बाँकेमा धमाधम पर्यटकिय पूर्वाधार बन्दै


बाँके – बाँकेमा ‘क्रस बोर्डर टुरिजम’को अवधारणा अघि बढेसंगै पर्यटनक्षेत्रमा लगानी बढेको छ । हस्पिटालिटी र मनोरञ्जनात्मकक्षेत्रमा लगानी थपिदोक्रममा छ । तेस्रोमुलुकका नागरिक मात्र पर्यटक हुन भन्ने मनोबिज्ञानलाई चिर्दै नेपालगन्जमा पर्यटनक्षेत्रका सरोकारवाला निकायका अगुवाहरु भारतीय पर्यटक आर्कषित गर्न बिभिन्न गतिविधि गर्न केन्द्रीत छन् ।

नेपालगन्जका संघीय सांसद धवल शम्सेर राणा क्रस बोर्डर टुरिजमका बारे योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिन्छन् । नेपालगन्ज पछिल्लो समय क्रस बोर्डर टुरिजमका बारे मन्थन हुँदै विभिन्न गतिविधि भएका छन् । नेपालगन्जका मेयर प्रशान्त बिष्ट भारतीय पर्यटकलाई नेपालगन्ज र हिलस्टेशनमा घुमाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिन्छन् ।

नेपालगन्जलाई ट्रान्जिट पार्ने गरी नेपाल र भारतबीच क्रस बोर्डर टुरिजमलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायका अगुवाहरु आन्तरिक छलफल र दौडधुपमा लागेका छन् ।

राणा भन्छन्,–‘नेपालगन्जको पर्यटकीय विकासका लागि क्रस बोर्डर टुरिजम अपरिहार्य छ । अब हामी त्यस दिशामा अगाडी बढ्नुपर्छ ।’ राणा नेपालगन्जले अब भारतीय पर्यटकलाई नजरअन्दाज गर्न नसक्ने पनि बताए ।

उनले भने,–‘जमुनाह नाकाबाट भारतीय नागरिक छिर्ने बित्तिकै फरक तरिकाले हेर्ने नजरमा अब परिवर्तन ल्याउनुपर्छ । सीमावर्ती भारतीय नागरिकहरु पर्यटक बनेर दुनिया घुम्न जान्छन् भने राम्रो वातावरण बनाउन सक्यौं भने नेपाल पनि घुम्न आउँछन् ।’

नेपालगन्जमा क्रसर बोर्डर टुरिजमका आधार तयार भएका छन् । क्यासिनो खेल्न लखनउबाट मात्र होइन दिल्लीबाट समेत आइरहेका छन् ।

तीनै नागरिकलाई कर्णाली प्रदेशको हिलस्टेशनदेखि बाँके, बर्दियाको पर्यापर्यटन घुमाउन सकिने प्रशस्त आधार तयार भएको छ । छोटो समयको पर्यटनका लागि नेपालगन्जमा पनपार्कहरु बन्दै छन् त्यसले सीमावर्ती भारतीय नागरिकलाई आर्कषित गर्ने छ ।

लामो समयको टुरिजमका लागि नेपालगन्जबाटै कर्णाली प्रदेशका लागि माउण्टेन फ्लाईट, टे«किङ जस्ता योजना बन्दै गरेको मेरो प्लानेट फनपार्ककाका ओमकार मिश्र बताउँछन् । ‘क्रस बोर्डर टुरिजमका लागि आधार तयार गर्दै जान सक्यौ भने राम्रो हुन्छ । हामी त्यसका लागि सक्रियतापूर्वक लाग्दै छौ. ।’– मिश्र भन्छन् ।

नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले क्रस बोर्डर टुरिजम अहिले पनि रहेको बताउँदै अब त्यसलाई बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिन्छन् । उनी भन्छन–‘कैलाश मानसरोवारको त नेपालगन्ज हब नै हो ।

तर अब यसमा मात्र सीमित नभई थप क्षेत्र बिस्तार गर्नुपर्छ ।’ बिभिन्न सेवाप्रदायक कम्पनीहरुले नेपालगन्जलाई ट्रान्जिट बनाई कर्णालीका लागि टुर प्याकेज ल्याएका छन् । त्यसमा भारतीय नागरिकलाई जोड सकिने आधार तयार भएको छ ।

भ्रमण वर्ष २०२० शुरु हुनुपूर्व नेपालगन्जको पर्यटन प्रर्बधनका लागि लखनउसम्म गएर अन्तरक्रिया र प्रचार प्रसार गर्ने योजना बनेको थियो । तर कोभिडका कारण भ्रमण वर्ष नै स्थगित भयो भने लखनउ जाने योजना तत्कालका लागि तुहियो । तर भारतका पत्रकार र पर्यटनक्षेत्रका अगुवा सहभागि भएको वेष्र्टन टुरिजम मार्ट सम्पन्न भयो ।

पर्यटन प्रर्बधन जिल्ला स्तरीय समितिका सचिवालय सदस्य रहेका सिद्धार्थ समूहका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने भन्छन्,–‘नेपालगन्ज र भारतीबीच अब व्यवसायिक पर्यटनको सम्बन्ध गाँस्ने गरी प्रचार प्रसारको काम निकट भविष्यमै गर्नुपर्छ ।’

गाभर होमस्टेका संस्थापक कृष्ण चौधरीले पर्यापर्यटनका लागि भारतीय पर्यटक ठूलो संख्यामा भित्रिन सक्ने आधार तयार भएको बताउँछन् । अहिले सीमित मात्रामा आइरहेका भारतीय पर्यटकको ठूलो संख्या भित्रा्उने गरी प्रचार प्रसार गर्नुपर्ने उनको भनाई छ ।

सदियौंदेखिको रोटी,बेटीको सम्बन्धलाई अब व्यवसायिक पर्यटनको सम्बन्धसंग पनि जोड्नुपर्ने आवाज उठ्दै आएको छ ।

नेपालगन्जको मेयर हुँदा धवल शमशेर राणाले तत्कालीन नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेटेर क्रस बोर्डर टुरिजमका बारेमा सीमावर्ती क्षेत्रका भारतीय जनप्रतिनिधि र प्रशासकसंग अन्तरक्रियाको वातावारण बनाईदिन अनुरोध गरेका थिए । अब तयस्ता गतिबिधिलाई थप प्रोत्साहन गरिने राणाले बताए ।

प्रकाशित मितिः     ४ पुष २०७९, सोमबार १२:३०  |