बिष्णु पौडेलको काँधमा जर्जर अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी


नेपालगन्ज । नेकपा एमालेबाट नयाँ सरकारमा नेतृत्व गरेका विष्णुप्रसाद पौडेल वि.सं २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मेका हुन् । बुवा देवीलाल र आमा रेवतीका सुपुत्र पौडेल स्कूल पढ्दापढ्दै भूमिगत राजनीतिमा होमिएका थिए ।

२०३३ सालदेखि राजनीतिमा सक्रिय पौडेलले २०३७ सालमा ३ वर्ष राजकाजको मुद्दा खेपेका थिए । सो समयमा उनी ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान भएका थिए । जेल चलान भएका उनी ४५ दिनपछि जेल विद्रोह गरी बाहिर आउन सफल भएका थिए ।

साबिकको लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बसेर भूमिगत राजनीति गरेका उनी वि.सं २०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश भएका थिए । उनी सातौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बनेका थिए ।

विष्णु पौडेलको संसदीय राजनीति २०५१ सालबाट सुरु भएको हो । उनी २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट सांसद जितेर प्रतिनिधिसभा सदस्य बनेका थिए । वि.सं २०५६ मा रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ बाट ६०० मतले नेपाली कांग्रेसका नेता स्व. सूर्यप्रसाद प्रधानसँग पराजित भए ।

पौडेल पहिलो पटक २०५४ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए । उनी २०६५ मा प्रचण्ड सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको पालामा रक्षामन्त्रीसमेत बनेका थिए । वि.सं २०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र २०७१ को नवौं महाधिवेशनबाट पौडेल उपमहासचिव निर्वाचित भएका थिए ।

पार्टीभित्र र बाहिर समन्वयमा रहेर काम गर्ने स्वभाव पौडेलको छ । वि.सं २०७२ मा ओली प्रधानमन्त्री भएका वेला अर्थमन्त्रीका रुपमा आफूलाई सफल बनाएपछि पार्टी र बाहिर पनि उनको व्यक्तित्व थप माथि उठेको थियो ।

२०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेपछि बनेको नेकपाको शक्तिशाली महासचिवको जिम्मेवारी पाएपछि उनको चर्चा थप चुलिएको थियो । सो वेला एमालेका महासचिव ईश्वर पोखरेललाई पाखा लगाउँदै पौडेल महासचिवमा चयन भएका थिए । ओली नेतृत्वको यसअघिको सरकारमा दोस्रोपटक अर्थमन्त्री बनेका पौडेल त्यो समय पनि उनी सफल अर्थमन्त्री कहलिएका थिए ।

एमालेको दशौं महाधिवेशनबकाट उपाध्यक्ष बनेका पौडेल रुपन्देही क्षेत्र नं २ मा लगातार ४ पटक जितेका सांसद हुन् । उनी २०५६ देखि सो क्षेत्रमा उम्मेदवार बनेपनि पहिलो पटक थोरै मतान्तरले पराजित भएका थिए ।

यसअघि एमाले र माओवादी एकता गर्न पौडेलले महत्वपूर्ण भूमिका खेलेका थिए । अहिले पनि ५ दलको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने विशेष भूमिकामा उनी रहेका थिए । उनै पौडेलले अहिलेको गठबन्धनमा एमालेको नेतृत्व गरेर उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

आफ्नो क्षेत्रमा विकासे नेता, पार्टीभित्र सांगठनिक नेतृत्व गर्ने र बाहिर सबैसँग समन्वय गर्ने नेताको पहिचान बनाएका पौडेलको अर्थ मन्त्रालयको तेस्रो पटकको जिम्मेवारी सबैको चासो बनेको छ । अहिलेका अर्थमन्त्रीसामु आर्थिक क्षेत्रको संकट, निजी क्षेत्रले सरकारप्रति बढाएको अविश्वास र सरकारको बढ्दो खर्च व्यवस्थापन मजबुत बनाउने चुनौतीका चाङ छन् । यस्तो अवस्थामा एमालेको नेतृत्व गरेर गठबन्धन सरकारमा पुगेका पौडेलको परीक्षा अब सुरु भएको छ ।

प्रकाशित मितिः     ११ पुष २०७९, सोमबार १७:२४  |