पारदर्शिताको सवालमा नेपालगञ्जले के अभ्यास गरिरहेको थियाे ।
– सूचनाको हकको पूर्ण पालना गरेका थियौ । कुनैपनि प्रकारको अनियमितता हुन दिएनौ । सबैकुराहरु पारदर्शी थियो । आर्थिक कुरा, खर्च हुने कुरामा बोर्डको अनिवार्य अनुमति लिएर अघि बढेका थियौ । जनप्रतिनिधी, कर्मचारी र नगरबासीलाई नगरपालिकाले गरेका कुराहरु सार्बजनिक थिए । भ्रष्टाचारका कुराहरु हामीले भेटाएका थिएनौ । भ्रष्टाचारमा शुन्य सहनशिलता कायमै राख्ने लक्ष्य रह्यो ।
स्थानीय सरकारको काम कारवाहीमा प्रदेश वा सङ्घ सरकारबाट सहयोग वा समन्वयको अवस्था कस्तो थियो ?
– अवरोध त कसैले गरेको थिएन । तर सङ्घ र प्रदेशले गर्नुपर्ने सहयोग पनि पाइन । पटक –पटक मुख्य मन्त्रीलाई आग्रह पनि गरेको थिए । प्रदेशभित्रका उप–महानगरपालिकालाई बराबर माया गर्नुहोस भन्ने गरेको थिए । हामीलाई धेरै दिनुपर्दैन । बराबर हिस्सा लगाउनुहोस भन्ने थियो । कहिलेकाही सम्पुरकमा छिमेकी गाउँपालिका भन्दा हाम्रो बजेट न्यून थियो। केन्द्र सरकारले यसखालको बजेट शुन्य बनाईदियो। यसले हामी दुःखी बनायाे । राजनीतिक पूर्वाग्रह राखेको जस्तो लाग्छ । तर सबै कुरा उहाँहरुले रोकेर राख्न सक्नुहुदैन । राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्था, दातृ निकायको हामीलाई साथ र सहयोग रह्याे ।
तपाई २०५४ सालमा पनि नगर प्रमुख हुनुहुन्थ्यो । दुई दशक पहिले र दोस्रो कार्यकालकाे अनुभव कस्ताे रह्याे ?
– २० पहिलेको अवधीमा यति ठुलो जिम्मेवारी थिएन । अहिले सबै लायन एजेन्सीहरु नगर मातहत छन् । यो सरकार हो । त्यो बेला सरकार थिएन । त्यो वेला बजेट एकदमै न्यून थियो । सानो काम गर्न पनि गाह्रो थियो । अहिले त्यसखालको समस्या छैन । अहिले नियम कानून कडा छन् । तर अहिले भन्दा विगतमा काम गर्न सहज थियो ।
नगर कार्यपालिकामा कुनै एक पार्टीको बहुमत थिएन, काम गर्न कति सहज थियो ?
– यहाँ चारवटा पार्टीको कार्यपालिकामा करिब बराबरी थियो। समन्वय एकदमै राम्रो भयो । सबैजना मिलेर अघि बढेका थियौ । विकासमा सबै कार्यपालिका सदस्यले सहयोग गर्नुभएको थियो। कार्यपालिका सदस्य र प्रमुख, उपप्रमुख बीच सधै सुमधुर सम्बन्ध रहिआएको थियो ।
दुई पटक मेयर हुनुभयाे,यसपटक संसद बन्ने दौडमा हुनुहुन्छ । जित्ने आधार के हुन ?
बिकास,सुशासन हाम्रो जित्ने प्रष्ट आधार यहि हो । सस्ताे प्रचार गरेर होइन हामिले यहाँका जनतालाई मेयर हुदा जेजे काम गरेका थियौ त्यसैका आधारमा हामिलाई मत दिनुहुन्छ । नेकपा एमालेसंग तालमेल छ । उहाँहरु र विकास,सुशासन चाहाने जनताले हामिलाई मत दिनेमा दुई मत छैन । यहाँका जनताकाे चेतनास्तर धेरै छ । उहाँहरुले को सहि,काे गलत छुट्याउन सक्नुहुन्छ । ‘विकास र सुशासनका सवालमा धवलकाे इरादा साफ छ’ भन्ने जुन मनाेबिज्ञान जनतामा छ त्याे नै मेराे ठुलाे सम्पत्ति हो जस्तो लाग्छ ।
तपाईंले मेयर हुँदा गरेका मुख्य कामहरु के हुन ?
