हुम्लामा पर्यटनसंगै फुटबल खेलाइरहेका बिष्णु


बाँके १ पुस -नेपाल सहित बिश्वभरको ध्यान कतारमा भइरहेको बिश्वकप फुटवलमा केन्द्रीत छ । यता कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका बालबालिका ठिक यतिनै बेला फुटबलर बन्ने सपना बुन्दै माइनस डिग्री तामपक्रममा फुटबल प्रशिक्षण लिइरहेका छन् । त्यो पनि समुन्द्र तह भन्दा २९ सय १० उचाईमा अवस्थित हुम्ला फुटबल एकेडेमीमा ।

सदरमुकाम सिमीकोट प्राकृतिकरुपमा शुन्दर छ । वरीपरी हिमालले घेरिएको दृश्य हेर्न बर्षेनी पर्यटकहरु आइरहन्छन् । प्राकृतिकरुपमा शुन्दर हुम्लाका दुःख पनि अनेक छन् । सुविधा सम्पन्न ठाउँमा खेलकुद गतिविधि फस्टाउन नसकेका बेला भौगोलिक कठिनाई भएको हुम्लामा फुटबल गतिबिधि बढाउनु चानचुने कुरा होइन । तर २०७७ सालदेखि बिष्णु रावतको अगुवाईमा हिमालको काखबाट फुटबलर बन्ने सपना बुन्दै बालबालिका प्रशिक्षण लिइरहेका छन् ।

‘नेपाली फुटबलका नेतृत्वतहमा बस्नेहरु कतार विश्वकपमा ब्यस्त भइरहँदा हामी हुम्ला फुटबल विकासको लागि माइन्स डिग्रीको चिसोमा हिमालको काखमा २९ सय १० मिटरको उचाईमा फुटबल सिकाइरहेका छौं ।’– हुम्ला फुटबल एकेडेमीका अध्यक्ष समेत रहेका रावत भन्छन्–‘केवल लक्ष्य पुरा गर्नु छ । हुम्लालाई पर्यटन मात्र होइन फुटबलबाट पनि चिनाउनु छ ।’

उमेरले पचास दशक पुग्नै लागेका रावत काठमाण्डौंमा पढे । त्यहीबाट फुटबल खेल्न सिके । एसएलसी सकेपछि घर फर्किदा एउटा राम्रो फुटबल पनि संगै ल्याए । त्यसअघि हुम्लामा कपडाको बल बनाएर केटाकेटीहरु खेल्थे । रावतले गतिलो बल ल्याएपछि सिमीकोटको एयरपोर्टमै फुटबल खेलेका थिए । धेरैलाई फुटबल बारे त्यतिनै बेला चासो बढ्यो । पछि फुटबल खेलमै उनले आफुलाई सर्मपण गरे । रावत नेपालगन्जमा रहेर फुटबल खेल्थे ।

क्षेत्रीय प्रतियोगितामा पनि भाग लिए । पर्यटन उद्योगका क्षेत्रमा पनि सक्रियतापूर्वक लागे । उनको मन फुटबल भन्दा अन्त गएन । अन्तत २०७७ सालमा हुम्ला फुटबल एकेडेमी दर्ता गरी हिमालको काखबाट फुटबल जन्माउने सपना देख्दै सिमीकोट हानिए । अहिले रावत नेतृत्वको टिम सिमीकोटमा फुटबल गतिबिधिलाई बढावा दिइरहेको छ । उनीहरुलाई सरकारको सहयोग कम छ । तर पनि आफ्नै बलबुतामा फुटबल खेलाइरहेका छन् । कतिपय दाताले सहयोग गर्छन । गतिलो फुटबल पूर्वाधार छैन । सरकारी सहयोगको आशा राखेका छन् ।

कोरोनाकाल अघि करिब चार सय बालबालिकालाई फुटबल प्रशिक्षण दिन्थे । अहिले घटेर दुई सय जनामा झरेको छ । प्रशिक्षण लिन आउने बालबालिकालाई खेलकुद सामाग्री एकेडेमी आफैले दिने गरेको छ । बालबालिका पनि उत्साहित हुँदै प्रशिक्षण लिने गरेका छन् । प्रशिक्षण रावत र अर्का प्रशिक्षण प्रिती बहादुर रावतले दिने गरेका छन् । ‘एन्फासंग प्रशिक्षक माग गरेका छौं । अहिले भने हामी दुईजनाले प्रशिक्षण दिइरहेका छौं ।’– अध्यक्ष रावतले भने ।

हुम्लामा फुटवलको विकास र विस्तारको मुख्य उदेश्य राखेको छ, हुम्ला फुटवल एकेडेमीले । स्थानीयस्तरमा फुटवल खेलाडीको रूपमा चिनिएका हुम्ली युवाहरूले जिल्लाको फुटवल, फुटवल प्रेमी र फुटवल खेलाडीलाई एकताबद्ध बनाउनका लागि एकेडेमी दर्ता गरी फुटबल गतिबिधि बढाएको रावतले जानकारी दिएका छन् ।

यो एकेडेमीले साविकको कर्णालीको पाँचजिल्ला हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटलाई कार्य क्षेत्र बनाएको छ । यो एकेडेमीलाई छिट्टै विस्तार गरिने भएको छ । कर्णाली क्षेत्रमा फुटवलको विकास र विस्तार गर्न गराउनका लागि आवश्यक पहल, सहकार्य र समन्वय गर्न गराउनका लागि यो एकेडेमीको स्थापना गरिएको हो । ‘मैले धेरै काम छाडेर यतै लागे । हुम्लालाई पर्यटनकारुपमा मात्र होइन फुटबलको क्षेत्रबाट पनि चिनाउने मन छ ।’– रावतले भने ।

प्रकाशित मितिः     १ पुष २०७९, शुक्रबार ०७:२०  |