सटरैपिच्छे पसल बिक्रीको सूचना !


 

नेपालगन्ज -तपाई सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ ? यदि हुन्छ भने फेसबुकमा आजभोली पसल विक्रीका सूचना धेरै देख्न पाईन्छ । बजार घुम्नु भएको छ भने सटरपिच्छेका पसल बन्द भेटिन्छन्  भने बन्द सटरमा पसल विक्रीका सूचनाहरु पढ्न पाईन्छ । नेपालगन्जमा अहिले व्यवसायीले भोग्दै आएको समस्या यो तहसम्म पुगेको छ ।

बैंकले ऋण प्रवाह गरेको छैन । लगानी थप्न सकिएको छैन भने व्यापार घट्दै गएको छ । घरभाडा तिरिरहेकै छन् भने बैंकले ब्याजको ताकेता नगरेको दिन छैन । यति पीडा खेप्नु भन्दा कति व्यापारीले व्यवहार सल्टाएर त कतिले नसल्टाएरै पसल बन्द गरिरहेका छन् ।

बन्द सटरभित्र कैद भएका पसलहरुको भाडा पुरै तिर्नुपर्ने तर आम्दानी सून्य भएपछि पसल बेच्न आत्तिएका धेरै छन् । तर, यो संकटमा किन्ने ग्राहक पाउनु कहाँ सजिलो छ र ?
चलनचल्तीको भन्दा निकै सस्तो मूल्यमा पसल तथा रेष्टुरेन्ट बिक्री गर्न खोज्दा पनि ग्राहक भेट्याउन कठिन छ । अहिले पसल किन्ने ग्राहक भेट्याउनु भनेको साक्षत भगवान फेला पार्नु सरह हो ।

पसल अगाडि मात्र होइन, चोक, गल्ली, सार्वजनिक स्थल, पार्क, सडकका खम्बामा पनि पसल तथा रेष्टुरेन्ट बिक्रीमा राखेको विज्ञापन देखिन्छ । सानो पसलको दैनिक ब्यापारले घरभाडा, बालबच्चाको शिक्षा र हातमुख जोड्न मुस्किलले खर्च जुटाइरहेकाहरु यतिबेला आफ्ना पसल र साना रेष्टुरेण्टहरु ‘बिक्रिमा’ राखेका छन, तर, बन्द सटरभित्र कैद यी पसलहरु किन्ने ग्राहकको भने नामनिसाना छैन् ।

घरभाडा तिरितिरी व्यापार नै नहुने पसल खोल्नुभन्दा उनीहरु घरतिरै बस्न चाहिरहेका छन् । रोजगारी सिर्जना गर्ने र मुलुकको आर्थिक गतिबिधिका मेरुदण्डका रुपमा रहेका खुद्रा ब्यापारी तथा रेष्टुँराहरु यसरी पलायन हुने अबस्थामा पुग्दा पनि ब्यबसायलाई सहयोग गर्छु भन्ने सरकारी नीतिको लाभ यी ब्यबसायीसम्म पुग्न नसकेको नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष  चिरञ्जीवी ओली बताउँछन् ।

स्टार्टअप र कम लगानीका रोजगारीमूलक ब्यबसायलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यबिधिसमेत बन्न सकेको छैन् । यस्तो अबस्थामा रिटेल बिजनेस धानिरहेका पसल सञ्चालकहरु पलायनको पीडामा पुगेका छन् ।
‘गोदाम र पसलमा लाखौंको सामान स्टक छ, तर मेरो कारोवार दिनको १५ हजारसम्म ओरोलो झर्न लाग्यो । माग कतैबाट छैन ।’–घरबारीटोलका एकजना कपडाका ‘होलसेलर’ले गुनासो गर्दै चिन्ता पोख्दै थिए,–‘रातभर निद्रा लाग्दैन, तनाव नै तनाव छ ।’

लाखौंको कारोवार गर्ने घरवारीटोलका होलसेर हुन चाहे अन्य साना ब्यापारी । अहिले सबैतिरको व्यापारमा सन्नाटा छ । कतिसम्म भन्ने रिक्सा चालकहरु समेत भन्छन्–‘पहिला १५ सयसम्म कारोवार हुन्थ्यो अहिले आधा कम छ । मान्छे नै पाइदैन । रिक्सा धेरै भएर होकी मान्छे नै कम भएर हो ?’ कोभिड–१९ र त्यपछि उब्जिएको आर्थिक संकटले यसरी नेपालगन्ज मात्र होइन बिश्वभरको अर्थतन्त्र धरासायी बनाएको नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष  अब्दुल वाहिद मन्सुरी बताउँछन् ।

उनी भन्छन्–‘कारोवार र कतैबाट पनि आर्थिक सहयोग नभएपछि अहिले पसलहरु बिक्री गर्ने बढेका छन् । तर के गर्नु किन्ने कोही छैनन् ।’ सामाजिक सन्जालमा पसल विक्रीको सूचनाहरु थुप्रै देख्न पाइन्छ । अध्यक्ष मन्सुरी भन्छन्–‘लगानी नगरिरहेको बैंकले चर्को ब्याजदर सहित ऋण तिर्न ताकेता गरिरहन्छन् अर्को तर्फ अत्याधिक महङ्गो घरभाडा । व्यापार सुक्दै गएका बेला यस्तो कुरा झेल्नु भन्दा पसल नै विक्री गर्नेहरु धेरै छन् ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष   ओलीले सरकारका तर्फबाट मर्कामा परेका व्यवसायीलाई देखिने गरी कुनै राहत नदिएको बताउँछन् । जसका कारण नयाँ लगानीकर्ता बजारमा आउन सकेका छैनन् भने भएकै पनि बिस्तापित भइरहेका छन् ।

उनी भन्छन्–‘नेपालगन्जको बजार पहिल्यैदेखि नै भारतीय बजारबाट धेरै प्रभावित छ । यस्तो बेला व्यवसायीले झेल्नुपरेको आर्थिक संकट त थामिनसक्नुभयो ।’ ओलीले यस्तो बेला व्यवसायीलाई राहात दिनुको सटट राज्यका बिभिन्न निकायले निरुत्साहित पार्ने काम गरिरहेको बताउँछन् ।

 

प्रकाशित मितिः     २९ मंसिर २०७९, बिहीबार ११:५०  |