-लामो समय देखि अस्तव्यस्त नेपालगन्जको मुख्य बजार सदरलाईन विस्तार र व्यवस्थापन।
-नेपालकै पहिलो अत्याधुनिक ल्यान्डफिल साइड (फोहोर फाल्ने ठाउँ ) निर्माण तथा व्यवस्थापन ।
– शहर भित्र रहेका तलाउहरु वाटरपर्क , रानी तलाउ , कान्ति तालाउ जस्ता तालतलैया व्यवस्थापन तथा निर्माण ।
-अत्याधुनिक बसपार्क निर्माण ।
-आवश्यकता अनुसार नगरका ११ ठाउँका शौचालय निर्माण तथा ४ वटा घुम्ती शौचालय सञ्चालन ।
-महिला उद्यमीका लागि ” कोसेली ” घर निर्माण ।
-नगर भित्र लगभग १०० किलोमीटर कालोपत्रे र २०० वटा पी सी सी सडक निर्माण सम्पन्न
-छात्रा कलेजका लागि ४० कोठे भवन निर्माण गरी हस्तान्तरण ( मंगल प्रसाद मा. वि. )
-मधेसी मुस्लिम समुदायलाई लक्षित गरी छात्रा स्कूल सञ्चालन ( सल्यानी बंगला)
-लामो समय देखि अस्तव्यस्त लथालिङ बागेश्वरी मन्दिर व्यवस्थित र आर्थिक पारदर्शिता कायम ।
-शहर उज्यालो बनाउने उदेश्यका साथ नेपालमै पहिलो पटक हाई मास्क लाइट जडान
-७०० क्षमता भएको सभाहल ( सिटीहल ) निर्माण ( वडा न १४)
-यातायात सुविधाकोलागि नगरभित्र नगर बस सञ्चालन ।
-नगरपालिका भित्र शुन्य भ्रष्टाचार र पारदर्शिता कायम ।
-.बालिका शिक्षा मुद्दती खाता सञ्चालन, बालकोष स्थापना तथा बालमैत्री वडा घोषणा ।
-लैंगिक हिंसा निवारण कोष स्थापना तथा अपाङ्गता परिचयपत्र वितरण ।
-शहरमा सुविधा सम्पन्न सपिङ्ग कम्प्लेक्स निर्माण सुचारु ( पुरानो नगर भवन )
-महामारी कोविड १९ मा नेपाल – भारत सीमामा होल्डिङ सेन्टर, अस्थाई अस्पताल र आईसोलेशन सेन्टर सञ्चालन ।
-आगलागी नियन्त्रण गर्न अत्याधुनिक दमकल सहित दमकल भवन निर्माण ।
-आयआर्जनको लागि तालिम प्रदानगरी रोजगारीको व्यवस्थापन गर्ने उदेश्यले स्थाई तालिम केन्द्र निर्माण ( रामलीला मैदान नजिक )
-.सुर्खेतरोड लगायत विभिन्न ठाउँ र पार्कहरुमा वृक्षारोपण ।
-शहरभित्र धार्मिक सदभाव कायम ।
– नगरभित्रको समसान घाट र कब्रिस्तान ब्यबस्थापन ।
-दुई कार्यकाल आफुले पायको तलब भत्ता गरीब ,निमुखा ,असाह्य तथा विभिन्न संघ-संस्थाहरुलाई प्रदान ।
-.महिला मैत्री र भयरहित नगरपालिका संचालन ।
-.नगरपालिकामा साना ठुला ब्यावसाय प्रबर्द्धन तथा नगरपालिकाको आयबृद्दी गर्नको लागि साना ठुला २०० वटा सटर निर्माण ।
-.महेन्द्र बहुमुखी क्याम्पसमा डिग्री-ब्लक भवन निर्माण ।
-. नेपालगन्ज लाई मेडिकल हब बनाउने क्रममा चिकित्सा फोहर ब्यबस्थापनको अवधारणा ।