नेपालगन्ज । नेपालगन्ज -२१ मा रहेकाे कान्जिहाउसलाई आर्थिक आम्दानीको माध्यमकारुपमा समेत प्रयोग गर्न लागिएको छ ।
गत बैशाखदेखि निर्णय गरेरै मल बेच्न थालिएको छ । हालसम्म दश ट्राली मल बेचिसकेको भारतीले जानकारी दिएका छन् । उपमहानगरपालिकाले निर्णय नै गरेर प्रति ट्रली रु पैतालिस सयमा मल बेच्दै आएको छ ।
भारती भन्छन्,–‘यो आर्थिक वर्षमा मलको विक्री बढ्छ, यो पैसाले यहाँको खर्च व्यवस्थापनमा थोरै भए पनि राहत दिन्छ जस्तो छ ।’ उपमहानगरपालिकाले मासिक आठ लाखसम्म खर्च गर्दै आएको छ ।
काञ्जिहाउसबाट दुधालु गाई लग्छन् । त्यसरी लगेको गाई दुध दिदासम्म लगेकाले घरमै राख्छन्, दुध नदिए सडकै वेवारिसे छाड्ने गरेको भेटिएको छ । कान्जिहाउसका कर्मचारी भन्छन्,–‘हामीले रेखदेख गरेका त्यस्ता गाईलाई फेरी घुम्दैफिर्तै यही ल्याएर राखिएका छन् । वेवारिसे छाड्नेले गाई किन लैजानु ?’
कान्जिहाउसका इन्चार्ज राकेश भारतीका अनुसार करिव साठ्ठी गाई गत आर्थिक वर्षमा सर्वसाधारणले लिए । उपमहानगरका निवेदन दिएपछि उक्त निवेदनका आधारमा आएका सिफारिसलाई हेरेर गाई दिइन्छ । यसरी निवेदन दिनेले दुधालु गाई मात्रै माग्छन् । बलियो र हस्टपुष्ट गाई मात्रै लिएर जान्छन् । ‘दुध दिन सक्ने हेरेर मात्र लैजान्छन् । अरु हेरचाहका लागि लैजाने त को आउथ्यो होला र ?’– भारतीले भने,–‘यहाँबाट लगेका गाई दुध दिन छाडिसकेपछि सडक हुँदै फेरी कान्जिहाउसमै भेटिएका छन् ।’
कान्जिहाउसका गाईको पहिचान खुल्ने कुनै प्रमाण नहुने भए पनि रेखदेख गरेका आधारमा कर्मचारीले पहिचान गर्ने गरेका छन् । ‘कति गाई त हामीले सडकमा देखेर चिन्छौं । यसरी गाईलाई सडकमा फाल्नेलाई किन गाई दिएछौं भन्ने सोच्छु ।’– भारतीयले भने । कान्जिहाउसबाट लगेर सडकमा वेवारिसे छाड्नेलाई कारवाही नीति बनाउनुपर्ने अवस्था देखिएको छ । त्यस बिषयमा कर्मचारीहरुले उपमहानगरपालिकाका पदाधिकारीलाई जानकारी गराइसकेका छन् ।
वेवारिसे अवस्थाका गाईगोरुले नेपालगन्जमा तनाव दिएको छ । त्यसको रेखदेख गर्न २०७७ सालमा कान्जिहाउस निर्माण गरिएको थियो जहाँ अहिले ७५ वटा गाई छन् । गाई संरक्षणका लागि सुविधा सम्पन्न पूर्वाधार निर्माण गरिएको छ भने इन्चार्ज भारती सहित अन्य तीन जना कर्मचारी खटिएका छन् । भारतीका अनुसार, गाईको पोषणका लागि उचित ध्यान दिइएको छ । तीनबाट तीनपटक खाना खुवाइन्छ । ‘पोषणका लागि कुनै समस्या नहोस् भन्नेमा हामी सचेत छौं ।’– भारतीले भने,–‘वेवारिसे अवस्थाका गाईगोरु हुने भएकाले स्वास्थ्यमा बिशेष ध्यान पुर्याउनुपर्छ ।’